३ करोड ३५ लाख ९१ हजार कित्ता हकप्रद सेयर बिक्री खुला

काठमाडौं : यतिबेला ८ वटा बिभिन्न कम्पनीले ३ करोड ३५ लाख ९१ हजार १७९.२७ वटा कित्ता हकप्रद सेयर बिक्री खुला गरिरहेका छन् । जसमा १ वाणिज्य बैंक, २ वटा विकास बैंक र ३ इन्सुरेन्स कम्पनी रहेका छन् । त्यसैगरी हकप्रद बिक्री खुला गर्नेमा २ वटा लघुवित्त कम्पनी पनि रहेका छन् । जसमध्ये नेको इन्सुरेन्स र कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद चैत १ गतेसम्म मात्र भर्न पाईनेछ ।
नेको इन्सुरेन्सले माघ २६ गतेदेखि ३९ लाख २० हजार ९२८.११ कित्ता (५०%) हकप्रद सेयर बिक्री खुला गरेको हो । बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले हकप्रदको बाटो रोजेको हो । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।
नेकोको हकप्रद चैत १ गतेसम्म मात्र भर्न पाइनेछ । हाल नेकोको चुक्ता पुँजी ७८ करोड ४८ लाख रुपैयाँ रहेको छ । कम्पनीले यही चुक्ता पुँजीबाट हकप्रद निस्कासन गरेको हो । हकप्रद बिक्रीपछि भने नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, माघ ११ गतेदखि चैत १ गतेको समयसिमा तोकेर कर्णाली डेभलपमेन्ट बैंकले ३३ लाख ९७ हजार ५०० कित्ता (२२५%) हकप्रद सेयर बिक्री खुला गरेको छ । हाल बैंकको चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि भने कर्णालीको चुक्ता पुँजी ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
कामना सेवा विकास बैकले पनि माघ १५ गतेदेखि चैत ५ गतेको समयसिमा तोकेर ३० लाख ९४ हजार १५४.७७ कित्ता (१५%) हकप्रद सेयर बिक्री खुला गरेको छ । यसअघि कामना सेवाले फागुन फागुन २० गतेसम्मको समयसिमा निर्धारण गरेर हकप्रद बिक्री खुला गरेको थियो । तर त्यो समयमा सम्पुर्ण हकप्रद सेयर बिक्री नभएपछि बैंकले १५ दिनको समयसिमा थप गरेर हकप्रद भर्ने म्याद चैत ५ गतेसम्म पुर्याएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कामना सेवाको चुक्त पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ छ ।
राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि यो बैंक हकप्रको बाटो रोज्न बाध्य भएको हो । हकप्रद बिक्री गरिसकेपछि भने कामना सेवाको चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँ पुग्नेछ ।
यता, ८ वटा मध्ये यतिबेला हकप्रद बिक्री खुला गर्नेमा एउटा वाणिज्य बैंक पनि रहेको छ । सिद्धार्थ बैंकले फागुन २ गतेदेखि चैत १ गतेको समयसिमा तोकेर ६८ लाख २६ हजार ११७.१९ कित्ता (१०%) हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । बैंकले चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजार रुपैयाँको १०% हकप्रद निष्कासन गरेको हो । १०% हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड ८७ लाख २८ हजार ८७० रुपैयाँ पुग्नेछ ।
सिद्धार्थ बैंकले १०% हकप्रदको कल इन एड्भान्सलाई समेत जोडेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ अर्ब ५ करोड ६५ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी देखाएको छ । यस्तै, बैंकले गत वर्षको कमाईबाट १४% बोनस वापत ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ पनि वितरण गर्दैछ । बोनस वितरण प्रस्ताव पास गर्न सिद्धार्थले चैत ४ मा सभा गर्दैछ ।
सिद्धार्थले चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपनि बैंकले हकप्रद र बोनसको बाटो रोजेको हो ।
त्यस्तै, यतिवेला हकप्रद बिक्री खुला गरिरहेका अन्य कम्पनीमा एसियन लाइफ इन्सुरेन्स, फर्स्टमाइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, सुर्योदय लघुवित्त वित्तीय संस्था र प्राइम लाइफ इन्सुरेन्स कम्पनी रहेका छन् । एसियनले फागुन १३ गतेदेखि चैत १८ गतेको समय अवधि तोकेर ४० लाख २७ हजार ९६६.२० कित्ता (५०%) हकप्रद सेयर बिक्री खुला गरिरहेको छ ।
फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले पनि फागुन १८ गतेदेखि चैत २३ गतेको समयसिमा तोकेर २२ लाख ८१ हजार ३१३ कित्ता (५०%) हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । सुर्योदय लघुवित्त वित्तीय संस्थाले पनि फागुन २५ गतेदेखि चैत २९ गतेको समयसिमा तोकेर २ लाख ८० हजार कित्ता (७०%) हकप्रद सेयर बिक्री खुला गरिरहेको छ ।
यता, आइतबार (फागुन २७ गते) देखि ९७ लाख ६३ हजार २०० कित्ता (१६०%) हकप्रद सेयर बिक्री खुला गरेको प्राइम लाइफ इन्सुरेन्सको हकप्रद वैशाख २ गतेसम्म भर्न सकिनेछ । हाल प्राइमको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ ।
हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ हुनेछ । प्राइमले यही पुँजीको १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । बोनसपछि भने चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।
सुरेन्द्र पोखरेल / नेपाली पैसा