रेस्लिङ प्रेमि सांसद हितबहादुर तामाङला जीवन,कामचलाउ भाषण गर्छु

युवा तथा खेलकुदमन्त्रीको भूमिका निर्वाह गरिसकेका सांसद हितबहादुर तामाङले आफूसम्बद्ध दलको केन्द्रीय नेतासम्म बन्ने लोभ गरेका थिएनन् । लोभ नगरे पनि एकताका नेपालकै सबैभन्दा ठूलो दल माओवादी केन्द्रको पोलिटव्युरो सदस्यमात्रै होइन, अहिले पनि माओवादी केन्द्र सचिवालय सदस्य छन् ।
राजनीतिक नेता भएपछि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको बन्ने सपना देख्नु अस्वाभाविक होइन । मन्त्रीको भूमिका निर्वाह गरे पनि प्रधानमन्त्री, राष्ट्रपतिको बन्ने सपना देख्नुभन्दा जनताको सेवक बन्ने ध्याउन्नमा छु भन्ने सांसद हितबहादुर तामाङसँग गरेको कुराकानी :
मेरो खाना
मकैको डिँडो र रायो सागको तरकारी असाध्यै मन पर्छ । गुन्द्रुकचाहिँ सकेसम्म खान नपरे हुन्थ्यो लाग्छ । रेष्टुरेन्ट एक्लै जान्न । साथीभाइहरूले जाउँ है भन्दा नाइँ भन्दिनँ । रेष्टुरेन्ट पुगिहाल्दा साथीहरूले ‘अर्डर’ गर्न लगाउनुभयो भने चिकेन चिल्ली र सलाद मगाउन बिर्सन्न । विद्यार्थीजीवनमा मात्रै होइन, फुर्सद हुँदा घरमा पनि पकाएकै हो । जेलमा रहँदा पनि पकाएको थिएँ । अन्डा करी राम्रो पकाउँछु भन्ने लाग्छ । रामबहादुर थापा ‘बादल’ ले अन्डा करी पकाउन सिकाउनुभएको थियो । मासुभन्दा मीठो अन्डा करी पकाउन आउँछ ।
मेरो पोसाक
विशेषतः सर्ट, पाइन्ट र जरिकोट लगाउँछु । इष्टमित्र, शुभचिन्तकले उपहारस्वरूप कपडा दिने भएकाले सालिन्दा पाँच÷सात हजारजत्ति कपडामा खर्च गर्छु । ‘ब्राउन’ र ‘ह्वाइट कलर’ को कपडा रोजाइमा पर्छन् । प्रायः कपडा किनेरै सिलाउने बानी छ । काठमाडौंको पुतलीसडकमा रहेको सुट बैंकमा कपडा सिलाउने गरेको छु । कपडाको ब्रान्डबारे जानकार भए पनि सामान्य कपडा नै लगाउँदै आएको छु । घाममा हिँड्दा क्याप लगाउने गर्छु ।
मेरो फिटनेस
पहिले–पहिले बिहान–बिहान ४० मिनेटजति दौडिन्थें । हिजोआज छुट्यो । शारीरिक अभ्यासका लागि समय व्यवस्थापन गर्न नसके पनि आवश्यकता अनुभूति गरेको छु । दुई÷चार वर्षयता बेलुकाको खाना सकेसम्म छिटो र हल्का खाँदै आएको छु ।
मेरो अध्ययन
पहिले–पहिले लेखपढमा लागेकै हो । पछिल्लो समय विषयगत अध्ययनमा केही कमी भएको छ । सशस्त्र जनयुद्धताकामात्रै होइन, जेलमा रहँदासमेत द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अर्थशास्त्र, उपन्यासलगायत विधाका किताब अध्ययन गर्थें तर व्यावहारिक जीवनमा आएपछि विषयगत आवश्यकताअनुसार तत्काल समस्या फुकाउने हिसाबले अध्ययन गर्ने बानी परेको छ ।
मन पर्ने लेखक थुप्रै छन् । त्यसमध्ये मोहन वैद्य ‘किरण’, खगेन्द्र संग्रौला, सीके लालको पाठक हुँ । माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भाषण समेटेर प्रकाशित किताब पनि पढ्ने गरेको छु । विदेशीमा म्याक्सिम गोर्की, लियो तोल्सतोयलगायत मन पर्छ । हिजोआज लेखाइ ठप्प छ । मेरो ९० जति लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
मेरो निजी पुस्तकालयमा दुई हजारभन्दा बढी किताब छन् । सालिन्दा कम्तीमा चार÷पाँच हजार रुपैयाँको किताब किन्ने गरेको छु ।
मेरो घुमफिर
विविध कठिनाइले नेपालीको घुम्न प्रचलन कमै छ । मन लागे पनि योजनाबद्ध घुमघाममा निस्कन सकेको छैन । नेपालका ५२ जिल्ला पुगेको छु । विदेशमा दक्षिण कोरिया, श्रीलंका, भारत, साउदी अरब र कतार गएको थिएँ । घुमेका देशमध्ये धार्मिक पर्यटनका हिसाबले श्रीलंका, औद्योगिक विकास हिसाबले दक्षिण कोरिया मन पर्यो । जीवनमा एकपटक चीन, अमेरिका, बेलायत जाने रहर छ ।
मेरो फुर्सद
राजनीतिक नेता भएकाले फुर्सद निकाल्न सकेको छैन । दौडधुप छ । थकाइ लाग्छ । दौडधुप भए पनि मोबाइल स्वीचअफ गरेर आराम गरौंजस्तो कहिल्यै लाग्दैन । फुर्सद भइहालेमा किताब पढ्ने र कार्यकर्ता, साथीभाइसँग भेटघाट गरेर रमाउँछु । सँगै भएकाले घरपरिवारलाई समय दिएकै छु । परिवारसहित चलचित्र हेर्न, घुम्न नगए पनि वर्षमा एक÷दुईपटक रेष्टुरेन्टसम्म पुग्छौं ।
मेरो खेलकुद
रेस्लिङ असाध्यै मन पर्छ । अन्य खेलप्रति उत्तिकै सम्मान छ ।
मेरो मोबाइल
सामसुङ र एमआईका दुई मोबाइल सेट प्रयोग गरेको छु । एमआईको १७ हजार रुपैयाँ परेको थियो । सामसुङचाहिँ साथी उपहार दिएका हुन् । काम लागुन्जेल मोबाइल सेट परिवर्तन गर्ने बानी छैन । फेसबुक, भाइबरलगायत आफूलाई आवश्यक मोबाइलका एप्लिकेसन सदुपयोग गर्छु ।
मेरो टीभी
सुन्नैपर्ने नेताको अन्तर्वार्ता प्रसारण हुँदै छ भनेर जानकारी पाए टेलिभिजनमा हेर्न छुटाउँदिनँ । त्यसबाहेक समाचार प्राथमिकतामा पर्छ । टेलिभिजन हेर्ने साइत बेलुका जुर्छ । कोठामा सिजीको ३२ इन्चे एलसिडी छ ।
मेरो चलचित्र
नेपालको हलमै पुगेर चलचित्र नहेरेको २० वर्षजति भयो । तर, त्रिशूलीबाट काठमाडौं आउँदा बसमै ‘छक्कापन्जा’ हेरेको थिएँ । जनयुद्धताका कामविशेषले भारत पुग्दा यदाकदा चलचित्र हेर्थें । तर, हेरेको चलचित्रको नामचाहिँ थाहा छैन । भारतीय बिर्से पनि हेरेकामध्ये नेपाली चलचित्रमा ‘कान्छी’, ‘जीवनरेखा’, ‘कुसुमेरुमाल’ राम्रै लागेको थियो ।
मेरो रोग
स्वस्थ छु । दीर्घरोग छैन । औषधिको नाममा सिंगो सिटामोलसमेत सेवन गरेको छैन । ज्वरो आउँदा दुई दिनसम्म त्यत्तिकै पेल्न खोज्छु । तीन दिनसम्म छाडेन भने सिंगै नभएर आधा सिटामोल सेवन गर्छु । त्यति सेवन गर्दै खल्खली पसिना आउँछ ।
अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । तर, गर्नुपर्छ । खानपानमा ध्यान दिएमा स्वस्थ रहन सकिन्छ । मीठो छ भन्दैमा स्वास्थ्यलाई हानि गर्ने खानेकुरा खानै हुँदैन । बिहान खाना खानुअघि जे उपलब्ध छ, त्यही खाजा खान्छु । पानीको मात्रामा त्यत्तिकै ध्यान दिन्छु ।
मेरो भाषणशैली
राजनीतिक नेता भएपछि भाषण गरिरहनुपर्छ । आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा कामचलाउमात्रै हो भन्ने लाग्छ । पछिल्लो समय सुधार्ने प्रयास गरेको छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । समय परिस्थिति हेरेर भाषण गर्न सक्छु । भाषण गर्नअघि तयारी नभए पनि विषयबारे जानकारी राख्छु ।
मेरो मापसे
मादक पदार्थ खान्न भन्दा मानिसले पत्याउँदैनन् होला । तर, हितबहादुर तामाङले मादक पदार्थ खान्छन् भनेर धेरैलाई पत्याउन गाह्रो भएको छ । म हार्ड ड्रिङ्क्स त गर्दै गर्दिनँ । गर्नैपर्ने अवस्था आए वाइन एक पेगसम्मसम्म लिन्छु । त्यो पनि लहर मिलाउनमात्रै ।
मेरो संगीत
गीत–संगीत कमै सुन्छु । कमै सुने पनि गायक नारायण गोपाल र गायिकामा अञ्जु पन्त र पूर्णिमा लामाको आवाज कर्णप्रिय लाग्छ ।
मेरो भूल
जानअञ्जानमा गल्ती गर्नुु मानवीय स्वभाव नै हो । तर, पश्चाताप लाग्नेगरी मबाट गल्ती भएको छैन । म सानोछँदा भाइबहिनीले पढिदेओस् भनेर रिसाउँथें । गाली गर्थें । अज्ञानताले कहिलेकाहीं बाआमासँग पनि रिसाउँथें । पछि बानी ‘करेक्सन’ गरिहालें ।
मेरो घर
काठमाडौंमा डेरामा बस्दै आएको छु । संयुक्त परिवार भएकाले पाँच कोठा चाहियो । तसर्थ, मासिक २०÷२५ हजार रुपैयाँ कोठाभाडा बुझाउनुपर्छ । नुवाकोटमा पनि मेरो घर छैन । पुख्र्यौली घरमा दाजुभाइ बस्छन् ।
अविवाहित जेठी सासु मसँगै बस्छिन् । उनको अंशमा एक घर परेको थियो । गोरखा भूकम्पमा भत्केपछि त्यो घरको नाममा आएको राहतले नयाँ घर बनाउने काम सुरु भएको छ । सरकारको डिजाइनमा बन्ने भूकम्प प्रतिरोधी त्यो घर मेरो कि कसको भन्ने ?
मेरो राशी
मेरो राशी कर्कट हो । ग्रहदशा हेराउने, ग्रहशान्ति गराउने गरेको छैन । निर्वाचनमा विजयी हुन् भनेर गाउँगाउँका मतदाताले चाहिँ भाकल गरेका रहेछन् । ग्रह नक्षत्रको फलप्रति विश्वास छैन ।
मेरो सौन्दर्यचेत
कपाल मिलाउन सामान्य तेल लगाउने गर्छु । फेसियल गर्दिनँ । कहिलेकाहीं सनब्लक लगाउँछु । यदाकदा पफ्र्युम प्रयोग गर्छु ।
मेरो प्रेम
हाम्रो मागीबिहे हो ।
मेरो परिवार
परिवारमा म हितबहादुर तामाङ, श्रीमती बिसुमाया तामाङ, दुई छोरी र एक छोरा छन् । जेठी छोरी लक्ष्मी तामाङ ‘सामना’, कान्छी छोरी रेजिना तामाङ ‘ज्ञानु’ र छोरा रूपक तामाङ हुन् । सासुआमा सेतीमाया तामाङ र जेठीसासु ठुली तामाङ (अविवाहित) सहित हामी सँगै काठमाडौंमा बस्छौं ।
मेरो सपना
जोकोही राजनीतिक नेताले समृद्ध नेपालको परिकल्पना गर्नु, सपना देख्नु स्वाभाविकै हो । म पनि अछुतो रहिनँ । मैले परिकल्पना गरेको नेपालमा कम्तीमा बिरामीले सहज उपाचार पाऊन् । सबैले चाहेअनुसारको विषयमा अध्ययन गर्न पाऊन् । खान, लगाउन अभाव नहोस् । यत्तिमात्रै भइदिए कति जाती हुन्थ्यो होला ।
म सामान्य परिवारको मानिस हुँ । राजनीतिमा जोडिएपछि आफूसम्बद्ध दलको केन्द्रीय नेतासम्म बन्छु भन्ने लोभ थिएन । नभए पनि एकताका नेपालकै सबैभन्दा ठूलो दल माओवादी केन्द्रको पोलिटव्युरो सदस्य भएँ । अहिले पनि सचिवालय सदस्य छु । सांसद भएँ । छु । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको बन्ने सपना नदेखे पनि मन्त्रीको भूमिकाचाहिँ निर्वाह गरिसकेको छु ।
मेरो मृत्यु
मृत्यु अकाट्य छ । यो स्वाभाविक हो । मृत्युसँग डर लागे पनि भाग्न सकिँदैन । जनयुद्धताका पटक–पटक मृत्युको नजिक–नजिक पुगेको थिएँ । हामी मकवानपुरको डाँडाखर्कमा थियौं । मसँग श्रीमती, मकवानपुरकै मीना पाख्रिन, नुवाकोटका विद्यार्थी नेता केशव पुडासैनी र नुवाकोटकै रामप्रसाद पाण्डे (सहिद हुनुभयो) थिए ।
हामी डाँडाखर्क हुँदै धादिङ जानुपर्ने थियो । पाण्डे भर्खर जेलमुक्त भएका थिए । डाँडाखर्कको गोगने पुग्दा बिहानको १० बजेको थियो । पाण्डेले तिलकबहादुर नेगीको घर कहाँनेर हो भनेर सोधे । गोगनेतिरै हो भन्ने सुनेको हुँ भन्ने जवाफ दिएँ । पाण्डेले खाना त्यहीं गएर खाने कि भन्ने प्रस्ताव राखे । पाण्डे र नेगीबीच जेलमै चिनजान भएको रहेछ । त्यतिबेलै पुडासैनीले हामी जाने कता हो भनेर सोधे । मैले पारिपट्टिको बाटो देखाएँ । उनले खाना खाएपछि उकालो हिँड्न सकिँदैन भने । हामीले सहमति जनायौं । हामी नेगीको घर गएनौं । हामी वारि तरेर जहाँ खानाको तयारी गर्दै थियौं, त्यही समय ३०÷३५ जना सेनाले नेगीको घर घेरा हाले ।
दीपेन्द्र राई / रातोपाटीबाट साभार गरिएको – तामाङअनलाइन
पाण्डेको प्रस्ताव मानेको भए, त्यो दिन हामी पाँचैजनाको एकैचिहान हुन्थ्यो । यो संवत् ०६० सालको कुरा हो ।
मृत्यु सहज होस् भन्ने लोभ छ ।