गौतम बुद्धलाई ज्ञापनपत्र,सेक इट सेक इट ! बेबी सेक इट !

एकादेशमा बुद्ध नेपालमै जन्मेका हुन् भनी लोकलाई सुनाउन ७५ हजार मान्छे जम्मा गरी शिलोक वाचन गर्दा पनि विश्वले कहीँ कतै सुनेको नपाइएसि यसका अभियन्ता, सद्भावना दूतहरु समीक्षा बैठकमा जुटेछन् । र, भावी रणनीतिका लागि घनघोर छलफल भएछ ।
बैठकमा टोलीका सबैभन्दा परिपक्क सदस्य वरिष्ठ डाक्टरसापले गम्भीर भएर भन्नुभएछ, “विश्वले सुनेन । नसुन्नुमा दोष विश्वको मात्रै नहुन पनि सक्छ । हाम्रो पनि हुन सक्छ । यसमा समीक्षा गरौं ।”
अर्का परिपक्क महानायक तत्क्षण प्रत्यक्ष हुनुभो र भन्नुभो, “डाक्टरसापले सही भन्नुभो । हो, अब हामी आफ्नै दोष र कमजोरीबारे समीक्षा गरौं । बरु सुरु तपाईंबाटै गरौं । भन्नुस्, २६ सय वर्षयता बुद्ध नेपालमा नजन्मनुमा तपाईंले आफ्नो दोष र कमजोरी कहाँ देख्नु भो ?”
“दोष मैले आफूमा होइन, तपाईंमा देखें,” डाक्टरसापले भन्नुभो, “तपाईं हेइ~~ गर्ने ! ‘शङ्कर हो मेरो नाम शङ्कर’ भन्दै खुद श्री महादेवकै औतार लिने । तर, बुद्धको औतार लिँदै नलिने । फिलममा शङ्कर भएर जन्मिने तर बुद्ध भएर जन्मिँदै नजन्मिने । शङ्कर भएर जन्मिनुको साटो बुद्ध भएर जन्मिदिएको भए बुद्ध नेपालमा जन्माउन भाँउतो गर्न पर्थ्यो ?”
“मैले चैं दोष तपाईंमा देखें,” महानायकले भन्नुभो, “टेस्ट्युब बेबी सेवा उपलब्ध गराएको १५ वर्षसम्म के हेरी बस्नुभो ? एक जना टेस्ट्युब बुद्ध जन्माइदिएको भए यो भाँउतो पर्थ्यो ? बुद्ध वाज बर्न इन चाबेल हुन्त्यो । काठमाडौं हुन्थ्यो । नेपाल हुन्थ्यो ।”
बीचमा गिनिजबुक रेकर्डधारीले सीधा कुरा गर्नुभो, “हो ! महानायक सरले सही कुरा गर्नुभो डाक्टरसाप सर ! तपाईंले एकजना टेस्ट्युब बुद्ध जन्माइदेको भए के जान्थ्यो ? बुद्ध नेपालमै जन्मेको प्रमाणपत्र अस्पतालले नै दिन्थ्यो । न त हामीलाई दु:ख पर्थ्यो न त गिनिज बुकलाई नै । यसै विश्वले चिन्थ्यो नेपाल ।”
“यस्ता हावा कुरा नगर्नुस् रिकर्डधारीजी,” डाक्टरसापले भन्नुभो, “थोडी सुद्धोदन दम्पती निसन्तान भैयो भनेर मेरामा आएका थिए र टेस्ट्युबमा बुद्ध जन्माइदिन ?”
“हस् डाक्टरसाप ! समयको लागि धन्यवाद । तपाईंलाई हामी फलोअप गरी नै रहनेछौं,” रेकर्डधारीजीको सीधा कुरा महानायकतिर सोझियो, “तपाईं खुद महादेव बनेर ‘शङ्कर हो मेरो नाम शङकर’ भन्न सक्नु तर आफ्नै देशको राष्ट्रिय गौरव बुद्ध बन्न नसक्नु, बुद्ध भएर जन्मिन नसक्नु । यो त साह्रै लज्जाको विषय भएन र ? यस्तो पाराले कसरी चिन्छ विश्वले नेपाल ?”
“अब फिलिममा त्यसै बुद्ध बनेर जन्मिन कहाँ मिल्छ ?” महानायकले भन्नुभो, “कथाले माग्नु परेन ? कथाले माग्दै नमागी ‘ला, ला कथा ला’ भनेर दिन मिल्छ ? त्यही नि जन्मजस्तो कुरा ।”
“यो समन्वय भन्ने जिनिस हुन्छ नि महानायज्यू !” रेकर्डधारीजीले पेल्दै सीधा कुरा ठोक्नुभो, “फ्लिममै दशकौं बिताएको मान्छेले कथा र आफूबीच समन्वयसम्म मिलाउन किन सक्नुहुन्न ? के फेलिम खेल्नु गुच्चा खेल्नु जस्तो हो ?”
“तपाईं सीधा कुरा महानायकसँग भन्दै बाङ्गा कुरा नगर्नुस्,” महानायकले भन्नुभो, “सीधा कुरा बुद्धसँग गरेर उहिल्यै बुद्धलाई नेपालमा जन्मिन आदेश दिन पर्दैनथ्यो ?”
“तब !” सात तलाबाट हाम्फालेर आउनुभएका अर्का नायकले थप्नुभो, “बरु सीधा कुरा भूतसँग गर्नुभो । हुँदै नभएको भूतलाई युट्युबभरि छरपस्ट पार्नुभो । नेपालमै जन्मेका बुद्धसँग सीधा कुरा गरेर फेरि जन्मिन आग्रह गर्न सक्नुभएन ।”
नायक साततलेजीको कुराबाट घत परेका गायक सेक इटले ताली पिटे, “सेक इट सेक इट ! बेबी सेक इट !”
“केका सेक इट ?” महात्मा सोचले भन्नुभो, “पूरै जीवन जीवन सेक इटमै बिताउनु भो । सकारात्मक सोच भन्ने नामो निसान छैन कतै । अनि कसरी जन्मिन्थे बुद्ध ? कमसेकम नायक साततलेजीले साततलाबाट हमफाल्दा ‘बुद्ध वाज वर्न इन नेपाल’ लेखेको ब्यानर हातमा लिएर हाम्फालेको भए विश्वले चिन्थेन नेपाल ?”
“तपाईंले चै के गर्नुभो नि ? बुद्ध वाज बर्न इन नेपालका लागि ?” आफूलाई लास्टै पेलेर बोलेसि नायक साततले र गायक सेक इटले एकैसाथ सोधे ।
माहात्मा सोचले भन्नुभो, “यसकै लागि पोखरामा होटल बनाउँदै थिएँ । होटल तालको छेउमा होइन, बीचैसम्म विस्तार गरी भित्ताभरि ‘बुद्ध वाज बर्न इन नेपाल’ लेख्ने योजना थियो । छानाभरि यही ध्वजापताका झुन्डाएर विश्वलाई देखाउन मन थियो । यत्रो क्यासेटाँ ‘फेवातालको आँगनमा लै लै बुद्ध वाज बर्न इन नेपालको छाया’ लेखेर विश्वलाई सुनाउन मन थियो । तर, अलिकति गरिखाएको देखेसि बैरीहरु हुरुरु आइलाग्दा रहेछन् र खेदो खन्दा रहेछन् । मलाई शत्रुहरुले गरिखान दिएनन् । फेवातालमा बुद्ध जन्माएर विश्वलाई नेपाल चिनाउने सपना अधुरै रह्यो ।”
महात्मा सोचले एकलट चेस्मा झिकेर पुछ्नुभो र मास्तिर फर्केर सुस्केरा हाल्नुभो । सेलिब्रेटी समाजसेवीतिर फर्कंदै भन्नुभो, “तपाईंहरुको नेपालको एकमात्र नगनाउने अस्पतालले बेलैमा विश्वको कानको उपचार गर्देको भए हामीले बुद्ध वाज बर्न इन नेपाल भनिरहँदा विश्वले सुन्थ्यो । विश्वले चिन्थ्यो नि नेपाल ।”
सेलीब्रेटी समाजसेवीले भन्नुभयो, “गरेको त हो नि ! तर क्यार्नु ? कानको गर्न भनेको झुक्किएर नाकको उपचार गर्दिएछन् । समस्या कहाँ पऱ्यो भन्दा नाकको कानको जस्तो जाली हुँदो रहेनछ । जाली नै नभएसि जति नै उपचार गरे नि नाकले मरिगए सुन्दो रहेनछ । गल्ती सृष्टिकर्ता ब्रह्माको नि हो । एकथान श्रवण जाली नाकमा नि हाल्दिएको भए तिनको के जान्थ्यो ? बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नाकैले सुनेर फैलिन्थ्यो । सृष्टिकर्ता ब्रह्मा नै हाम्रो अभियानको बाधक भए ।”
“ब्रम्हाले रोकेर रोकिन्न हाम्रो अभियान,” गिनिज रेकर्डधारीजी अलि आवेशमा आउनुभो र भन्नुभो, “म सीधा कुरा ब्रह्मासँग गर्छु । परिआए विष्णुसँग गर्छु, महादेवैसँग गर्छु । ल हेरौं त कस्ले सक्दो रहेछ बुद्धलाई नेपालमा जन्मिनबाट रोक्न ? कस्ले सक्दो रहेछ विश्वलाई नेपाल चिन्नबाट रोक्न ?”
“यसरी आवेशमा आएर हुन्न,” महात्मा सकारात्मक सोचले शान्त पार्दै भन्नुभो, “हामीले केही गर्न पर्दैन । बरु भगवान बुद्धजीले एकपटक सबैले देख्नेगरी नेपालमा जन्मिदिए पुग्छ । त्यसको लागि एकलट बुद्धजीलाई जन्मिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाम् ।”
“ठीक भन्नुभो,” वरिष्ठ डाक्टरसापले भन्नुभो, “जन्मिन नि एकपटक होइन, हरेक दस-दस वर्षमा जन्मिन पऱ्यो भनेर उल्लेख गरौं ।”
“माग सम्बोधन नभए कडाभन्दा कडा कदम चालिनेछ भनेर लेखम,” महानायकजीले भन्नुभो, “लेखौं- माग पूरा नभए फेरि साथिको लागि यो हात सलाम छ वाला डाइलग दोहोऱ्याइन्छ ।”
“लेख्दिनोस्,” नायक साततलेले भन्नुभो, “यदि तपाईंले तत्काल नेपालमा जन्मिएर देखाउनुभएन भने म सात हैन, चौध तलाबाट हामफाल्छु भनेर ।”
“लेख्दिनोस् !” गिनिज रेकर्डधारीजीले थप्नुभो, “मागलाई वेवास्ता गरिए, सीधै ‘सीधा कुरा बुद्धसँग गरिनेछ ।”