सर्लाहीमा प्रदेश नं. २ सर्बाधिक ठुलो धनराशीको दोस्रो राजर्षिजनक कप फुटबल प्रतियोगिता हुने

-राजु तामाङ
फागुन १४ सोमबार। प्रदेश नं. २ कै सर्वाधिक ठुलो धनराशी रहेको दोस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिता यही चैत्र ८ गते बाट सुरु हुने भएको छ। सर्लाहीमा रहेको मेरो मनको ज्योती बागमती युवा क्लब को आयोजनामा हुन लागेको दोस्रो संस्करणको प्रतियोगिता बागमती स्थित बागमती सिंचाइ आयोजनाको खेलमैदानमा हुने भएको छ। क्लबले सोमबार सिता प्यालेस होटलमा पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको र खेल सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको क्लब का अध्यक्ष किस्मत मैनालीले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको हो।
नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्रको ए.पि.एफ. र राष्ट्रिय ए डिभिजन टिमका मनाङमर्स्याङदी क्लब,थ्री स्टार क्लब, सि.एम.जी संकटा, जवलखेल युथ क्लब,आयोजक सर्लाही ११, एफ.सि.मुम्बई र ड्रङ्क स्टार सहित १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रदेश नं. २ कै गौरव बोकेको प्रतियोगितामा विजय हुने टिमले राजर्षि जनक कप र नगद ५ लाख र उप बिजेताले नगद ३ लाख पाउने छ्न। त्यस्तै खेल अवधि भरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडी लाई २ लाख ५० हजार मुल्य बराबरको बाईक र अरु तीन खेलाडीलाई जनही ३३ हजार मुल्य बराबरको मोबाईल सेट प्रदान गर्ने जानकारी गराईएको छ।
जिल्ला फुटबल संघ सर्लाहीका अध्यक्ष ठाकुर बहादुर सुस्लिङको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा पुर्ब सांसद नरेन्द्र साहले प्रतियोगिताको पुरस्कारको लागि करिब चार लाखको लागतमा चाँदी तथा सुनको जलप लगाई बनाईएको २० किलोग्राम तौल रहेको कप क्लबका अध्यक्ष मैनालीलाई हस्तान्तरण गर्नु भएको थियो।
कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान क्लब का पुर्ब अध्यक्ष रेवती पन्त लगायतको उपस्थिति रहेको थियो। सर्लाहीलाई प्रदेश नं. २ को राजधानी बनाउन विभिन्न पार्टी संघ संस्था लगायत बुद्धिजीवी राजनीतिक व्यक्तित्वहरुको केन्द्रसँग लबिङ भैरहेको बेला प्रदेश नं. २ कै ऐतिहासिक महत्त्व सँग जोडिएको यस्तो खेलको आयोजनाले सर्लाहीलाई प्रदेशको राजधानी बनाउन एउटा गतिलो माध्यम पनि भएको कुरा अथितिहरुले व्यक्त गरेका थिए।