सोमबार मन्त्री हुन तयार भएका को को हिस्स परे ?

काठमाडौं । बजारमा चलेको हल्लाअनुसार दुई–दुई गरेर जम्मा चारको | सोमबार शीतलनिवासमा अर्का एकजना तम्तयार थिए, दौरा–सुरुवालमा । अरुको नाम पढियो तर उनको आएन ।
आकांक्षीहरु चाकडी, धम्की र प्रलोभनमा उत्रिन थालेपछि सोमबार विहानदेखि मन्त्रीको नाम टुंग्याउन एमाले–माओवादी शीर्ष नेताहरु सफल भएनन् । तर, नाम नटुंगिकनै जनार्दन शर्मा (प्रभाकर) चाहिँ दौरा सुरुवालमा देखिएका हुन् । माओवादीभित्रको रमाइलो कस्तो भने, एकथरि जनार्दनलाई रोक्न लागेका छन्, अनि जनार्दनचाहिँ आफूलाई रोक्नेहरुलाई छेक्नका लागि भएजति सबै बल प्रयोग गर्दै छन् । वर्षमान र शक्तिहरुले उनी गृहमन्त्री हुँदा भ्रष्टाचार र बेथिती बढ्ने भन्दै केपी ओलीको कान भर्न भ्याएका छन् ।
सोमबार यी दुवै गृहमन्त्री बनेनन् । त्यसैले आफू ठिक्क परेर पनि मन्त्री नहुँदा जनार्दन बेखुश छैनन् । केपीले आइतबारै भनेका रहेछन्, ‘तपाईंलाई बनाउन म राजी छु तर नामचाहिँ पार्टीबाट आउनुपर्छ ।’ उनले इच्छा गरेको मन्त्रालय हो, उर्जा । गृहका लागि लबिङ गरिरहेका थिए । अर्थमा एमालेतिरझैं आफ्नैतिर गृहका आकांक्षीहरुलाई रोक्नका लागि पनि बादललाई बनाउनुपर्ने बाध्यतामा थिए प्रचण्ड । त्यसमाथि अहिले वर्षमान र नारायणकाजीलाई चिढ्याउँदा पार्टी एकता निश्कर्षमा नपुग्ने खतराप्रति सचेत छन् । २५ वटा जिल्ला अध्यक्ष वर्षमानका छन् भने नारायणकाजीसँग तत्कालीन जनमोर्चाको ठूलो पंक्ति सुरक्षित छ । उतैबाट आएका आहुतीलाई एकताविरोधीको नाममा कारवाही गर्दा पनि काजीले आपत्ति जनाएका छैनन् ।
आइतबार अर्को रमाइलो भयो । आजको जनआस्था साप्ताहिकमा समाचार छ – लेखराज भट्ट आफूलाई मन्त्री बनाउनुप¥यो भन्दै खुमलटार पुगे । तर, प्रचण्डले आफ्नालागि मन्त्री माग्न आएका लेखराजलाई यसरी फकाए कि फर्किंदा उनी बीना मगर नै हुनुपर्छ भन्नेमा कन्भिन्स भए । ‘तीन–तीनपटक मन्त्री भइसक्नुभयो, फेरि कतिपल्ट चाहिने ? अब नयाँ मान्छेलाई सिफारिस गर्नुस् ।
साथीहरुले बीनाको कुरा ल्याउनुभएको छ । ठीक लाग्छ भने प्रस्ताव गर्नुस् ।’ नभन्दै त्यही दिन बेलुकी बसेको कार्यालय बैठक (एमालेको स्थायी कमिटीजस्तै) मा लेखराजले नै बीना मगरको नाम अघि सारे ।
सोमबार मन्त्री बन्ने कुराले एमालेमा पनि रमाइलो चल्यो । दौरा सुरुवाल लगाएर बसेका थिए, झण्डै एक दर्जन नेता । प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, प्रेमबहादुर आले, हृदयेश त्रिपाठी, रघुवीर महासेठ । पहिला अर्थ, नभए परराष्ट्र भनेर तयार पारिएका थिए प्रदीप ज्ञवाली । परराष्ट्र फोरमका लागि खालि राखिदिनुपर्ने र अर्थमा डा.युवराज खतिवडा तयार पारिसकिएका कारण दुबै नपाउने भएपछि कुन मन्त्रालय दिने भन्ने अन्योल नै थियो । पहिला योगेशलाई सञ्चार भनिएको थियो । तर, सञ्चार प्रदीपलाई दिएर योगेशलाई शिक्षा तथा खेलकुद भन्ने गाइँगुइँ चल्यो । यसैबीच, धुम्बाराही पार्टी अफिसमा हल्ला आयो, जनजातिबाट दुई जना फुलमन्त्री र एकजना राज्यमन्त्री हुँदैछन् । तर, को–को बन्लान् ? यसको टुंगो लगाउन पनि मुस्किल ।
सोमबार आश गरेर तयारी अवस्थामा बसेका प्रेम आलेसहित बसन्त नेम्वाङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, नारदमुनी राना, राजेन्द्र राई (धनकुटा) र पार्वत गुरुङहरु थिए । यी सात भाइमध्ये कसैले पनि मन्त्री नबन्ने कुरा सोचेकै छैनन्, तर सबैलाई एकैचोटि मन्त्री बनाउन कसै गर्दा पनि नसक्ने अवस्थामा छन्, ओली । आइतबार बालुवाटारमा बोलाइएका रवीन्द्र अधिकारीसँग एक घण्टा कुराकानी गरेका छन् । अघिल्लो संसदमा विकास समितिको सभापति भएर थुप्रै परियोजनालाई नजिकबाट नियालेका कारण ओलीले तिनै विषयमा छलफल गरेका थिए । त्यसैले सोमबार रवीन्द्रले भौतिक पूर्वाधार पाउने अनुमान गरिएको थियो । सोमबार मधेसीबाट रघुवीर महासेठ र हृदयेश त्रिपाठी तयार भएका थिए ।
मधेसीमात्रै भन्ने हो भने त लालबाबु भइसके । तर, २ नं. र ५ नं. प्रदेश समेट्नका लागि यी दुई मन्त्री बन्ने गरी तयार पारिएका थिए । ओलीले नवराज सिलवाललाई ‘प¥यो भने फोन गर्छु’ भनेका थिए । सोमबार दिउँसो जनआस्थाले उनलाई फोन गर्दा ‘घरमै छु’ भने । सोमबार निराश बनेका थिए, पार्वत गुरुङ । कारण रहेछ, यति एयरलाइन्स र गोकर्ण रिसोर्टका मालिक आङ्छिरिङ शेर्पालाई लिएर ओलीकहाँ पुग्नु । ओली र आङ्छिरिङको पुरानै मिल्ती छ । पार्वतचाहिँ नेतालाई सहयोग गर्ने र ‘सहयोग गरेँ नि’ भन्ने बानी भएका व्यक्ति । यही बानीले कुरा बिगा¥यो । आङ्छिरिङसँगै बालुवाटार पुग्दा ओलीले एकैछिन भेट दिएर पार्वतलाई ‘हुन्छ, जानुस्’ भनी पठाए । आङ्छिरिङचाहिँ भित्रै थिए । ‘किन पार्वतलाई ल्याउनुभएको ?’ भनेर सोध्दा ‘जाऊँ कि जाऊँ भनेपछि के गर्ने…’ भनेर टारे । तर, ‘बनाउनैपर्छ’ भनेर सिफारिस गरेनन् । स्मरणीय के छ भने, ओलीको अघिल्लो कार्यकालमा पर्यटनमन्त्री बनाइएका दोलखाका आनन्द पोखरेल शेर्पाकै सिफारिसका थिए ।