श्रम गर्न जानेबाट जनही २५ सयसम्म ठगी, दैनिक करिब १२ लाख रुपैयाँ दलालको गोजीमा

काठमाडौं, २१ फागुन- वैदेशिक रोजगार विभागको कार्यालय ताहचल जान गाडीबाट सोल्टीमोडमा झरेपछि केही मानिस तपाईंको पछि लाग्छन् । श्रम गर्ने भए यता आउनुस्, भन्दै हात समातेर आफ्नो सटरमा लैजाने होडबाजी चल्छ ।
सोल्टीमोडबाट श्रम कार्यालय आउने बाटोभरी दाँया र बायाँ गरेर ७५ भन्दा बढी त्यस्ता सटर छन्, जहाँ ‘यहाँ अनलाइन फारम भरिन्छ’ भनेर लेखिएको छ । पहिलोपटक त्यहाँ पुग्ने जो कोही पनि सोझै दलालको फन्दामा पर्न सक्छ र उनीहरूले मान्छे हेरेर रु. ५०० देखि २५०० सम्म फारम भरेको दस्तुर लिन्छन् ।
लाइन लाग्न भनेर बिहानै ४ बजे नै आइपुगेका सुनसरीका कृष्णकुमार राई कुवेतका लागि श्रम गर्ने भनेर आएका रहेछन् । करिब १७ वर्ष कुवेत बसेका उनलाई श्रमको फारम अनलाइन भरिन्छ भन्ने थाहा थिएन । युनियन लाइफ इन्स्योरेन्स कम्पनीअगाडि उभिएका उनले आफ्नो पासपोर्टलगायत सबै कागजपत्रहरू भित्र इन्स्योरेन्समा बुझाइसकेको बताए । ३६ देखि ५० वर्ष उमेर समूहले दुई वर्षको म्यादी जीवन बिमाको रूपमा बुझाउनु पर्ने रु. ४ हजार पच्चिस र रु. ५०० फारम भरेको दस्तुरको रूपमा अलग्गै बुझाएको बताए । उनी फारम रुजु गर्नका लागि लाइनमा कुरिरहेका थिए ।
दुबईको सुपरमार्केटमा काम गर्ने कृष्णाकुमारी गुरुङ श्रमका लागि दोस्रो दिन पनि ताहाचल आइपुगिन् । हाउसमेडकोरूपमा महिलाहरूलाई जान बन्देज गरिएपछि त्यसको असर उनलाई पनि परेको रहेछ । हिजो फारम भर्दा लाग्ने शुल्कको रुपमा २५०० तिरिसकेको भए पनि उनी हाउसमेडकोरूपमा जान लागेकी हुन् कि भन्ने शंकाले काम नबनेको हुन सक्ने बताइन। आज फेरि अतिरिक्त शुल्क तिरे देखि लाइन बस्नु नपर्ने भनेर उनलाई भनिएको रहेछ ।
श्रम कार्यालय अगाडि नै यसरी खुल्लमखुल्ला पैसा उठाएर काम गरिदिन्छु भन्दै ठगी गर्नेहरूका बारेमा हामीले वैदेशिक रोजगार विभागका प्रमुख प्रेमबहादुर देशकरसंग उनकै कार्यालयमा गएर कुरा गर्यौँ । उनले कार्यालयभित्र केही अनियमितता नभएको र बाहिर हुने ठगीको जिम्मेवार कार्यालय नहुने बताए । तर आफ्नै कार्यालयअगाडि भइरहेको ठगीमा तपाईंहरूको प्रत्यक्ष सरोकार किन नहुने भनेर गरिएको प्रतिप्रश्नपछि उनले आफूले प्रशासनसंग मिलेर कहिलेकाहिँ अनुगमन गर्ने गरेको बताए ।
फारम भर्दा लाग्ने दस्तुर तोकिदिन आफूले बारम्बार आग्रह गरे पनि स्थानीय प्रशासनले त्यसबारे नसुनेको उनको गुनासो थियो । दिनमा औसतमा १२ सयदेखि १५ सयसम्म सेवाग्राहीलाई सेवा दिइरहेको वैदेशिक रोजगार विभागले आफैँ इन्टरनेटमार्फत फारम भर्न सकिने कुराको सूचना बारम्बार दिएता पनि सेवाग्राहीले त्यसलाई उपेक्षा गरेर ठगीलाई मलजल गरिरहेको उनले बताए ।
यी सेवाग्राहीमार्फत दैनिक करिब १२ लाख रुपैयाँ दलालको गोजीमा पुग्ने गरेको छ । जुन नियमित कर प्रणालीमा दाखिला नहुने रकम पनि हो ।
कार्यालय प्रमुख प्रेमबहादुर देशकरले बताएअनुसार कहिलेकाहीँ भरिएको फारमभित्र नियोजितरूपमा अपडेट नगराइकन सेवाग्राहीहरूलाई यत्तिकै लाइनमा बस्न पठाउने गरिन्छ । पछि उनीहरूको अभिलेख नभेटिएपछि फेरी, ‘कर्मचारीहरूले घुस मागेको’ भनेर पुनः थप रकम असुलिन्छ । यसरी बाहिर खुल्लम खुल्ला हिडिरहेकादलालहरूले विदेश जानेहरूलाई त ठगेका छन् र साथसाथै कर्मचारीहरूको पनि बदनाम गरेका छन् । यो तुरुन्तै रोक्न या व्यवस्थित गर्न मिडियाकर्मी र अन्य सरोकारवालाहरूले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउँछन् ।
गेटनजिकै सोधपुछ कार्यालय पनि देखिन्थ्यो तर आधा घण्टासम्म पनि त्यहाँ कुनै सेवाग्राही सोधपुछका लागि छिरेको देखिएन । दिनमा कति जना सेवाग्राहीहरू सोधपुछका लागि आउँछन् ? त्यहाँ कार्यरत कर्मचारी मनिष केसीसँग जिज्ञासा राख्दा मुस्किलले २०/२५ जना आउने गरेको बताए । बाँकी सबै बाहिरका दलालहरूबाट काम गराउने भएकाले यहाँ सोधपुछ गर्न आउने सेवाग्राही अत्यन्त न्यून रहेको उनले बताए । ‘यहाँ सोध्न आउनेहरूलाई हामी नियमितरूपमा नीति नियमका कुराहरू भनिरहन्छौ र बाहिर हुने ठगीको बारेमा पनि जानकारी गराउँछौं,’ उनले भने ।
सेवाग्रहीको असावधानी र प्रशासन तथा वैदेशिक रोजगार विभागको बेवास्ताका कारण दिनप्रतिदिन सयौं युवा ठगिइरहेका छन् | लोकान्तरबाट साभर