मेरो बेस्ट फ्रेण्ड पुष्प खड्का हो , सुख–दु:खमा साथ पाएको छु – नायिका शिल्पा पोखरेल

लामो समय म्युजिक भिडियोमा बिताएर चलचित्रमा उदाएकी अभिनेत्री हुन्–शिल्पा पोखरेल । झन्डै दुई सयवटा म्युजिक भिडियोमा अभिनय गरेपछि शिल्पाले चलचित्र लज्जामार्फत रजतपटमा डेब्यू गरेकी हुन् । पहिलो चलचित्रबाटै दर्शकको मन जित्न सफल शिल्पाले छोटो समयमै झन्डै आठवटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । प्राय: नारी प्रधान चलचित्रमा अभिनय गर्ने शिल्पालाई दर्शकहरूले हवल्दार सुन्तली, फागु, वृन्दाबन, किस्मत–२, भिलेन, वीरंगना जस्ता चलचित्रमा देखिसकेका छन् । फागुन २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मंगलम’ को प्रचार–प्रसारमा सक्रिय शिल्पा यो चलचित्रको प्रदर्शन लगत्तै चलचित्र ‘मन्द–मन्द’ मा सक्रिय हुनेछिन् । शिल्पाले साप्ताहिकमार्फत आफ्ना बेस्ट फ्रेण्डहरूका बारेमा यसरी जानकारी गराएकी छिन् ।
पुष्प खड्का
अभिनेता पुष्प खड्कासँग मेरो पहिलो भेट झन्डै पाँच वर्षअघि म्युजिक भिडियोको छायांकनका क्रममा भएको हो । हामीले थुप्रै भिडियोमा सँग–सँगै काम गरेका छौं । भने पुष्पसँग मैले चलचित्र मंगलममा अभिनय गरेकी छु । यो क्रममा पुष्प मेरो एउटा बेस्ट फ्रेण्ड बनिसकेको छ । उसले मलाई हरेक सुख–दु:खमा साथ दिइरहेको छ । एउटा साथीका रूपमा म उससँग कुनै पनि कुरा लुकाउँदिन, उसले पनि मसँग आफ्ना अधिकांश कुरा शेयर गर्छ ।
सम्झना उप्रेती रौनियार
म उहाँलाई साथीभन्दा पनि भाउजू भनेर सम्बोधन गर्छु । यद्यपि उहाँ मेरो साथी जस्तै हुनुहुन्छ । साथी मात्र होइन बेस्ट फ्रेण्ड नै । सानाभन्दा साना कुरासमेत उहाँसँग शेयर गर्न मन लाग्छ । हामी चलचित्र फागुको छायांकनदेखि नजिकिएका हौं ।
छविराज ओझा
छविराज ओझालाई मैले अभिभावकका रूपमा समेत लिएकी छु, यद्यपि उहाँ मेरो बेस्ट फ्रेण्डमध्ये एक हुनुहुन्छ । सानादेखि ठूलासम्म निर्णयमा म उहाँसँगै सल्लाह लिन्छु । उहाँकै प्रेरणाले चलचित्रमा स्थापित भएकाले पनि मैले उहाँलाई आफ्नो नजिकको साथीका रूपमा लिएकी छु ।
पृथ्वीराज प्रसाईं
अभिनेता पृथ्वीराज प्रसाईंसँग मेरो पहिलो भेट चलचित्र किस्मत–२ को छायांकनका क्रममा भएको हो । उक्त चलचित्रमा हामीले जोडीका रूपमा अभिनय गरेका छौं । चलचित्र मंगलमसम्म आइपुग्दा हामी असल साथी भैसकेका छौं । हाम्रो पारिवारिक जमघटदेखि विशेष समारोहहरूमा पृथ्वीको उपस्थिति अनिवार्य जस्तै हुन्छ ।
एलिजा सिलवाल
उनी मलाई सबैभन्दा मनपर्ने हेयर डिजाइनर समेत हुन् । केश विन्यासका क्रममा डेढ वर्षअघि एलिजासँग मेरो भेट भएको हो । उनी एक कुशल हेयर डिजाइनर हुनुका साथै असल व्यक्तिसमेत हुन् ।