धरान उपमहानगरपालिकामा लिम्बु भाषामा निवेदन पेस,सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न माग

धरान – मातृभाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न माग गर्दै धरान उपमहानगरपालिकामा लिम्बु भाषामा पहिलो पटक निवेदन परेको छ । सिरिजङ्गा अनुसन्धान केन्द्र धरानले लिम्बु भाषा र सिरिजङ्गा लिपिमा मागपत्र बुझाउँदै निवेदन दर्ता गरेको हो ।
आज केन्द्रका सचिव अमित थेवेको नेतृत्वमा धरान उपमहानगरपालिका पुगेको टोलीले नगर प्रमुख तारा सुब्बालाई कार्यकक्षमा भेटेरै पत्र बुझाएको थियो ।सचिव थेवेले भने, ‘यसरी निवेदनहरू दिन सकिए मात्रै राज्यका निकायहरूमा मातृभाषाको व्यावहारिक प्रयोग शुरु हुनेछ ।’
प्रदेश–१ मा लिम्बु भाषीहरू तेस्रो ठूलो सङ्ख्यामा रहेका छन् ।२०६८ को जनगणनाअनुसार १४ जिल्लाको यस प्रदेशमा ७.१ प्रतिशत लिम्बु भाषी समुदायहरू छन् । नेपाली र मैथिलीपछि प्रदेश–१ मा लिम्बु भाषा प्रयोग भइरहेको छ ।
मातृभाषामा परेको निवेदनलाई समुदायको सकारात्मक पहलकदमीका रूपमा लिँदै नगर प्रमुख सुब्बाले निरन्तरता दिन अभियानकर्मीहरूलाई आग्रह गरेका छन् ।
लिम्बु भाषा र सिरिजङ्गा लिपिलाई पहिलो चरणमा लिम्बु बाहुल्य क्षेत्रबाट प्रयोगमा ल्याउन सकिने लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय सदस्य प्रदीप नेयोङले जानकारी दिए ।