काठमाडौंको मुटु दरबारमार्गको होटलमा सामूहिक बलात्कार

याम्बु — दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् । उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।
युवतीले आफ्नो प्रेमी भनिएका रामेछाप दुरडाँडा घर भई हाल राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ र अन्य २ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । यससँगै काठमाडौं परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले चारै जनाको खोजी तीव्र पारेको छ ।
काठमाडौं परिसरले बलात्कार घटना आर्थिक लेनदेनका आधारमा गुपचुप मिलाएको भन्दै अनुसन्धान थालेपछि सुरुवाती बयानमा युवतीले इन्कारी बयान दिएकी थिइन् । जब कि घटनालगत्तै महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेर उनैले आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । बिहीबार यता प्रहरीले युवती र उनकी आमालाई काउन्सिलिङ गर्दै पुन: बयान सुरु गरेको थियो । दोस्रो पटकको बयानमा भने युवतीले आफूलाई राति दुई युवाले पालैपालो बलात्कार गरेको आफूले थाहा पाएको र त्यसपछि आफूले होस गुमाएको बताएकी छन् ।
विश्वस्त स्रोतका अनुसार बलात्कार घटनालगत्तै युवतीको खातामा अस्वाभाविक रकम जम्मा भएको प्रहरी अनुसन्धानमा देखिएको छ । घटनापछि दरबारमार्ग वृत्तका इन्स्पेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले उक्त घटनालाई पैसा दिएर गुपचुप रूपमा मिलाएका थिए । स्रोतका अनुसार युवतीलाई ३० लाख नगदै दिने र २० लाख रुपैयाँ बराबरको बुटिक खोलिदिने समझदारी भएको थियो । स्रोत भन्छ, ‘उक्त रकमको केही हिस्सा भने घटना मिलाइदिएबापत प्रहरीलाई दिने सहमति भएको थियो ।’
उच्च स्रोतका अनुसार घटनापछि एकै मितिमा युवतीको एउटा बैंक खातामा २३ लाख र अर्कोमा ४ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । त्यतिका धेरै रकम उनको खातामा कसले डिपोजिट गरिदियो भन्नेबारे प्रहरीले गोप्य राखेको छ । तर स्रोत भन्छ, ‘घटनालगत्तै रकम दिएर केस मिलाउने सर्तअनुसार उक्त रकम जम्मा गरिएको हो ।’ युवतीको बैंक स्टेटमेन्ट हेर्दा अघिपछि उनको खातामा थोरै रकम जम्मा हुने र निकाल्ने गरिएको देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘पैसाको स्रोत युवतीले बताउन सकेकी छैनन् । त्यसैबाट रकमको स्रोत के थियो भनेर अनुमान गर्न सकिन्छ ।’ कान्तिपुरमा समाचार छ |