पत्रकार पिट्ने एनआरएनए कुवेतका अध्यक्ष तामाङले गल्ती भएको स्वीकार्दै पदबाट राजीनामा

काठमाडौँ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले निलम्बन गरी बर्खास्त गर्ने तयारी गरिरहेको बेला एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बुधवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेर विवादमा तानिएका तामाङलाई तत्काल कारबाही गर्न एनआरएनए आससीसीमाथि अन्तर्राष्ट्रिय दबाब परेको थियो ।
घटनामा आफ्नो गल्ती भएको भन्दै तामाङले पदबाट राजीनामा दिएका छन् । घटनाको आफूले नैतिक जिम्मेवारी लिने तामाङले बताए । कुवेतस्थित नेपाली समाजका अगुवाले न्यौपाने र तामाङ पक्षवीच मंगलबार नेपाली दूतावासमा सहमति गराएका छन् । नेपाली समुदायको अनुरोधअनुसार मिलापत्र गरेको अध्यक्ष न्यौपानेले बताएको समाचार कान्तिपुरमा छ |
कुवेतमा घरेलु महिला कामदार ल्याउने धन्दा गरी बसेका सिन्धुपाल्चोकका तामाङले सन २०१५ देखि एनआरएनएको नेतृत्व गर्दै आएका छन् । कुवेतले घरेलु कामदार आपूर्ति कार्यलाई वैधता दिएपनि नेपालमा भने यो अवैध मानिन्छ ।
तामाङको आक्रमणबाट न्यौपानेको नाक, निधार र मुखमा चोट लागेको थियो । घटनास्थलमा अन्य व्यक्तिहरु पनि उपस्थित भएकाले थप अप्रिय घटना हुन पाएन । न्यौपाने कुवेतमा ‘मरुभुमिको कोशेली’ पत्रिका र अनलाइन सञ्चालन गर्दै आएका छन् ।