नवीना लामाको १४ वर्ष लामो प्रेमसम्बन्ध,आउँदो वैशाखमा विवाह गर्दै

अनेरास्ववियुकी अध्यक्ष नवीना लामा विवाह बन्धनमा बाँधिने तय भएको छ । अनेरास्ववियुकै पूर्वकेन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेमसम्बन्धलाई नवीनाले वैशाखको पहिलो साता विवाहमा परिणत गर्न लागेकी छिन् । काभ्रे, मादनकुँडारीकी नवीना तथा काभ्रे, पाँचखालका प्रवीणबीच फागुनको दोस्रो सातामा नै विवाह हुने कुरा तय भएको थियो, तर अन्तिम समयमा नवीनाका हजुरबुवाको निधन भएपछि उनीहरूको विवाह वैशाखमा सारिएको हो ।
विवाहका लागि दुवै पक्षका आफन्त तथा नातागोताहरू भेला भैसकेका थिए, प्रवीणले सँग भने, ९ गते बिहान पारिवारिक भेटघाट गर्ने र दिउँसो आर्मी अफिसर्स क्लबमा जनवादी विवाह गर्ने कार्यक्रम तय भैसकेको थियो । त्यसका लागि पार्टी अध्यक्षदेखि सबै नेता तथा उच्च अधिकारीहरूलाई निमन्त्रणा गरिसकिए पनि अन्तिम अवस्थामा विवाह स्थगित गर्नुपर्यो । प्रवीणले आफन्तको निधन भएपछि ४९ दिनसम्म नवीनाको परिवारमा शुभकार्य गर्न नहुने भएपछि अन्तिम समयमा विवाह सार्नुपरेको कुरा बताए ।
एउटी १६ वर्षीया युवती काभ्रेको कोसीपारीबाट पढ्न भनेर काठमाडौं आउँछिन् । एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं भित्रिएकी उनमा राजनीतिक चेत गाउँमै भरिइसकेको हुन्छ । अर्का एक १६ वर्षीय युवा पनि त्यही समयमा काभ्रेको पाँचखालबाट काठमाडौं भित्रिन्छन् । एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्न काठमाडौं आए पनि दुवैका आ–आफ्नै सपना, रुचि एवं लक्ष्य हुन्छन् ।
युवती म्यानेजमेन्ट पढ्न बानेश्वर क्याम्पसमा भर्ना हुन्छिन् । युवकको रोजाइमा पनि त्यही क्याम्पस पर्छ, तर उनले आटर््स रोज्छन्् । भनिन्छ, जीवन संयोगहरूको संग्रह हो । ठ्याक्कै त्यही संयोग उनीहरू दुवैको जीवनमा आइपर्छ । संयोगको कारण बन्छ— राजनीति । संयोगले जोडिएका ती दुई युवा हुन्— अनेरास्ववियुकी अध्यक्ष नवीना लामा तथा पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठ ।
‘२०५६ सालतिरको कुरा हो, हामी त्यतिबेला एउटै ब्याचका विद्यार्थी थियौं,’ अहिलेकी सर्वाधिक बोल्ड विद्यार्थी नेतृ लामाले दरबारमार्गस्थित एक क्याफेमा भनिन्, ‘उहाँ एमाले निकट अनेरास्ववियुबाट राजनीति गर्नुहुन्थ्यो, म माले निकट अखिलबाट ।’ त्यतिबेला माले–एमालेबीच सत्रुतापूर्ण सम्बन्ध थियो ।
पछि २०५९ सालमा एमाले र मालेबीच पार्टी एकीकरण भयो । एकतापछि लामो समयसम्म मालेबाट आएकाहरूले एमालेभित्र असमानता बेहोरे । मालेबाट आएकाले केही नेता–कार्यकर्ता नवीनालाई पेल्न खोज्थे, तर माउ पार्टी एमालेकै भए पनि प्रवीणले भने उनलाई हरेक कदममा साथ दिए । प्रवीणको यही सहयोगी भावनाले नवीनालाई उनको नजिक पुर्यायो ।
फरक विद्यार्थी संगठनमा भए पनि राजनीतिक संयोगले जुराइदिएको सम्बन्ध कुनै समय प्रेममा बदलिएला भनेर विद्यार्थी नेतृ लामाले कल्पनासम्म गरेकी थिइनन्, तर त्यही संयोगको डोरी पछि प्रेमसम्बन्धका लागि पुल सावित भयो । २०६० सालमा स्ववियु निर्वाचन भयो, जसमा नवीना सचिव पदमा निर्वाचित भइन् । प्रवीणले त्यतिबेला उपसभापति पदमा जित हासिल गरे । २०६२ सालमा भएको स्ववियु निर्वाचनमा नवीनालाई बानेश्वर क्याम्पसको सभापति बनाउन सबैभन्दा अगाडि थिए प्रवीण । उनको त्यही अग्रसरताका कारण सम्भावना बोकेकी विद्यार्थी नेतृ नवीनाको जीवनमा प्रेमको बिरुवा रोपियो ।
‘१४ वर्ष लाग्यो अब,’ प्रवीणको मानसपटलमा आफ्नो जीवनको सबैभन्दा खुसीको दिन उत्तिकै ताजा छ । यता देशकै सबैभन्दा ठूलो विद्यार्थी संगठन हाँकिरहेकाले होला, नवीना प्रेम सुरु भएको वर्ष ठोकुवा गर्न सक्दिनन् । ‘१४ वर्ष भयो र ?’ उनी प्रवीणकासामु कौतूहलता व्यक्त गर्छिन् । ‘उहाँलाई हिसाब नै गर्न आउँदैन,’ आफ्नी प्रेमिकाको बानी बुझेका प्रवीण भन्छन् । अन्त्यमा नवीना पनि प्रवीणको कुरामा सहमति जनाउँछिन् । ‘उहाँले भनेको ठीकै हो । ०६२/६३ को आन्दोलनपछि चाहिँ हाम्रो प्रेम म्याचुअर्ड भएको हो,’ उनी भन्छिन् ।
अफेयर्स कसरी सुरु भयो ? कसले पहिले प्रस्ताव राख्यो ? हामीले एकसाथ दुईवटा प्रश्न सोध्यौं । दुवैले समान उत्तर दिए— ‘आधुनिक शैलीमा ‘आई लभ यू’ नभनिकनै हामीबीच माया बस्यो ।’ उनीहरू दुवैलाई लाग्छ, माया लागेपछि, माया बसिसकेपछि इसारा र सहकार्य नै पर्याप्त हुन्छ, बनावटी र औपचारिक भैरहनुपर्छ भन्ने छैन । ६० को दशकमा प्रारम्भ भएको यो जोडीको प्रेमसम्बन्ध अहिले १४ वर्षको उकालो हिँडिरहेको छ । यो १४ वर्षको अवधिमा उनीहरूको जीवनमा धेरै कुरा फेरिएका छन् । जस्तो, त्यतिबेला क्याम्पस कमिटीमा रहेकी नवीना संगठनको केन्द्रीय महासचिव, अध्यक्ष छिन् । यता नवीनाका प्रेमी प्रवीण अनेरास्ववियुको केन्द्रीय सदस्यको कार्यकाल समाप्त भएपछि राजनीति छोडेर व्यवसायतर्फ लागेका छन् । नवीनाको राजनीतिक यात्रा बलियो बनाउनकै लागि उनी राजनीतिबाट व्यवसायतर्फ मोडिएका हुन् ।
त्यो बेलाकी चुलबुले नवीना अहिले परिपक्व नेतृ भैसकेकी छिन् । उनी अनेरास्ववियुकै इतिहासमा पहिलो पटक प्रतिनिधिसभा सांसदका रूपमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा छिर्ने अध्यक्षसमेत हुनेछिन् । उमेर, सामाजिक दायरा, जिम्मेवारी एवं शारिरीक दृष्टिकोणले पनि नवीना र प्रवीण दुवै परिपक्व भैसकेका छन् । यी १४ वर्षमा धेरै कुरा फेरिए पनि नफेरिएको केही कुरा छ भने त्यो उनीहरूबीचको माया नै हो । केही क्षणमै प्रेमको समुद्र बन्न खोज्ने र केही समयमै खहरेमा बदलिने आधुनिक प्रेममाझ उनीहरूको यो अफेयर्स निकै प्रेरणास्पद अनि उदाहरणीय छ ।
क्याम्पस सभापति हुँदा नवीनाका लागि प्रवीण जस्ता थिए, अहिले पनि त्यस्तै छन् । क्याम्पसका सुरुवाती दिनमा प्रवीणलाई बेहिसाब मन पर्ने सोझी नवीना, अहिले पनि उस्तै लाग्छिन् । प्रेमका सुरुवाती दिनहरूमा उनीहरू एक–अर्कालाई जति माया, केयरिङ र सहयोग गर्थे, अहिले पनि त्यसमा कुनै कमी आएको छैन । हामीमा पनि सेलिब्रेटी छविकी नवीना र प्राय: ग्राउन्डमा नदेखिने प्रवीणबीचको सम्बन्ध कसरी यहाँसम्म आइपुग्यो भन्ने कौतूहलता थियो । के थाहा अहिले केही हप्ता, महिना वा वर्षमै छुट्टिने प्रेम वियोगीहरूका लागि सँगै लामो समय सुखमय प्रेम जीवन जिउने र त्यसलाई विवाहजस्तो सुखद् अन्त्यमा परिणत गर्ने फर्मुला पो फेला परिहाल्छ कि ?
प्रवीणको नजरमा : सोझी नवीना :-
प्रवीणलाई नवीनाको सोझोपन खुबै मन पर्छ, तर कहिलेकाहीं कतिसम्म सोझो रूपमा प्रस्तुत हुन्छिन् भने आफू को हुँ भन्नेसम्म पनि ख्याल गर्दिनन् । ‘मान्छे यति माथि पुगिसकिन् तर सधैं स–साना कुरामा गाइड गरिरहनुपर्छ,’ प्रवीण भन्छन्, ‘विशेष गरी खानपान र समय व्यवस्थापनमा बढी केयर गर्नुपर्छ ।’ उनलाई नवीनाको अर्को मन पर्ने कुरा भनेको सहयोगी भावना हो । नवीना जसलाई पनि आफूले गर्न सक्ने सहयोगका लागि सदैव तयार हुन्छिन् । त्यसैले त उनको वरिपरि सधैं कार्यकर्ताहरूको ठूलो भीड देखिन्छ । जसलाई जति सहयोग गर्न सक्छिन्, हरसमय तयार हुन्छिन् । प्रवीणलाई नवीनाको अर्को मनपर्ने बानी हो— सबैलाई रेस्पेक्ट गर्ने । उनी कसैलाई पनि सानो–ठूलो भनेर भेदभाव गर्दिनन् । यति हुँदाहँुदै पनि प्रवीणको नजरमा नवीनामा केही कमी–कमजोरी समेत छन् । त्यसमध्ये सबैभन्दा पहिले उनले सुधार गर्नुपर्ने कुरा हो अर्कालाई कुराउने बानी । ‘यो कुराउने बानीका कारण हामी बीच कतिपटक त बाझाबाझ नै भएको छ ।’ प्रवीण रिसाए, ‘मलाई मात्र होइन, जोसुकैलाई पनि कुराउने बानी छ ।’ त्यसबाहेक कहिलेकाहीं अनावश्यक कुरामा किचकिच गर्ने, फोन नउठाउने र स–साना कुरामा शंका गरीहाल्ने नवीनाको बानी प्रवीणलाई पटक्कै मन पर्दैन ।
‘प्रेममा शंका र विश्वास दुवै हुन्छ । जबसम्म विश्वासले शंकालाई जित्छ, प्रेमसम्बन्धमा कुनै गडबडी आउँदैन,’ नवीना गम्भीर भइन्, ‘विश्वास र एक–अर्काबीच उत्पन्न विवाद हल गर्ने अग्रसरता दुवैमा भयो भने त्यसले सम्बन्धलाई दिगो र बलियो बनाउँछ ।’ नवीनाको कुरा नसकिँदै प्रवीणले थपे, ‘सम्बन्धलाई निरन्तरता दिने कुरामा केन्द्रित रहने व्यवहार चाहिन्छ भने अपेक्षाविहीन सम्बन्ध बढी टिक्छ । प्रतिफल खोजिहाल्ने कुराले पनि सम्बन्धलाई बलियो हुन दिँदैन ।’
त्यसो भए के यो अवधिमा उनीहरूबीच कुनै झगडै भएन ? होइन, १४ वर्षको लामो प्रेमयात्राका क्रममा उनीहरू थुप्रै पटक झगडिए, कैयांै दिनसम्म बोलेनन् । अझ रोचक त के भने शंकाकै कारण २०७० सालमा भएको एक झगडापछि उनीहरूबीच झन्डै एक वर्षसम्म शंका उपशंकामा रूमलिए । ‘उनी ममाथि बढी शंका गर्छिन्,’ प्रवीण भन्छन्, ‘प्रेममा सधै शंका मात्र गरेर कहीं पुग्न नसकिने कुरा उनले बुझेकी पनि छिन् । त्यही कारणले लामो समय हाम्रो बोलचाल बन्द भए पनि अहिले फेरि हामी सँगसँगै छौं ।’
कहिलेकाहीं सामान्य कुरामा पनि उनीहरूबचि मनमुटाव भएका उदाहरण प्रसस्तै छन् । कहिलेकाहीं त कसरी हिँड्ने, बस्ने जस्ता कुराले पनि उनीहरूबीच खटपट नभएको होइन । यद्यपि लामो यात्राका क्रममा यी सामान्य कुरा हुन् । सबैभन्दा ठूलो कुरा समझदारी हो । ठाकठुक पर्दा त्यसलाई मिलाउने इनिसेसन प्राय: नवीना आफैं लिन्छिन् । ‘उहाँ अलि बढी जिद्दी हुनुहुन्छ ।’ उनी भन्छिन् ‘छोरी मान्छेको मन प्राकृतिक रूपमै कमलो हुन्छ ।’
जेलपछि दिवाना
०६३/६३ को जनआन्दोलन सुरु भैसकेको थिएन । राजाको प्रत्यक्ष शासनका विरुद्ध विद्यार्थीहरू आन्दोलनको बीउ रोप्दै थिए । बानेश्वर क्याम्पस स्ववियुको नेतृत्व नवीनाको काँधमा थियो । प्रवीण प्राय:जसो नवीनासँगै हुन्थे ।
आन्दोलन चर्कंदै गएपछि प्रहरीले नवीनालाई पक्राउ गरी हिरासतमा राख्यो । नवीनाको प्रेममा परिसकेका प्रवीणलाई सहिनसक्नु भयो । प्रेमिका पक्राउ परेको त्यसमाथि पक्राउ पुर्जीबिना । उनी सीधै हान्निए तीनकुनेस्थित प्रहरी वृत्त । ‘युवा जोस, त्यसमाथि प्रहरीले पक्राउ पुर्जीबिना पक्राउ गरेको थियो ।’ उनी सम्झन्छन्, ‘मैले किन पक्रिएको मात्र के भनेको थिएँ । प्रहरीहरू मैमाथि खनिएर कुट्नुसम्म कुटे ।’ त्यहाँबाट नवीनालाइ भक्तपुरको खरिबोट पुर्याइयो । नवीना खरिबोट पुगेपछि प्रवीण प्रत्येक दिन खाना र नास्ता लिएर त्यहीँ पुग्थे । नवीनालाई पाँच दिन त्यहाँ राखेर अन्तत: रिहा गरियो ।
नवीनाको नजरमा : इमान्दार प्रवीण :-
नवीनालाई प्रवीणको सबैभन्दा मन पर्ने कुरा हो— इमान्दारिता । प्रवीण चाहिएको बेला आफ्नो विचार गहकिलो ढंगले व्यक्त गर्ने कलामा पोख्त छन् । उनी अनावश्यक कुरामा चासो राख्दैनन् र बोल्दैनन् पनि । अनावश्यक खर्च नगर्ने, सामान्य जीवन बिताउन चाहने प्रवीणको स्वभाव पनि उनलाई उत्तिकै मन पर्छ । ‘सबैभन्दा मन पर्ने कुरा त मलाई उहाँ अति माया गर्नुहुन्छ,’ नवीना भन्छिन् ‘उहाँको सादगीपन पनि मन पर्छ ।’ चिटिक्क परेर नहिँड्ने प्रवीणको बानी भने नवीना रुचाउँदिनन् । नवीनाको विचारमा प्रवीणले सबैभन्दा पहिले सुधार गर्नुपर्ने कुरा आफ्नै केयर हो । ‘उहाँ आफैंले आफ्नो केयर गर्नु हुन्न ।’ नवीना भन्छिन्, ‘अरूको चिन्ता पनि कम लिनुहुन्छ ।’ विवाहपछि मनमा कुरा गुम्स्याएर राख्ने, जिद्दी स्वभाव एवं व्यक्तिकेन्द्रित निर्णय लिने प्रवीणको बानी सुधार्न प्रयास गर्ने नवीनाको सोचाइ छ ।
पहिलो पटक पक्राउ परेको केही दिनपछि नै आन्दोलनकै क्रममा नवीना फेरि पक्राउ परिन् । त्यतिबेला उनलाई प्रहरी तालिम केन्द्र महाराजगन्जमा राखिएको थियो । त्यहाँ पनि प्रवीण दैनिक खाजा र खाना लिएर पुग्थे । यतिबेलासम्म प्रवीण नवीनाको दिवाना भैसकेका थिए । प्रवीणले आफ्नो हेरविचारमा दिएको समय र देखाएको लगावका कारण नवीना पनि मोहित भैसकेकी थिइन् । ‘जब म जेल परें, त्यतिबेला उहाँले जुन सहयोग गर्नुभयो त्यो देखेर मलाई लाग्यो, अबचाहिँ हाम्रो प्रेम म्याचुअर्ड भएछ,’ प्रवीणतिर पुलुक्क हेर्दै नवीनाले भनिन्, ‘तपाईंलाई के लाग्छ ?’
त्यतिबेला उनीहरूको प्रेम सम्बन्धका विषयका अनेरास्ववियुका नगन्य व्यक्तिमात्र जानकार थिए । केही समयपछि मिडियामा पनि उनीहरूको प्रेमसम्बन्धको गाइँगुइँ हुन थाल्यो । यो चर्चा नवीना र प्रवीणका अभिभावकहरूसम्म पनि पुग्यो ।
त्यतिबेला घरमा परिवारका जेठा छोरा प्रवीणको विवाहको कुरा चल्न थालिसकेको थियो । नवीनासँग डेट गरिरहेका प्रवीणले घरको वैवाहिक प्रस्ताव स्वीकार गर्ने कुरै थिएन, बरु उनले आफ्नो प्रेम सम्बन्धका विषयमा घरमा जानकारी गराए । ‘त्यसपछि घरबाट विवाहको कुरै आएको छैन,’ ३४ वर्षीया प्रवीण हौसिए । प्रेम म्याचुअर्ड भएपछि २०६७ तिर यो जोडीले विवाह गर्ने निर्णय लियो, तर विवाहका लागि नवीनाको सर्त थियो— उनी अनेरास्ववियुको अध्यक्ष भएपछि मात्र । त्यसमा प्रवीणको असहमति थिएन । त्यसैले उनी नवीनाको राजनीतिक यात्रालाई बलियो बनाउँदै व्यापारमै केन्द्रित भए ।
सन् २०१६ मा भएको २२ औं महाधिवेशनबाट नवीना दोस्रो महिला अध्यक्षका रूपमा अनेरास्ववियुको नेतृत्वमा पुगिन् । नवीनालाई अध्यक्ष बनाउने अभियानमा अग्रपंक्तिमा रहे— प्रवीण । ‘मैले उहाँलाई अध्यक्ष बनाउन ब्याकफोर्समा रहेर काम गरे,’ उनले भने । अध्यक्षमा जितेपछि नवीना पनि विवाहका लागि तयार भएकी छिन् । अहिले उनीहरू आफ्नो १४ वर्ष लामो प्रेमसम्बन्धलाई वैवाहिक रूप दिने अन्तिम तयारीमा छन् । ‘परिवारको सल्लाह होइन, हाम्रो आफ्नै सल्लाहमा विवाह गर्ने पक्का भएको छ’ नवीनाले भनिन्, ‘अध्यक्ष भएपछि विवाह गर्ने भनेको, कार्यकाल नसकिँदै वचन पूरा हुने भयो । हामी बैशाखमा विवाह गर्दैछौं ।’
राजनीति र व्यापारमा रमाइरहेको यो जोडीका लागि डेटिङ र भेटघाटको समय कसरी जुट्छ होला ?
‘सुरु–सुरुमा राजनीतिक कार्यक्रममा सँगसँगै हिँड्दा टाढा भएको महसुस भएन, मतलबै भएन, राजनीतिक कामहरूले नै डेटिङको समय लिएँ,’ नवीना डेटिङसम्बन्धी प्रश्नमा अलि रोमान्टिङ देखिइन्, ‘अहिले समय मिल्यो कि घुमघाममा निस्किहाल्छौ ।’
चुजी स्वभावकी नवीना सपिङ पनि उत्तिकै रुचाउँछन् । बेला–बेलामा उनलाई लिएर सपिङमा निस्कन्छन् प्रवीण, तर उनलाई सपिङमा लामो समय बिताउने नवीनाको शैलीले बोर बनाउँछ । त्यसबाहेक नवीना राजनीतिक कामहरू छल्दै नयाँ ठाउँको घुमघामका लागि पनि सुटुक्क बाहिर निस्कन्छिन् । ‘ड्रेसअपमा पनि चुजी छिन्, सार्वजनिक व्यक्तित्व भएपछि त्योचाहिँ हुनै पर्छ,’ प्रवीणले नवीनाको ड्ेरसिङ सेन्सका सम्बन्धमा भने । उनीहरू जोडी बाँधेर फिल्म हलसम्म पनि पुग्छन् ।
उनीहरूबीच उपहार पनि आदान–प्रदान हुन्छ । प्रवीण बर्थ डे, न्यु इयरजस्ता अवसर छोपेर नवीनालाई खुसी तुल्याउन उपहारहरू दिन्छन् । त्यसो भए नवीनालाई अहिलेसम्म सबैभन्दा मन परेको गिफ्ट के हो त ? ‘सबै गिफ्ट विशेष हुन्छन्,’ नवीना भन्छिन्, ‘मलाई एउटा बर्थ डेमा एउटा चेन गिफ्ट दिनुभएको थियो, त्योचाहिँ विशेष लाग्छ ।’ प्रवीण पनि नवीनाका हरेक गिफ्टले आफूलाई विशेष अनुभूति गराउने कुरा बताउँछन् । ‘गिफ्ट भनेकै मायाले दिने हो, मूल्य कम बढी होला तर महत्व उत्तिकै हुन्छ ।’ कान्तिपुर साप्ताहिकबाट साभार |