रिम्पोछे संग डा. गोविन्द केसीले मागे आशिर्वाद !

डा. गोविन्द केसीले भ्रष्टाचारबिरुद्ध अभियानमा आफूलाई होमेका छन्। मर्दापर्दा उनी दुर्गम स्थानहरुमा पनि पुग्ने गरेका छन्, अशक्त र कमजोरहरुको उपचारमा, आफ्नै खर्चमा।
तर, शनिबार उनको व्यक्तित्वको अर्को पाटो पनि झुल्कियो। महाराजगञ्जदेखि बुढानीलकण्ठ हुँदै शिवपुरी राष्ट्रिय निकुञ्जको ३ किमी बाटो छिचोल्दै उनी नागी गुम्बा पुगे, अनि आफ्नो अभियान सफलताका लागि नागी गुम्बाका प्रमुख चोकी निमा रिम्पोछेको आशिर्वाद मागे।
अर्काको दुख निवारणमा निस्वार्थरुपले लागिपर्ने व्यक्ति करुणाबाट निर्देशित हुन्छ। बुद्ध जन्मेको मुलुकमा समाज, राष्ट्र र नागरिक उनका मुख्य शिक्षाबाट अनभिज्ञ हुनु नै वर्तमान दशाको कारण भएको रिम्पोछेले डा केसीलाई सुनाए।
रिम्पोछेका आफ्नै जिज्ञासा थिए डा. केसीसँग। ‘तपाईँ नखाई बस्नुहुन्छ त्यसपछि कमजोरी महसुस गर्नुहुन्न?’
‘भोको बस्दा या पर्याप्त पोषण शरीरले नपाउँदा हार्मोनहरुको असन्तुलन त पक्कै होला तर मैले अरु हिसाबले कुनै कमजोरी महसुस गरेको छैन अहिलेसम्म,’ डा. केसीको उत्तर थियो।
करिब आधा घन्टाको वैचारिक आदानप्रदान र हल्का भोजनपछि डा. केसी रिम्पोछेको कोठाबाट बाहिरिए। लगत्तै केही ठूलो आवाजमा रिम्पोछेले भने, ‘डा. केसी टेक केयर अफ योर हेल्थ।’