क्रिकेट – अफगानिस्तानलाई गुन लगाए मात्र नेपालले ‘वन डे’ मान्यता पाउने

काठमाडौं। नेपाल अहिले जिम्बाबेमा विश्वकप क्रिकेट छनोट खेलिरहेको छ । समूह चरणका ४ खेलमध्ये ३ खेलमा पराजित भइसकेको नेपाल अब सुपर ६ मा पुग्ने सम्भावना लगभग सकिएको छ । सुपर ६ को बाटो बन्द भएसँगै नेपाल यसपटकको विश्वकप खेल्न पाउने सम्भावना पनि सकिएको छ । तर, नेपाल यो प्रतियोगितामा जाँदा जुन मुख्य उद्देश्य लिएर गएको थियो त्यो उद्देश्य पूरा गर्ने बाटो भने जीवितै छ ।
नेपाल विश्वकप छनोट खेल्न जाँदा सुपर ६ मा पुग्ने र विश्वकप नै खेल्न पाउने सपना त देखिएको थियो तर त्यो त्यति सहज थिएन । किनकि क्रिकेट विश्वकपको इतिहासमै पहिलोपटक आगामी विश्वकपमा कम्तीमा २ टेष्ट मान्यता पाएका टिम नै विश्वकप खेल्न पाउने छैनन् । यस्तो कडा परीक्षा पास गर्नु नेपालका लागि निकै कठिन थियो । ४ वटा टेष्ट मान्यता पाएका टिम सहभागी छनोट प्रतियोगिताको शीर्ष २ मा पर्नु नेपालको लागि सहज पक्कै थिएन र नेपाली टिमले त्यहाँसम्म पुग्ने आशा मात्र गरेका थियो । त्यो आशा पूरा हुन चमत्कार नै हुनुपथ्र्यो जुन चमत्कार नेपाल ३ खेल खेल्दासम्म हुन सकेन ।
नेपालले विश्वकपसम्म पुग्ने सपना मात्र देखेको थियो तर मुख्य उद्देश्य भने एकदिवसीय क्रिकेटको लागि मान्यता पाउनु थियो । नेपाली टिम जिम्बाब्बे जाँदा यही एकदिवसीय मान्यता जसरी पनि हासिल गर्ने दृढ संकल्पसहित गएको थियो । जुन बाटो अझैसम्म पनि बन्द भएको छैन । तर, यसका लागि नेपालले आगामी तीन खेल लगातार जित्नुपर्नेछ । रोचक त के भने नेपालले एकदिवसीय मान्यता पाउने पहिलो खुड्किलो पार गर्न हिजो आफैंलाई पराजित गरेको अफगानिस्तानलाई नेपालले नै सुपर ६ मा पुर्याउनुपर्छ ।
आइसीसीको पछिल्लो नियमअनुसार जम्माजम्मी १६ टिमले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछन् । तीमध्ये १२ टिमले स्थायी मान्यता पाइसकेका छन् । यी १२ स्थायी मान्यता पाएका टिम टेष्ट मान्यता पाएका टिम हुन् जो आइसीसीका पूर्ण सदस्य राष्ट्र समेत हुन् । आइसीसीमा २० वर्षदेखि १० वटा टिमले स्थायी मान्यता पाएकोमा २०१७ को डिसेम्बरमा अफगानिस्तान र आयरल्याण्डले पनि स्थायी मान्यता पाएर १२ टिम पुगेका छन् । अब बाँकी ४ टिमले ४ वर्षको लागि अस्थायी ‘वन डे’ मान्यता पाउनेछन् ।
अब वन डे मान्यता पाउने ४ टिममध्ये १ टिम नेदरल्याण्ड हुने तय भइसकेको छ । आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको विजेता भएका कारण नेदरल्याण्डलाई यो छनोट खेललगत्तै वन डे मान्यता दिने आइसीसीले निर्णय गरिसकेको छ । अर्थात जारी छनोट खेलको परिणाम जेजस्तो भए पनि नेदरल्याण्डले वन डे मान्यता पाउनेछ । अब बाँकी ३ टिमको निर्णय यही विश्वकप छनोटले गर्नेछ । यो विश्वकप छनोटमा प्रतिस्पर्धा गरिरहेका १० मध्ये ४ टिमले स्थायी वनडे मान्यता पाइसकेको र नेदरल्याण्डले वन डे मान्यता पाउने निश्चित भइसकेको अवस्थामा बाँकी ५ टिम वन डे स्टाटस पाउने प्रतिस्पर्धामा छन् र यीमध्ये ३ टिमले वन डे मान्यता पाउनेछन् ।
३ टिममध्ये एउटा युएइ र अर्को स्कटल्याण्ड हुने लगभग पक्काजस्तै छ । बाँकी १ टिम कुन बन्छ भन्ने आगामी खेलले निर्धारण गर्नेछन् । समूह ‘ए’ बाट युएइ सुपर ६ पुग्ने लगभग निश्चितजस्तै छ । किनकि युएइलाई उछिन्ने दौडमा रहेको नेदरल्याण्डको सुपर ६ पुग्ने बाटो निकै कठिन छ । नेदरल्याण्डको अन्तिम खेल वेष्ट इण्डिजसँग छ र वेष्ट इण्डिज निकै बलियो टिम भएकोले नेदरल्याण्डले यसलाई पराजित गर्न निकै कठिन छ । अर्कोतर्फ नेदरल्याण्डले वेष्ट इण्डिजलाई हराइहाले पनि सुपर ६ को बाटो खुल्दैन । उसले सुपर ६ पुग्न त वेष्ट इण्डिजलाई ठूलो अन्तरले हराउनुपर्छ अन्यथा उसले युएइको नेट रनरेटलाई उछिन्न सक्दैन । युएइलाई नेदरल्याण्डले उछिन्न अर्कोतर्फ युएइले पनि आयरल्याण्डसँग हार्नुपर्छ । युएइले आयरल्याण्डलाई जितेमा पनि ऊ सुपर ६ पुग्न सक्छ ।
नेपाल रहेको समूह ‘बी’ मा रोचक प्रतिस्पर्धा छ । यो समूहको एसोसिएट टिम स्कटल्याण्डले ३ मध्ये सबै खेल जित्नै सुपर ६ सहित वन डे मान्यताको लागि आफ्नो स्थान पक्का गरिसकेको छ । अब यो समूहबाट नेपालको भविष्य भोलिको खेलले निर्धारण गर्नेछ । यो समूहको प्रतिस्पर्धा यसकारण पनि रोचक छ कि यहाँको बलियो मानिएको टिम अफगानिस्तान नेपालको भरोसामा छ । अफगानिस्तान यस्तो स्थितिमा छ कि उसले सुपर ६ पुग्न भोलि हुने नेपाल र हङकङबीचको खेलमा नेपालको जीतको कामना गरिरहेको छ । र, नेपालको लागि पनि वन डे मान्यता पाउन भोलिको खेल जित्नैपर्छ । भोलिको खेलमा नेपालले जिते अफगानिस्तान सुपर ६ पुग्नेछ तर नेपाल हारेमा हङकङ सुपर ६ पुग्नेछ र हङकङले नै सोह्रौं तथा अन्तिम टिमको रुपमा वन डे मान्यता पाउँदै नेपालको वन डे मान्यता पाउने बाटो बन्द गरिदिनेछ ।
हुन त भोलिको खेलमा हङकङलाई ठूलो अन्तरले पराजित गरेमा नेपाल सुपर ६ पुग्ने सम्भावना पनि जीवितै छ । यसो हुन सकेमा नेपालले सिधै वन डे मान्यता पनि पाउनेछ । तर यस्तो हुन निकै कठिन छ । भोलिको हङकङविरुद्धको खेलमा फराकिलो अन्तर निकाल्न नसके पनि नेपालको लागि जीत निकाल्न भने अत्यन्तै कठिन पनि छैन । किनकि हङकङलाई नेपालले पटक पटक पराजित गरिसकेको छ । भोलिको खेलमा नेपालले जित्न सकेमा हङकङ सुपर ६ पुग्न पाउने छैन । हङकङ सुपर ६ पुग्न नपाउनु भनेको सोह्रौं तथा अन्तिम वन डे मान्यता पाउने टिम बन्न नेपालको लागि बाटो खुला रहनु हो ।
भोलिको खेल नेपालले जित्यो भने वन डे मान्यता पाउने सोह्रौं तथा अन्तिम टिमको निर्णय प्लेअफमार्फत हुनेछ । भोलिको खेल नेपालले जितेमा प्लेअफमा नेपाल, हङकङ, पपुआ न्यूगिनी र नेदरल्याण्ड गरी ४ टिमबीच प्रतिस्पर्धा हुनेछ । भोलि हङकङलाई जितेमा सम्भवतः पहिलो प्लेअफमा नेपालले नेदरल्याण्ड प्रतिस्पर्धी पाउनेछ । यदि नेदरल्याण्डलाई पहिलो प्लेअफमा जितेमा नेपालले हङकङ र पपुआ न्यूगिनीबीचको खेलको विजेतासँग अन्तिम प्लेअफ खेल्नुपर्नेछ । त्यो प्लेअफ पनि जितेमा नेपालले वन डे मान्यता पाउनेछ । वन डे मान्यता पाउनको लागि नेपालले अबका तीनवटै खेल लगातार जित्नुपर्ने भएको छ ।