देउवा बिरुद्ध पौडेल,शशांक,धनराज,गगन थापादेखि प्रदीप पौडेलसम्म …

काठमाडौं, १६ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा इच्छा देखाएपछि उनलाई रोक्न रामचन्द्र पौडेल पक्षले तीव्र दबाब दिइरहेको छ । सोमबार आफ्नो निवासमा सांसदहरूलाई चियापान गराएका पौडेलले मंगलबार महामन्त्री डा.शशांक कोइराला निवासमा भेला आयोजना गरेका थिए ।
महामन्त्री शशांकले बुधबार होलीको अवसरमा कांग्रेसका सबै सांसद र पदाधिकारीलाई आफ्नो घरमा लन्च मिटिङ राखेका छन् । मंगलबारको भेलामा देउवालाई रोक्न के कसरी दबाब दिने भन्ने विषयमा छलफल भएको थियो । सहमतिमै भए दलको नेतामा डा.शशांकलाई अघि सार्ने, यदि सहमति नजुटे निर्वाचन हुने अवस्था आए प्रकाशमान सिंहलाई उठाउने पौडल पक्षमा सहमति भएको छ ।
पौडेल पक्षले देउवालाई दलको नेतामा रोक्न गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङ, कल्याण गुरुङलगायतका युवा नेताहरूलाई अघि सारेको छ । यी युवा नेतामध्ये थापा मात्र सांसद हुन् । तर, पनि उनीहरूले देउवालाई दलको नेता नबन्न दबाब दिन छाडेका छैनन् ।