अँध्यारोको शिकार भइन् श्रीदेवी

काठमाडौं, १७ फागुन — बलिउड सुपरस्टार श्रीदेवीको मृत्युले केही अनुमानहरूलाई जन्म दिएको छ । तीमध्ये केही चाहिँ निराधार छन् । तर उनको निधनले बलिउडलाई भित्रैबाट थाहा पाउने मानिसहरूलाई यस कथित स्वप्नसंसारमा महिलामाथिका दबाबका बारेमा बोल्ने हिम्मत दियो ।
बलिउडका कलाकारहरू हिन्दी फिल्म इन्डस्ट्रीलाई एक ठूलो परिवारका रूपमा उल्लेख गर्छन् तर यस सिर्जनात्मक समुदायमा एउटा ठूलो खाडल बन्दै गएको छ र यसलाई बेवास्ता गर्न मिल्दैन ।
श्रीदेवीको मृत्युपछि बलिउडमा महिलाहरूमाथि परेका दबाब र उनीहरूको सफलताको पछाडि रहेको अँध्यारो पाटोसँग जोडिएका सन्देशहरूले सामाजिक सञ्जाल भरिए ।
बलिउडमा केही ठूलो गर्ने सपना सजाएर मुम्बई पुग्ने मानिसको आशाको दशा कस्तो हुन्छ भन्ने यसले देखायो ।
उमेर बढ्दै जाँदा जवान देखिने बोझ र विवादहरूलाई लुकाउने परिदृश्यबाट शुरू भएका मीटू जस्ता अभियानहरू हलिउडका मात्र तथ्य होइनन् ।
विगत दुई दशकदेखि केही वेबसाइटहरूले बलिउडका कलाकारहरूको रोमान्स, ब्रेकअप, मादक पदार्थ तथा रक्सी सेवनका साथै आपराधिक कृत्यहरूसँग जोडिएका जानकारी लीक गरिरहेका छन् ।
श्रीदेवीको मृत्यु बाथटबमा दुर्घटनावश डुबेर भएको खबर आएपछि बलिउड अभिनेत्री सिमी गरेवालले श्रीदेवी र हलिउड अभिनेत्री ह्विट्नी ह्युस्टनको मृत्युबीचका विचित्र समानताका बारेमा ट्वीट गरिन् ।
पोस्टमोर्टम रिपोर्टअनुसार, सन् २०१२ को ११ फेब्रुअरीमा ह्युस्टन होटलको बाथटबमा कोकेनको नशा तथा हृदयरोगका कारण दुर्घटनावश डुबेकी थिइन् ।
भारतमा अहिलेसम्म कम्तीमा १६ अभिनेत्री र नौ अभिनेताले आत्महत्या गरिसकेका छन् । बलिउडको दबाब झेल्न नसकेर वा प्रेममा धोका खाएर डिप्रेसनमा पुगी यीमध्ये अधिकांशले आत्महत्या गरेका हुन् ।
बलिउडमा सफल र आकर्षक देखनका लागि शीर्ष कलाकारहरूका लागि धेरै दबाब छ ।
सफल अभिनेत्री दीपिका पादुकोणले सार्वजनिक रूपमै बलिउडको वातावरणमा डिप्रेसनपीडित भएको स्वीकारिन् ।
फिल्म निर्माता रामगोपाल वर्माले सामाजिक सञ्जालमा लेखेअनुसार, श्रीदेवी निजी जीवनमा अत्यन्तै दुःखी थिइन् । वर्माले श्रीदेवीलाई तेलुगु फिल्ममा खेलाएका थिए ।
उनले लेखे, ‘श्रीदेवी आफ्नो जीवनको कठिन समयबाट अघि बढिसकेकी थिइन् । बाल कलाकारका रूपमा करीयरको छिटो आरम्भले उनलाई जीवनमा सामान्य गतिमा अघि बढ्ने समय दिएन ।’
बाहिरी शान्तिभन्दा बढी उनको आन्तरिक मानसिक स्थिति चिन्ताको विषय थियो ।
वर्माले फेसबूकमा लेखे, ‘भविष्यसम्बन्धी अनिश्चितता र उनको निजी जीवनमा अनेकौं परिवर्तनले संवेदनशील दिमागमा गहिरो छाप छोड्यो जसले गर्दा उनलाई कहिल्यै शान्ति भएन ।’
बलिउडमा शाहरुख खान, अनुष्का शर्मा, रणवीर सिंह र दीपिका पादुकोणजस्ता बाहिरबाट आएर सफल भएका मानिसलाई पारम्परिक स्टुडियो र फिल्म निर्माताहरूको बलियो समर्थन प्राप्त छ ।
बलिउडका यी जटिल विषयलाई सार्वजनिक क्षेत्रमा दबाइएको थियो । श्रीदेवीको दुःखद अन्त्यले बलिउड भित्रबाट कति सुन्दर छ भन्ने विषयमा आत्मनिरीक्षणको मौका दियो ।
बीबीसी हिन्दीमा प्रकाशित सुधा जी तिलकको आलेखको भावानुवाद