खुममायाको बहराइनमा गाँसिएको प्रेम, धोका र संघर्ष

श्रीमान् र श्रीमतीलाई एकै रथका दुई पाङ्ग्रा, एकै सिक्काका दुई पाटा यस्तै अनेक कुरा जोडेर व्याख्या गरिन्छ । हुन पनि हो । एउटा पाङ्ग्रो लड्खडायो भने रथ त गुड्दैन, जिन्दगीको रथ त कसरी अघि बढ्छ र ।
एउटा पाटो भएन भने सिक्काको पनि के अर्थ रहन्छ र । खुममाया मगरलाई पनि कहिलेकाहीँआफ्नो जीवन एक पाटो मात्रै भएको सिक्का जस्तै लाग्छ अर्थात अर्थहिन ।
कास्कीको घान्द्रुक–१ की खुममाया मगरको जीवन पहिल्यै यस्तो थिएन । किसान परिवारमा जन्मिएकी खुममाया तीन दाजुभाइ र पाँच जना दिदीबहिनीमध्येकी काइँली । दिदीहरुको बिहे भयो । दाइहरु पनि छुट्टिएर गरिखान थाले ।
बुवाआमा बुढाबुढी भइसक्नुभएको भएको थियो । त्यसैले खुममायाले ८ कक्षासम्म मात्रै पढ्ने मौका पाउनु भयो ।‘खेती र मेलोपातो नगरी हातमुख जोड्न धौ धौ हुन्थ्यो । मैले काममा सहयोग गर्दा भाइबहिनीले पढ्लान् भनेर पढाई पनि बिचैमा छोडें’ पढाइ छोडेकोमा उहाँलाई अहिले पछुतो लाग्छ ।
पढाइ छोडेर घर धन्दामा त लाग्नुभयो । तर भाइबहिनीलाई पढाउन आम्दानी कुनै स्रोत थिएन । समस्याले पिरोल्दै गयो । १८ वर्षकी खुममाया उमेरले पनि परिपक्क हुनुभएको थिएन ।
गाउँमा गरेको काम र कमाईले घरको खर्च चलाउने मुस्किल भएपछि खुममाया जागिर खान रन्थनिन थाल्नुभयो ।छिमेकीलाई उहाँको समस्या थाहा थियो । त्यसैले उहाँलाई विदेश जाने सल्लाह दिए । विदेश जाँदा राम्रो हुन्छ होला भन्ने सोचेकी खुममायाले बुवाआमासँग सल्लाह लिनुभयो ।
सुरुमा त छोरी मान्छे कहाँ विदेश जानु भन्ने कुरा आयो ।तर त्यसो भनेर घर पनि त चल्दैनथ्यो । त्यसैले खुममायाले मौन स्वीकृती पाउनुभयो बुवाआमाबाट ।राहादानी बनाउनु भयो । साथीले चिनेको एजेन्टलाई राहादानी बुझाउन भयो । केही महिना पछि साउदीमा घरको काममाभन्दै ४० हजार रुपैयाँ लिएर साउदी पठाइदिए ।
२०६० सालमा भारतको बाटो हुँदै जाँदा खुममायालाई अवैधानिक रुपमा जाँदैछु भन्ने थाहा थिएन । त्यसको त्यति धेरै वास्ता पनि थिएन । उहाँका अगाडि भाइबहिनीलाई पढाउने र घरखर्च जुटाउने जिम्मेवारी ठूलो थियो ।
‘पहिलो पल्ट घर भन्दा टाढा ठूलो जहाज चढेर विदेश जान पाउँदा त अर्कै संसारमा जान लागे जस्तै भयो’ भारतबाट उड्दै गर्दाको समय सम्झिनुभयो ।
१८वर्षकी खुममायाले बच्चा हेर्ने काम पाउनुभयो । गाउँ घरमा पनि काम गरिरहेकी र भाइबहिनी समेत हुर्काएकी खुममायालाई बच्चा हेर्ने काम त्यति गाह्रो भएन ।
भाषा नबुझ्दा भने घरको यादले सताउँथ्यो उहाँलाई । तिनै यादमा महिना बिते,वर्ष बिते । ४ वर्ष साउदीमै बिताउनु भयो खुममायाले ।साहु साहुनीले त २ वर्षमा घर आउन दिएका थिए । तर घर आएर जाँदा आफ्नै खर्च हुने भएपछि उहाँ ४ वर्षमा मात्रै फर्किनुभयो । ४ वर्ष बस्दा चार लाख रुपैयाँ कमाउनुभयो ।
खुममायाको त्यही कमाइले भाइबहिनीले उहाँले जस्तो बिचमै पढाइ छोड्नु परेन । एसएलसीसम्म पढ्न पाए । फर्किंदा उहाँको साथमा २० हजार रुपैयाँ थियो । घर फर्किएकी खुममायासँग बहिनीले सिएमए पढ्ने रहर सुनाइन्।
पोखरा बसेर क्याम्पस पढ्ने भाइलाई खर्च पुर्याउनुपर्ने भएकाले बहिनीलाई पढाउने आम्दानीको कुनै स्रोत थिएन ।त्यसैले घर आएको १ वर्ष पनि नहुँदै फेरि पनि विदेश नै जानुपर्ने बाध्यताले गाँज्यो उहाँलाई ।
दोस्रो पटक एजेण्ट हुँदै म्यानपार मार्फत काठमाडौंबाटै बहराइन जानुभयो क्लिनरको काममा । आफन्तसँग ऋण लिएर एजेण्टलाई ८५ हजार रुपैयाँ बुझाएर उड्दै गर्दा खुममायाले बहिनीलाई पढाउने सपना पुरा हुने आशा साँच्नुभएको थियो । ‘उनीहरु म जसरी विदेश जानु नपरोस भन्ने सोचेर गएको थिएँ’ खुममाया भन्नुहुन्छ ।
खुममायाले काम गर्ने कम्पनीमा अरु पनि धेरै महिला थिए । ‘तर न भाइबहिनी थिए न बुवाआमा’ खुममायाको स्वर मलिन भयो । बस्न दिएको कम्पनीमा खाना चाहिँ आफैं खानुपथ्र्यो । घरको काम जस्तो धेरै काम पनि गर्नु पर्दैनथ्यो ।
महिना बितेपछि तलब आउन थाल्यो । साथीहरु मिलेर पालैपालो २/३ महिनाको २५/३०हजार घर पठाउनुहुन्थ्यो । अरु नेपालीको जस्तै खुममाया पनि बिदाको दिन चाहिँ नेपालीहरु भेला हुने चोकमा जानुहुन्थ्यो ।
बहाराइन गएको ३ वर्ष भइसकेको थियो । नेपालीहरु भेला हुने चोकमा जाने क्रममा एकदिन पोखरा घर बताउने बर्दियाका केशव पौडेलसँग भेट भयो खुममायाको ।
त्यतिबेला खुममायालाई ठूलो साथ मिले जस्तो लागेको त्यही दिनले उहाँलाई आज एक्लो बनाइदिएको छ । त्यही भएर त्यो दिन उहाँले बिर्सिन सक्नुभएको छैन । त्यो दिन भेट भएका केशव खुममायासँग बिस्तारै नजिक हुनुभयो । बिहे नगरी खुममाया विदेशमा माया गर्ने त्यो पनि नेपाली नै पाउँदा विश्वासमा पर्नुभयो ।
तर केशवको असली रुप उहाँले पत्तो पाउनुभएन । दुई जनाको भेट मात्रै बाक्लिएर शारीरिक सम्बन्ध नै भयो । चार महिनापछि खुममाया गर्भवती हुनुभयो । ६ महिनासम्म खुममायाले आफू गर्भवती भएको कुरा काम गर्ने ठाउँमा पनि भन्नुभएन ।
तर कामदारका रुपमा गएर बच्चा जन्माउन नमिल्ने भएकाले ६ महिनापछि केशवले उहाँलाई नेपाल पठाइदिए । बच्चा जन्मिने बेलामा आउने बताए केशवले पेटमा मायाको चिनो बोकेर फर्किंदै गर्दा खुममाया सुखी र खुसी परिवारको सपना बुन्दै हुनुहुन्थ्यो ।
बिहे नगरी गर्भवती भएकी खुममाया घर जान सक्ने कुरै भएन ।
पोखरामा डेरामा बसिरहेकी बहिनीसँगै बस्नुभयो । आफूले पोखराकै केटासँग बिहे गरेको कुरा बहिनी मार्फत घरमा पुर्याउनुभयो ।
परिवारले पनि स्वीर्कान नै पर्यो ।गर्भवती भइसकेकाले परिवारले पनि स्वीकार्नुको विकल्प थिएन । स्वीकार्यो पनि । बच्चा जन्मिने बेलामा केशव पनि नेपाल आए । खुममायासँगै बस्न थाले । ‘ऊ आएपछि त मलाई साँच्चै नै माया गरेको रहेछ भन्ने झन विश्वास भयो’ खुममाया भन्नुहुन्छ ।
तर त्यो खुशी १० दिन पनि टिकेन । आफूले बिहे नै गरेको छैन भनेका केशवकी जेठी श्रीमती पोखरामा थिइन् । उनले श्रीमानले दोस्रो बिहे गरेर पोखरामै बसिरहेको थाहा पाएपछि प्रहरीमा उजुरी गरिन् ।
सुत्केरी खुममायाहोस हराए जस्तै हुनुभयो । ‘त्यसपछि त म घर न घाटको भइन त’ खुममायाले सुनाउनुभयो । त्यो दुःखमा पनि उहाँलाई बहिनीले नै साथ दिइन् । सुत्केरी खुममाया प्रहरी चौकीमा गएर केशवकी जेठी श्रीमतीसँग प्रेमको भिख माग्नु भयो ।
तर आफ्नो प्रेम नै झुठो भएपछि उहाँको केही लागेन । केशव जेठी श्रीमतीसँग कुरा मिलाएर हिँडे । उहाँलाई वास्तै गरेनन् । जेठी श्रीमतीलाई पनि पोखरामै छोडेर लिएर केशव बर्दिया पुगे । फोन गर्दा पनि राम्ररी बोलेनन् । उहाँ काखे छोरी च्यापेर बर्दिया नै पुग्नुभयो ।
परिवारले स्वीका¥यो तर केशवले नै घृणा गर्न थाले ।खुममाया बर्दिया पुगेको केही दिनमै केशव पोखरा आए । छोरीको जन्मदर्ता गराउन खुममाया केही दिन त्यहीँ बस्नुभयो । तर खुट्टा भाँचिएपछि एक महिना अस्पताल बस्नुपर्दा अवस्था पुरै फेरियो ।
उतिबेला जन्मदर्ता गरिदिन राजी भएका ससुरालाई केशवले नबनाइदिन दबाब दिइसकेका थिए । ‘घरबाट निकाल्न पनि भनेको रैछ’ उहाँ भन्नुहुन्छ । त्यसैले छोरीको जन्म दर्ताको लागि अदालतमाउजुरी दिएर खुममाया पोखरा फर्किनुभयो ।
छोरीका लागि भएपनि उहाँले संघर्ष गर्नु नै थियो । त्यसैले लडाईं गरेरै डेढ वर्षपछि छोरीको जन्मदर्ता गराउनुभयो । गरिखानु त पर्यो । त्यसैले छोरी एक वर्षकी हुँदादेखि नै उहाँ जागिर खोज्दै हिँड्नुभयो । तर पाउनुभएन । त्यसैले आफन्तहरुको सहयोगमा अहिले मेलापात गरेर छोरी पाल्दै हुनुहुन्छ ।
बहिनीको घरमा बस्दै आएकी खुममाया आफुले विदेशमा लगाएको प्रेमबाट पाएको जस्तो धोका अरुले नपाओस् भन्ने चाहनुहुन्छ ।त्यति मात्रै होइन विदेश जानु अघि नै त्यहाँ अपनाउनुपर्ने सचेतताका विषयमा पनि सजक हुनुपर्छ भन्ने लाग्छ ।
त्यसैले अहिले उहाँ कास्कीको सुरक्षित वैदेशिक रोजगार सूचना केन्द्रमा रिटर्नी भोलेन्टियरको काम गरिरहनुभएको छ । खुममायाकी छोरी अहिले ३ वर्षकी पुगिन । अहिले उनी स्कूल पढ्दैछिन् ।
बर्दियाबाट हिँडेका केशव न अहिलेसम्म छोरीलाई हेर्न आए न त खुममायालाई भेट्न नै । अहिले त उनी ओमान गएका छन् रे भन्ने सुन्नुभएको छ खुममायाले ।
अब बुवासँगको संघर्ष छोरीले ठूली भएर आफैं गर्छिन अनि अधिकार आफैं लिन्छिन् भन्ने निष्कर्षमा पुग्नुभएको छ । ‘मैले जन्मदर्ता बनाइदिएकी छु बाँकी बद्ला छोरीले नै लियोस्’ खुममाया भन्नुहुन्छ उज्जायालो अनलाइन बाट साभार