पूर्वराजा ज्ञानेन्द्र भारत जान लाग्दा एयरपोर्टमा राजावादीहरुले राजतन्त्रको पक्षमा नाराबाजी
काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताएका छन्। दुई साता लामो भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले उदाहरण पनि दिन भ्याए- ‘हामीले प्रकृतिबाट पनि सिक्न सक्छौँ। रुखका पातहरु झरे पनि, फेरिए पनि जरा कहिल्यै फेरिन्न।’
‘लोपोन्मुख’ भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूर्व राजा भारतको उडिसा गएका हुन्। उनले भारतमा रहँदा हिन्दुत्वको विषयमा पनि कुराकानी हुने संकेत गरे।
उनलाई विदाइ गर्न समर्थकहरु राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए। समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी पनि गरेका थिए।
यसअघि मिडियामा खबर नगरी थुप्रै पटक भारत भ्रमण गरिसकेका ज्ञानेन्द्र यस पटक भने प्रेस विज्ञप्ति नै जारी गरी भारत गएका हुन्।
बुधबार उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई ‘नेपालका राजा’कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको छ। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ।
आयोजक श्रीमार्गका अनुसार त्यहाँ शनिबारदेखि बुधबारसम्म गो विश्वशान्ति महायज्ञको पनि आयोजना हुँदैछ। महायज्ञको अन्तिम दिन ज्ञानेन्द्रले पूर्णाहुति पनि दिनेछन्।
सोही क्रममा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक पनि गर्ने कार्यक्रम रहेको छ। श्रीमार्गका सदस्य समिर समालले हिजो आयोजित पत्रकार सम्मेलनमा भने, ‘हिज मेजेस्टी द रोयल किङ अफ नेपालको ‘राज सम्वर्द्धन’ सर्वसाधारण र गण्यमान्य व्यक्तिहरुले बुधबार गर्नेछन्।’
ज्ञानेन्द्रले राजाहरुले मात्र गर्न पाउने गुह्य पूजा पनि त्यहाँ गर्ने कार्यक्रम रहेको समाचार पहिलो पोस्टमा छ |
उडिसा बिजु जनता दलको बहुमतको सरकार भएको भारतको एक राज्य हो। केन्द्रमा सरकार चलाइरहेको हिन्दुवादी भारतीय जनता पार्टीले त्यहाँ पछिल्लो सन् २०१४ को विधानसभा चुनावमा कूल १४७ सिटमा १० सिटमात्रै जितेर तेस्रो दल बनेको थियो। भारतीय राष्ट्रिय कांग्रेस १६ सिट जितेर त्यहाँ दोस्रो ठूलो दलका रुपमा रहेको छ।
हिन्दु धर्मावलम्बीहरुको एउटा प्रमुख तीर्थस्थल जगन्नाथ मन्दिर यही राज्यमा रहेको छ। नेपालका राजालाई जगन्नाथ मन्दिरमा पूजा गर्ने विशेष अधिकार रहेको मानिन्छ।