प्रदेश ३ को मन्त्रि चयन गर्दा माओवादीमा विवाद,कुमारी मोक्तान तामाङ आउट !

माओवादीबाट मन्त्री चयन गर्ने क्रममा विवाद भएको छ । दलका नेता जमरकट्टेलले सिन्धुपाल्चोकका युवराज दुलालको नाम अघि सारेपछि अरु नेताहरु असन्तुष्ट भएका हुन् । लामो समय प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका दुलाल अग्नि सापकोटा वनमन्त्री हुँदा स्वकीय सचिव थिए ।
माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्काको नाम मन्त्रीको लागि चर्चामा थियो । समावेशी हिसाबले पनि कुमारी मोक्तानलाई मन्त्री बनाउन माओवादीमा दबाव छ । यसअघि शालिकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन् ।
दुलाललाई मन्त्री बनाउन प्रचण्डले निर्देशन दिएको स्रोतले जनाएको छ । पछिल्लो समय दुलाल राजनीतिभन्दा पनि व्यापार र ठेक्कापट्टामा संलग्न रहेको आरोप लागेको छ । अग्नि सापकोटा केन्द्रीय सरकारको मन्त्री नहुने भएपछि सिन्धुपाल्चोकका नेताहरुले दुलाललाई मन्त्री बनाउन प्रचण्ड निवासमा दबाव दिएको एक नेताले बताए ।
माओवादी संसदीय दलको उपनेतासमेत रहेकी मोक्तानलाई मन्त्रीको शपथका लागि तयार हुन विहानै मुख्यमन्त्री पौडेलले सूचना दिएका थिए । तर, पार्टीबाट दुलालको नाम आएपछि उनले आपत्ति जनाएकी छन् । माओवादीले महिला र जनजातिलाई अपमान गरेको आरोप मोक्तान पक्षले लगाएको छ ।
पार्टीभित्र कुमारी मोक्तान र राजकाजी महर्जन बादल समूहका हुन् । विशाल खड्का बाबुराम भट्टराई पार्टीमा हुन्जेल उनको पक्षमा थिए ।
माओवादीले पाउने दुईमन्त्री मध्ये एउटामा महिला र जनजातिलाई दिनुपर्ने माग भइरहेको छ । एमालेले भने प्रदेश ३ को जातीय क्लस्टर मिल्ने गरी एकजना नेवार, एकजना तामाङ र दुईजना खसआर्यलाई मन्त्री बनाएको छ ।
एमालेबाट मन्त्री हुनेमा पोलिटव्यूरो सदस्य अरुण नेपाल, रामेछापका कैलाश ढुंगेल र चितवनका दावादोर्जे लामा छन् । नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढुंगेल अर्थ तथा योजना मन्त्री बन्ने भएका छन् ।
एमालेका दावा दोर्जे लामाको भने मन्त्रालय तय भएको छैन । सामाजिक मामिला वा कृषि तथा सहकारीमध्ये एक मन्त्रालय माओवादीलाई दिएर अर्को लामाले पाउनेछन् । एमालेबाट यसअघि केशव स्थापित भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् ।