चर्चाको साटो विवादमा किन तानिन् अभिनेत्री साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जानी–नजानी चर्चाको साटो विवादमा ल्याउने काम हुन थालेको छ । बेलायतको भिसा अस्वीकृत हुनुमा उनको कुनै दोष थिएन, यद्यपि यो प्रसंगलाई राम्रै गसिप बनाइयो । दोस्रो पटकको प्रयासमा उनले भिसा पाइन्, जसको खासै चर्चा गरिएन ।
बेलायतबाट फिलिपिन्स जाने क्रममा साम्राज्ञीले बोल्दै नबोलेको भनिएको कुरालाई पुन: एकपटक गसिप बनाइयो । उनले ‘सपनामा पनि सोच्न नसकेको’ कुरा मिडियामा आउँदा आश्चर्य लागेको उल्लेख गर्दै आफूलाई सहरियामात्र होइन, गाउँले भूमिका निर्वाह गर्न समेत कुनै आपत्ति नभएको बताइसकेकी छिन् ।
त्यसपछि फिलिपिन्समा स्तनको मुन्तिर ट्याटु बनाएको प्रसंगले उनलाई नराम्रो झट्का दियो । ट्याटू बनाउने कलाकारले ट्याटुसहितको तस्बिर सार्वजनिक गरिदिएपछि साम्राज्ञी आलोचित भइन् । साम्राज्ञीलाई आगामी दिनमा यस्ता साना–ठूला विवादमा तान्ने प्रयास अझ हुने गर्दै जाने पक्का छ |