कतिवटा प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिन्छ होला ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब भाषण र मार्मिक उपेदशद्वारा होइन एक्सनद्वारा जनताको आकांक्षा पूरा गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।
“तपाईँहरुको हात बलियो छ । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्नुहुनेछ भन्ने जनताको भरोसा छ,” प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उनले भने, “सबै क्षेत्रमा राज्यका अंगमा हुने गरेका ढिला सुस्ती र कुसंस्कृतिको अन्त्य गर्नैपर्छ । शान्ति प्रक्रिया टुंगोमा पुर्याउने अवसर पनि हो । जनताले अब एक्सन खोजेको छ भाषण होइन । सिधै परिणाम खोजेको छ । यो भन्दा बढी अधिकारप्राप्त सरकार बन्न सक्छ र ? त्यसैले अब परिणाम नै देखाउनुपर्छ ।”
उनले पछिल्लो १० वर्षमा १० जना प्रधानमन्त्री बनेको स्मरण गर्दै त्यसमध्ये ८ जनलाई आफूले नै प्रस्ताव गरेको बताए ।
“प्रधानमन्त्रीको कार्यकक्षमा बसेर हिसाब नै गरियो । शान्ति सम्झौतापछि १० जना प्रधानमन्त्री भएछौं । १० जनामध्ये ८ वटा प्रधानमन्त्री बनाउने अवसर मलाई आएछ । भविष्यमा पनि कतिवटा प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिन्छ होला ? यसमध्ये गिरिजाबाबुलाई गनेको छैन ।”