गाई, बाख्रा,भैंसी बेचेर शेयर खरिद गर्नेहरुको रकम डुब्यो

मकवानपुर, फागुन २९ – नेपालकै सपना बनेको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको विषयमा सर्वोच्च अदालतले सरकारलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको छ ।
२०६६ भदौं ३ गते अधिवक्ता ध्रुव्रप्रसाद चौलागाईंले हालेको रिटमा आदेश दिँदै सर्वोच्चले सरकारलाई सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिन भनेको थियो ।
सर्वोच्चका तत्कालिन न्यायाधीश सुशीला कार्की र बलराम केसीको संयुक्त इजलासले सुरुङमार्ग देशकै महत्वपूर्ण योजना रहेको भन्दै सरकारलाई निर्माणमा प्राथमिकता दिनु’ भन्ने आदेश गरे पनि ८ वर्षसम्म सरकारले निर्माण नगरी सर्वोच्चको आदेशको अवहेलना गरेको भन्दै अधिवक्ता चौलागार्इंले मंगलबार रिट दायर गरेका थिए ।
सर्वोच्चले प्रधानमन्त्री, अर्थमन्त्री तथा भौतिक योजना, निर्माण तथा यातायात मन्त्रीका नाममा १५ दिने कारण देखाउ आदेश जारी गरेकोे हो । प्रदेश–३, को राजधानी हेटौंडा भएको सन्दर्भमा देशको राजधानीसँग जोडने सबैभन्दा छोटो मार्गका रुपमा परिकल्पना गरिएको सुरुङमार्ग निर्माणका लागि सर्वोच्चको आदेशले तरंग उत्पन्न गरेको हो ।
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको इजालासले १५ दिनभित्र सरकारलाई जवाफ दिन आदेश जारी गरेपछि सुरुङमार्गबारे पुनः बहस सुरु भएको छ ।
हेटौंडाबाट ५५ किलोमिटर दूरीमा करिब १ घण्टा ३० मिनेटमा काठमाडौं पुग्ने गरी निर्माण गर्ने भनेर नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) ले सुरु गरेको सुरुङमार्ग निर्माण कार्य करिब १ दशक पुग्न लाग्दासमेत सुरु हुन सकेको छैन ।
सुरुङमार्ग निर्माणका लागि सरकारले एनपीबीसीएललाई स्वीकृति दिएपछि मात्र कम्पनीमा ३ नयाँ अध्यक्ष बनिसकेका छन् । त्यस्तै सुरुङमार्ग निर्माणका लागि जनताबाट उठाइएको करोडांै रकमको अहिलेसम्म हिसाबकिताब नभएको भन्दै विवाद उत्पन्न भएको अवस्थामा सुरुङमार्ग सरकारले नै निर्माण गर्नुपर्छ भन्ने बहस चल्न थालेको छ ।
सरकारलाई दिइएको आदेशमा अवहेलना प्रमाणित भएको अवस्थामा प्रधानमन्त्रीसहित मन्त्रीलाई समेत कैद हुनसक्ने व्यवस्था रहेको अधिवक्ता चौलागार्इंको भनाइ छ । उनले अदालतको आदेशबमोजिम सरकारले १५ दिनभित्र कारणसहित अदालतको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
देशको वार्षिक १२ अर्बभन्दा बढी रकम बचत हुने सुरुङमार्ग निर्माण हुने हल्ला चलेको तर नबनेको अवस्थामा अदालतको अवहेलना मुद्धाबाट राज्यलाई दवाव पुग्ने अधिवक्ता चौलागाईंले बताउनुभयो ।
तराई र काठमाडौंलाई जोड्ने ‘मिडजोन’ का रुपमा परिचित हेटौंडाको सामाजिक र आर्थिक क्रान्तिका लागि ‘४ प’ (प्राइभेट, पब्लिक, पार्टनरसीप र पिपुल) अवधारणाअन्तर्गत निर्माण गर्ने भनिएको सुरुङमार्गको भविष्य लथालिङ्ग भएको छ ।
भीमफेदी–कुलेखानीमा ४ किमी सुरुङसहित हेटौंडा–भीमफेदी र कुलेखानी–फास्टट्रयाकसम्म चार लेनको बाटो निर्माण गर्न भन्दै गठित कम्पनीले कामै गरेको छैन । सुरुङमार्ग निर्माणपछि अहिले भइरहेको इन्धन र सवारीमर्मत खर्चमा भारी कटौती हुने, सवारीसँग उठाएको सीमित कर रकमले पनि आठ वर्षभित्र लगानी उठाउन सकिँने भन्दै मार्ग निर्माणका लागि सरकारसँग अनुमति लिइएको थियो ।
सुरुङमार्ग निर्माणपछि अहिले ८० किमी लामो सडक ३० किमीमा छोटिने र निर्माण सम्पन्न भएपछि करिब ६० देखि ९० मिनेटमा हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्न सकिने विश्वाससाथ अगाडि बढिइएको सुरुङमार्गको काम कम्पनीभित्रको आपसी किचलो तथा अनियन्त्रित खर्चका कारण अन्योलमा परेको छ ।
नेपालको सर्वपक्षीय विकासका सहयोग गर्ने आशा गरिएको बहुुप्रतीक्षित परियोजना हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणको एकमात्र लक्ष्य लिएर स्थापित नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काम अगाडि नबढाउँदा सर्वसाधारणमा सडक निर्माण पूरा नहुँने हो कि भन्ने चिन्ता व्याप्त छ ।
कम्पनीले सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई २०६९ वैशाखमा मन्त्रिपरिषद्ले पारित गरेको थियो । त्यसअनुसार आयोजनाको काम २०७१ बाट सुरु हुनुपर्ने भए पनि अहिलेसम्म सिन्को भाँचिएको छैन । आयोजना करिब ३७ अर्बमा बन्ने आँकलन गरिएको थियो । म्याद थप गर्दै ५० अर्ब हाराहारीमा लागत लाग्ने उल्लेख गरिएको छ ।
पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग बनाउन गैरआवासीय नेपाली तथा स्वदेशी उद्योगपतिबाट ३५ अर्ब उठाउने योजना बनाएको थियो । त्यसअनुसार जनताबाट ३१ करोड ७६ लाख रुपैयाँ रकम जुटाइएको थियो । हेटौंडाका जनताले लगानी गर्न तत्परता देखाएका थिए । गहना, गाई, बाख्रा, भैंसी बेचेर तथा ऋण काढेर हेटौंडाबासीले कम्पनीलाई रकम बुझाएका थिए । तर, स्थानीयबासीको हेटौंडा–काठमाडौं छिटो ओहोर दोहोर गर्ने समना सपनामै सीमित भएको छ ।
कम्पनीमा मकवानपुरका २२ संस्थापक शेयर सदस्य छन्, जसमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ हेटौंडा र नारायणी यातायात व्यवसायी संघले संस्थागत संस्थापक शेयर लिएका छन् । निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले शुभसाइत ठहरिएको दिन भन्दै हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणका लागि २०७० मंसिर १५ गते भूबराह पूजा गरेको थियो ।
मकवानपुरको तत्कालीन कुलेखानी गाविस वडा नम्बर–२, लाम्दोली, चुरेपाखास्थित सुरुङको प्रस्तावित प्रवेशविन्दुमा देशका प्रतिष्ठित पण्डितहरुद्वारा पाँच प्रकारका पूजा गरिएको हो । चार पण्डितले वेद, एक पण्डितले चण्डी, ११ पण्डितले रुद्रि, तीन पण्डितले हवन र अन्य पण्डितले पृथ्वीसुक्त, सामवेद, भागवत पाठ गरेका थिए भने केहीले पञ्चशीला पूजा, विश्वकर्मा पूजा, नागपूजा र स्थानीय मठमन्दिर पूजा गरेका थिए । उज्यालो अल
लाइन बाट