सांसद रेशम चौधरीले रिहाईको लागि पहल गर्न आग्रह

काठमाडौं– वीर अस्पतालमा उपचाररत सांसद रेशम चौधरीले रिहाईको लागि पहल गर्न आग्रह गरेका छन् ।
आइतबार बिहान वीर अस्पतालमा उपचाररत चौधरीलाई भेट्न पुगेका राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवसँग चौधरीले यस्तो आग्रह गरेका हुन् ।
उनले आफूले रिहा भई सपथ लिन पाउनु पर्ने भन्दै यसमा सहयोग गर्न समेत आग्रह गरेको भेटपछि यादवले जानकारी दिए ।
जवाफमा यादवले आफूहरुले रिहाईका साथै सपथका लागि पहल गरिहरेको भन्दै सरकार यसबारे सकारात्मक रहेको बताएका थिए । यस्तै उनले टीकापुर प्रकरण राजनीतिक विषय भएकाले अनावश्यकरुपमा तन्काइन नहुने र सपथ लिन पाउनेमा ढुक्क हुन आश्वासन दिएको बताइएको छ ।
राजपाका नेताहरुले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर उनको रिहाईका साथै सपथ लिने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
यस्तै उनको स्वास्थ्य अवस्थाबारेसमेत गृहमन्त्रीको ध्यानकर्षण गराइएपछि शनिबारै साँझ कैलाली कारगारबाट काठमाडौं ल्याई वीर अस्पतालमा भर्ना गरिएको थियो ।
टीकापुर काण्डमा पुर्पक्षका लागि कैलाली कारगारमा रहेका उनी त्यही असनसन बसेपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो |