राष्ट्रियसभामा खतिवडा, विडारी र पौड्याल मनोनित,देउवा सरकारले गरेको सिफारिस फिर्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनित गरेकी छन्। राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा. युवराज खतिवडा (झापा), रामनारायण बिडारी (मकवानपुर) र डा. विमला पौडेल (मोरङ) लाई मनोनित गरेकी हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो।
मन्त्रिपरिषदले अर्थशास्त्री डा. खतिवडा, कानुनविद् बिडारी र अर्थविद् डा. पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. खतिवडा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हुन्। विडारी माओवादी केन्द्रका तर्फबाट पूर्व सभासद् हुन्। डा. पौडेल योजना आयोगकी पूर्व सदस्य हुन्।
५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ८६ उपधारा २ (ख) मा ‘नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना’ राष्ट्रियसभामा रहने व्यवस्था छ।