सिरियाः विद्रोही नियन्त्रित ‘पूर्वी गुटा सैन्य घेराबन्दीमा’

विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रलाई नियन्त्रणमा लिने क्रममा सिरियाली सेनाले महत्त्वपूर्ण प्रगति हासिल गरेको विवरणहरुमा जनाइएको छ।
गुटास्थित पर्यवेक्षक समूह तथा सरकारी संचारमाध्यमका अनुसार सरकारी सेनाले पूर्वी गुटाकै सबैभन्दा ठूलो नगर डुमालाई घेरा हालेका छन्। राजधानी दमास्कस बाहिर रहेको सो नगर विद्रोहीको मुख्य अखडा हो।
सरकारी सेनाले अर्को एक नगरसँगको सम्पर्क टुटाइदिएका छन्।
पछिल्लो कदमसँगै पूर्वी गुटा क्षेत्र तीन भागमा विभाजित भएको एउटा पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरी फर ह्यमुन राईट्सले जनाएको छ।
डुमाबाट प्राप्त विवरणहरूका अनुसार सो नगरमा सरकारी हवाई हमलाहरु भइरहेको बताइएको छ भने स्थानीय बासिन्दाहरू घरभित्रै फसेका छन्।
विद्रोहीको कब्जामा रहेको अन्तिम मुख्य अखडा पूर्वी गुटालाई पुनः नियन्त्रणमा लिन गत महिना सिरियाली सरकारले कारबाही थालेको थियो।
त्यसयता सिरियाली सेनाले पूर्वी गुटाको आधा भन्दा बढी भागलाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।
त्यसक्रममा ९ सय भन्दा बढी गैरसैनिकहरुको ज्यान गएको ठानिएको छ।
बीबीसीका अरब मामिलासम्बन्धी सम्पादक सेबस्टियन असर भन्छन्- “सिरियाली सरकारको स्पष्ट रणनीति भनेको पूर्वी गुटालाई विभिन्न भागमा विभाजन गरेर अलग्याउनु हो ताकि विद्रोहीसम्म पुग्ने सहयोग वा सहायता संजालहरुलाई रोक्न सकियोस्। र, अहिले सिरियाली सरकारले आफ्नो लक्ष्य भेटाएको जस्तो देखिन्छ।”
मध्य भागमा रहेको मिसराबा नगर पनि सिरियाली सरकारले पुनः कब्जामा लिएको र त्यसवरपर रहेका क्षेत्रतर्फ अघि बढिरहेको विवरणहरुमा जनाइएको छ।
पूर्वी गुटामा दोस्रो खेपको मानवीय सहायता सामग्री बोकेका संयुक्त राष्ट्रसंघका गाडीहरु शुक्रबार प्रवेश गर्न सफल भएका थिए। त्यस क्षेत्रमा प्रवेश गर्ने अघिल्ला प्रयासहरु सरकारी आक्रमणका कारण स्थगित हुन पुगेका थिए।
सन् २०१३ देखि सरकारी सेनाको घेराबन्दीमा रहेको पूर्वी गुटामा अझै चार लाख मानिसको बसोवास रहेको ठानिएको छ।