बौद्ध धर्मावलम्बी अनुसार कपन गुम्बामा विशेष पूजा सम्पन्न

काठमाडौँ : राष्ट्र कल्याणको कामना गर्दै बौद्ध धर्मावलम्बीले आज कपन गुम्बामा विशेष पूजा सम्पन्न गरेका छन् । प्रत्येक वर्ष फागु पूर्णिमाको भोलिपल्ट उनीहरुले आध्यात्मिक गतिविधिबाट ‘गेलुक महापरिधान’ (शान्ति पाठ) गरी देशमा शान्ति र समृद्धिको कामना गरेका हुन् ।
नेपाल गेलुक संघले आयोजना गरेको उक्त कार्यक्रममा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले चित्तलाई नियन्त्रण गरेर सत्कर्ममा समर्पित हुन सकिने बताउँदै सर्वसाधारणलाई सत्मार्गमा लाग्न आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा सहभागी हुन उहाँ भारतबाट गत साता नेपाल आउनुभएको आयोजकले जनाएका छन् ।
कपन गुम्बाका प्रमुख जोपा रिन्पोछे, बौद्ध विद्वान् टीका शेर्पालगायतले बौद्ध साहित्यमा मानव जीवन दुर्लभ रहेको बताउँदै यस जीवनमा प्राणी रक्षा तथा समाजसेवाका कार्य गरी पुण्य सञ्चय गर्नुपर्नेमा जोड दिनुभयो ।
महायानी परम्परा अन्तर्गतका ती धर्मावलम्बीले काश्यपमुनि बुद्धलाई अतीतका बुद्ध, मैत्रेय बुद्धलाई भविष्यमा मानव कल्याणका लागि पृथ्वीमा आउने बुद्ध र शाक्यमुनि बुद्धलाई हालका बुद्धका रुपमा आस्था राख्ने गर्दछन् । तीनै कालका बुद्धलाई पनि स्मरण गर्दै पूजा सम्पन्न गरिएको थियो ।
काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायका गुम्बा उक्त संघमा आबद्ध छन् । संघले हिमाली भेगमा अभ्यास गरिने बौद्ध परम्पराको जगेर्नाका साथै विभिन्न समयमा बौद्ध दर्शनको प्रवद्र्धनका लागि सम्बन्धित क्षेत्रको दर्शन तथा साहित्यमा विद्यार्थीबीच प्रतिस्पर्धा (शास्त्रार्थ) गराउँदै आएको छ ।