राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी विदेशमन्त्री बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरेका छन्। उनले सो पदमा गुप्तर विभाग सिआइएका निर्देशक माइक पोम्पियोलाई नियुक्त गर्ने जनाएका छन्।
ट्रम्प प्रशासनका उच्चाधिकारीहरुबीच नै कुरा नमिलिरहेको रिपोर्टहरुका बीच ट्रम्पले अचानक टिलरसनलाई बर्खास्त गरेका हुन्।
ट्रम्पले ट्विटरमार्फत् आफ्नो सेवाका लागि टिलरसनलाई धन्यवाद दिएका छन्।
सिआइएको नयाँ निर्देशकमा भने जिना ह्यास्पेल नियुक्त हुने घोषणा ट्रम्पले गरेका छन्। उनी सो पद सम्हाल्ने पहिलो महिला हुने पनि ट्रम्पले बताएका छन्।
गतवर्ष टिलरसनले ट्रम्पलाई ‘पटमूर्ख’ भनेको समाचार बाहिरिएपछि उनले राजीनामा दिने चर्चा चलेको थियो। यद्यपि उनले राजीनामा नदिने बताएका थिए।
पछिल्लो समय उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग ट्रम्पले शिखर वार्ता गर्ने समाचारका बीच उनी बर्खास्त भएका छन्। यसले ट्रम्प प्रशासनमा अझ बढी भद्रगोल निम्त्याउन सक्ने अनुमान गरिएको छ।