सिरियालाई उत्तर कोरियाको रासायनिक हतियार सहयोग

काठमाडौं । उत्तरकोरियामाथि सिरियालाई रासायनिक हतियार निर्माणमा प्रयोग हुने उपकरण सहयोग गरेको आरोप लागेको छ । सिरियाको गुटालाई विद्रोहीको नियन्त्रणबाट मुक्त गर्ने नाममा क्लोरिन ग्यासबाट समेत आक्रमण भइरहेका बेला उत्तरकोरियामाथि यस्तो आरोप लागेको हो ।
संयुक्त राष्ट्रसंघका विज्ञहरुको अनुसन्धान प्रतिवेदनमा उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार निर्माणमा प्रयोग हुने उपकरण तथा कच्चापदार्थ उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
बीबीसीले अमेरिकी सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै लेखेको समाचारमा उत्तर कोरियाले रुसमा पठाएको सामग्रीहरुमा एसिड प्रतिरोधी टाइल्स, रक्षाकवच र पाइप भएको उल्लेख छ ।
न्यूयोर्क टाइम्सले अहिलेसम्म सार्वजनिक नगरिएको यूएन रिपोर्टको हवाला दिँदै प्योङयाङ्सका मिसाइल विशेषज्ञ सिरियाको हतियार निर्माण सुविधामा संलग्न देखिएको दाबी गरेको छ ।
सिरियन फोर्सले क्लोरिन ग्यास प्रयोग गरेपछि यस्तो आरोप बाहिरिएको बीबीसीले जनाएको छ ।