प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयको जिम्मेवारी सुम्पेका अर्थमन्त्री डा. युवराज खतिवडा को हुन् ?

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा फेरि अर्काे ‘सरप्राइज’ दिएका छन् । पूर्वगभर्नर युवराज खतिवडालाई अर्थमन्त्रालयको जिम्मेवारी सुम्पेर प्रधानमन्त्री ओलीले सबैको अनुमानलाई फेल गराइदिएका छन् ।
सोमबार बिहानसम्म अर्थमन्त्रीका लागि एमालेबाट महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीको बढी चर्चा थियो । यद्यपी, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि अर्थमन्त्रीमै दोहोरिने चाहानामा थिए । उपमहासचिव बिष्णु पौडेल पनि अर्थमै दोहोरिन चाहन्थे । तर, प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा ‘राजनीतिक’ भन्दा पनि ‘आर्थिक’ पृष्ठभूमिका मान्छेलाई अर्थमन्त्रालयको बागडोर सम्हाल्ने जिम्मेवारी दिएका छन् ।
खतिवडालाई सरकारले गएको ८ गते राष्ट्रियसभा सदस्य बनाएको थियो । सरकारले राष्ट्रियसभा सदस्य बनाएका खतिवडासहित तीन जनाविरुद्ध सर्वाेच्चमा परेको रिटमा आइतबार मात्र सुनुवाई भएको थियो । अदालतले उनीहरुलाई राष्ट्रियसभा सदस्यको सपथ नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् । तर, उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सामान्यतया राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई नै अर्थमन्त्री बनाउने प्रचलन छ । तर, देशको अर्थतन्त्र सुधारका लागि योग्य र क्षमतावान व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मा दिनुपर्ने बाध्यात्मक स्थिती भएकाले प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीका रुपमा रोजेको हुनसक्ने अनुमान गरिएको छ। यसरी एमालेका वरिष्ठ नेताहरुलाई पछि मात्रै खतिवडा अर्थमन्त्री बन्ने भाग्यमानी बनेका छन् ।
खतिवडा नै अर्थमा किन ?
पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका खतिवडा आर्थिक क्षेत्रको गहिरो जानकारी राख्छन् । वित्तिय सुधार, खर्च व्यवस्थापन, संघीयता व्यवस्थापन लगायतका विषयलाई सरक्षित अवतरण गराउनुपर्ने भएकाले पनि खतिवडा प्रधानमन्त्री ओलीको रोजाईमा परेका हुन् ।
खतिवडाले यसअघि योजना आयोगको उपाध्यक्ष र राष्ट्र बैंकको गभर्नर रहँदा थुप्रै सुधारका कामहरु गरेर आफूलाई प्रमाणित गरिसकेका छन् । २०६६ चैत ७ गते गभर्नरमा नियुक्त खतिवडा त्यसअघि पनि योजना आयोगको उपाध्यक्ष थिए । अघिल्लो पटक ओली प्रधामन्त्री हुँदा पनि उनी योजना आयोगको उपाध्यक्ष भएका थिए । २०४१ सालमा राष्ट्र बैंकको जागिरबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका उनी त्यसयता लगातार आर्थिक क्षेत्रमै सक्रिय छन् । सरकारी जागिरमा हुँदाहुँदै पनि पञ्चायतकालमै ०४३ सालमा उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
विस २०१९ सालमा जन्मिएका खतिवडा राजनीतिकरुपमा नेकपा एमालेसँग निकट छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको गृहजिल्ला स्थायी घर भएका खतिवडा पछिल्लो समय ओलीसँग निकट छन् । उनले यसअघिका चुनावमा एमालेको घोषणापत्र लेखनमा समेत महत्वपूर्ण भूमिका खेलेका छन् । एमाले-माओवादी केन्द्रको वाम गठबन्धनले तयार पारेको साझा चुनावी घोषणा पत्र निर्माणमा पनि उनको भूमिका छ । वाम सरकारले आर्थिक सुशासन र समृद्धिको खाका तयार पार्न एमाले उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको समितिमा उनी सदस्य थिए । समितिले केहीदिन अघि मात्र शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइसकेको छ ।
चुनावी घोषणापत्रमा आर्थिक विषया समेट्ने तथा आर्थिक सुशासन र समृद्धिको खाका तयार पार्ने समितिमा रहिसेकका खतिवडा अब आफैले लेखेका विषयमा कार्यान्यवन गर्ने ठाउँमा पुगेका छन् । यसले पक्कैपनि देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिन सकिन्छ । प्रधानमन्त्री ओलीले घोषणा गरेको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल बनाउन पनि खतिवडालाई प्रम ओलीले सारथी बनाएको उनी निकटहरु बताउँछन् ।
संघीयता कार्यान्वयनसँगै मुलुकको अर्थतन्त्रमाथिको प्रश्न सुरु भएको छ । पुस मसान्तसम्म देश ६ अर्ब ६६ करोड रुपैयाँ शोधनान्तर घाटामा छ । त्यो चुनौतीलाई पार गर्न पनि खतिवडा उत्तम विकल्प भएको प्रम ओली निकट स्रोतको दाबी छ ।
एमाले बनाउन जीवनभर रगत र पसिना बगाएर नेताहरुलाई पाखा लगाएर अर्थमन्त्रीको चिट्ठा’ प्राप्त गरेका खतिवडाले प्रधानमन्त्री ओलीको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानलाई सफल बनाउन कस्तो भूमिका खेल्छन् र कति सफल बनाउँछन् त्यो उनको कार्यकालले बताउने नै छ । त्यसका लागि भने केही समय पर्खनैपर्ने हुन्छ ।
को हुन खतिवडा ?
डा. युवराज खतिवडाको जन्म विस २०१९ सालमा भएको हो । उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् । खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म र २०७२ सालमा नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत भइसकेका छन् ।
यसअघि उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भइसकेका थिए । २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा पनि खतिवडाले काम गरिसकेका छन् ।
खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका थिए । वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका खतिवडाले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण र विकास सम्बन्धित मुद्दा तथा कार्यक्रमहरूको सेमिनारमा भाग लिएका छन् ।
उनले वि.सं.२०५० मा महेन्द्र विद्या भूषण तथा वि.सं.२०५७ सुप्रबल गोर्खा दक्षिण बाहु प्राप्त गरेका थिए । दैनिक नेपालबाट |