आजकाल प्रेममा किन ब्रेकअप बढी हुन्छ ?

मेरो विचारमा अहिलेको पुस्ता करियरलाई अलि बढी महत्व दिन्छ र महत्वाकांक्षी पनि छ । प्रेमी–प्रेमिकाहरूले एक–अर्कालाई भन्दा आफ्ना महत्त्वाकांक्षालाई प्राथमिकता दिँदा सम्बन्धहरू टुट्छन् ।
-दिक्पाल कार्की, अभिनेता
परिपक्व नभै प्रेम गर्नु तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगलाई यसको कारक मान्न सकिन्छ ।
ममता पोखरेल गौतम, गायिका
हिजोआजका प्रेमी–प्रेमिकाहरूसँग एक–अर्कालाई राम्रोसंग बुझ्ने र दिने समय नै छैन । सोसल मिडियाले एक–अर्काको समय खाएको छ । सेलिब्रेटीको नक्कल गर्ने प्रवृत्ति अनि पूरा हुन नसक्ने परिकल्पनाका कारण प्रेमसम्बन्ध ब्रेकअपमा परिणत हुन्छ ।
होम न्यौपाने, गीतकार
महत्वाकांक्षा धेरै हुनु अनि माया–प्रेमको अर्थ नबुझी देखासिकीमा प्रेममा परेजस्तो नाटक गर्नु । यसबाट दुवैतिर असर पर्छ । प्रेमबाट प्रेमी–प्रेमिकाहरू उत्साहित हुनुभन्दा पनि निरुत्साहित भएको बढी
देख्छु म त ।
योजना पुरी, भिजे/गायिका
केटीहरू धेरै सेन्सेटिभ अनि केटाहरू बढी इनरेस्पोन्सिबल भएर हुनसक्छ ।
अभिरुचि बुढाथोकी, अभिनेत्री
अपरिपक्वता र स्वार्थ धेरै भएर हो ।
नरेन खड्का, अभिनेता
सोसल मिडिया नै कारण होला । फेसबुक, इन्स्टाग्राम जस्ता सोसल साइटमा धेरै नै साथी बन्दै जान्छन् । नयाँ साथी, नयाँ मान्छे मन पर्दै जाने क्रममा बिस्तारै आफ्नोसँग असमझदारी बढ्दै जान्छ ।
सरिष्मा अमात्य, गायिका
ब्रेक नलगाइ प्रेम गर्दा पछि बढी ब्रेकअप भएको हो कि ? पैसा, सुख–सयल, वनावटी जीवनशैली आदि कारणले पनि ब्रेकअप हुन सक्छ ।
प्रमोद खरेल, गायक
माया–प्रेमका अगाडि पैसा आयो भने अनि इच्छा चाहना दबियो भने माया–प्रेमकै हत्या हुन्छ ।
सुलेमान शंकर इकु, अभिनेता
हिजोआजको माया–प्रेममा एक्सपेक्टेसन हाई हुन्छ । हिजोआज मनदेखि माया गर्नुभन्दा पनि मायाको व्यापार गरिन्छ । जब मायाको ब्यापारमा घाटा हुन्छ जस्तो लाग्छ, त्यहींबाट त्यो माया ब्रेकअपतिर जान्छ ।
नीलडेविड कटवाल, हेयरस्टाइलिस
मानिसहरूलाई निर्णय लिन हतार हुन्छ । जो ठिक लाग्यो, उसैसँग कुरा अघि बढाउँछन् अनि पछि गएर विचार मिल्दैन । समय र आफ्नो महत्व नबुझ्दा ब्रेकअपको क्रम बढेको हो । यद्यपि प्रेम विवाह गरेर डिभोर्स हुनुभन्दा त ब्रेकअप नै ठीक ।
बीपी वाग्ले, गायक
प्रेमको महत्व र अर्थ नबुझी आकर्षणलाई नै प्रेम मान्दा अनि त्यसलाई फेसनका रूपमा प्रयोग गर्दा नै ब्रेकअप हुन्छ । प्रेम गर्नेहरूले प्रेम हाम्रो जीवनको आधार हो भन्ने कुरा नबुझेसम्म ब्रेकअपमा कमि आउँदैन ।
जानुका पौडेल, अभिनेत्री
आधुनिक युगका प्रेमि–प्रेमिकाहरू आत्मनिर्भर हुन्छन् । उनीहरूसँग एक–अर्काको कुरामा सम्झौता गर्ने समय पनि हुँदैन । बरु आ–आफ्नो सोचअनुसार नयाँ प्रेमी–प्रेमिका खोजी गर्नु राम्रो हो भन्ने सोच बढेकाले होला अचेल ब्रेकअप गर्ने प्रचलन बढेको ।
शुभेच्छा थापा, अभिनेत्री
एक–अर्कामा माया, विश्वास अनि सहमति नभएर यस्तो भैरहेको हुनुपर्छ ।
मञ्जु कार्की पाण्डे, ब्युटिसियन
आपसी विश्वास कम हुने भएकाले अहिलेका केटा–केटीहरूको एउटा मात्र गर्लफ्रेन्ड र एउटा मात्र ब्वाइफ्रेन्ड हुँदैनन् । केही समयपछि यो कुरा एक–अर्कालाई थाहा हुन्छ अनि हुन्छ ब्रेकअप ।
सुनिल रावल, चलचित्रकर्मी
समझदारीको कमि तथा हरेक कामका लागि हतार अर्थात् जे पनि छिट्टो, इन्स्ट्यान्ट नूडल टाइपको रिजल्ट चाहिन्छ अहिलेका मानिसहरूलाई । त्यसैले पनि ब्रेकअप छिटो र धेरै भैरहेको छ ।
सम्झना उप्रेती रौनियार, निर्देशक
एक–अर्काबीचको असमझदारी नै ब्रेकअप बढ्ने मुख्य कारण हो ।
मिलन श्रेष्ठ, गायक
माया मन बहलाउने वस्तु भएको छ । त्यसैले पुरानोसँग बोर लागेर र नयाँ मन परेर ब्रेकअप हुन्छ । बहाना जे पनि हुन सक्छ ।
विशाल भण्डारी, निर्देशक
प्रेम सस्तिदै गयो, प्रेमको मूल्य घट्दै गयो, बिश्वास मर्दै गयो । प्रविधि सदुपयोगका लागि हो तर तन्नेरीहरूले दुरुपयोग बढी गर्न थाले । प्रेममा पनि व्यवसायिकता फस्टाउन थाल्यो । पैसा भइन्जेल वाह, सकिएपछि छ्या भन्ने अवस्थाको प्रेम मनोविज्ञान सुरु भयो । प्रेममा त्याग, समर्पण, संघर्ष, बलिदान, निष्ठा र धैर्यको स्थान डगमगाउनु, त्यसको अवशेष मात्र बाँकी रहने अवस्था सिर्जना हुनु, आपसी विश्वास हराउनु आदि प्रेम असफल हुनुका कारण हुन् । यसो भन्दा सच्चा प्रेम गर्नेहरूप्रति अन्याय हुन सक्छ तर प्रेमको परिभाषा नाटकिय रुपमा बदलिँदै गएको चाहिँ सत्य हो ।
टीका भण्डारी, संगीतकार
अहिलेको माया–प्रेम फेसन जस्तो भैसकेको छ । यसले गर्दा प्रेमि–प्रेमिकाबीच स–साना कुरामा असमझदारी बढेको देख्न पाइन्छ । यसबाहेक प्रेम गर्ने जोडीहरूमा कोभन्दा को कमको भावना बढ्नु पनि ब्रेकअपको कारण हुन सक्छ ।
सञ्जीप प्रधान, गायक
एक–अर्कामा विश्वास र सम्मानको कमिका कारण बढी ब्रेकअप हुन्छ ।
सुभाष प्रधान, संगीतकर्मी
जहाँ माया हुन्छ, त्यहाँ शंका पनि हुन्छ भनिन्छ तर मायामा शंका हावी हुँदा ब्रेकअप पनि भैरहेको पाइन्छ । प्रेममा सम्झौता पनि जरुरी छ । त्याग गर्न जान्नु पर्छ । ईमान्दार हुनुपर्छ । समझदारी कायम हुनुपर्छ । यी कुराको कमी भयो भने ब्रेकअप निश्चित छ ।
पूजा गुरुङ, गायिका
सबैको आ–आफ्नो स्थानमा अहम् भुमिका र महत्व हुन्छ तर प्रेम सम्बन्धहरू टुट्नुको कारण मलाइ उसले बुझिदियोस्, उसले बोलाओस्, उसले समय देओस् भनेर एउटाले सोच्ने र अर्कोले पनि मलाई उसले बुझिदियोस्, उसले सबै कुरा गरोस् भन्ने सोच्ने तर आपसी तालमेल तथा सहजता नहुने । अर्को कुरा महत्वाकांक्षाका कारण पनि सम्बन्ध टुट्छ कि ?
शान्तिम कोइराला, गायक