भारतीय विदेशमन्त्री सुष्मा स्वराज कसको निम्तामा काठमाडौं आइन् ?

स्थान–एमाले अध्यक्ष केपी ओली निवास बालकोट
समय –दिउँसो साढे चार बजे
कार्यक्रम–एमाले–माओवादी पार्टी एकता संयोजन समिति वैठक
एजेन्डा–कार्यदलको निर्णय अनुमोदन र पार्टी एकतावारे थप छलफल
बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक भैरहदा भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं विमानस्थलमा उत्रिइसकेकी थिइन् ।
त्यसैले बालकोट बैठकमा उनको भ्रमणको विषयले पनि प्रवेश पायो ।
नियमति एजेन्डाभन्दा बाहिर पनि बैठकमा सवाल–जवाफ भयो ।
बैठक शुरु हुँदै गर्दा एमाले महासचिव ईश्वर पोखरेलले कुरा उठाए । वैठकमा सहभागी एक नेताले पोखरेलको भनाई उद्धृत गर्दै भने, ‘सरकारले बोलाएको छैन् । विदेशमन्त्री सुष्माको भ्रमण कसको निमन्त्रणमा भएको हो ?’
नेपाल सरकारले यो भ्रमणवारे अन्तिम सयममा मात्र औपचाकिर जानकारी पाएको थियो । यसले दुई देशवीचको कुटनीतिक च्यानल भन्दा बाहिरबाट विदेशमन्त्री स्वराजको भ्रमण भएको आशंकालाई बल मिल्छ ।
औपचारिक रुपमा घोषणा नगरिएपनि सुष्मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूतका रुपमा काठमाडौं आएकी हुन् ।
एमाले महासचिव पोखरेलले भारतीय विदेश मन्त्रीको भ्रमणलाई लिएर प्रश्न उठाएपछि अध्यक्ष ओलीले जवाफ दिएको स्रोतले बतायो ।
वैठकमा सहभागी एक नेताका अनुसार ओलीले आफ्नो आग्रहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्रीलाई काठमाडौं पठाएको जानकारी दिएका थिए ।
स्रोतका अनुसार पोखरेललाई जवाफ दिँदै ओलीले भनेका थिए, ‘मोदी सम्बन्ध सुधार गर्न चाहन्थे । मैले उनलाई हामीवीच फोन टू फोन कुरा भएको छ । थप सम्बन्ध सुधारका लागि तपाईंको मान्छे पठाउनुहोस् भनेको थिएँ । त्यहीँ अनुसार मोदीले सुष्मालाई पठाएका हुन् ।’
ओलीको यो भनाईसँगै सुष्मा कसरी नेपाल भ्रमणमा आइन ? भन्ने प्रश्नको जवाफ सतहमा आएको छ ।
पार्टी एकता संयोजन समितिको बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले पनि ओलीको भनाईलाई पुष्टि गर्ने अभिव्यक्ति दिएका थिए । गौतमले भनेका थिए, ‘सुष्मा स्वराज छिमेकी देशको नेता हो, हाम्रो पाहुना हुनुहुन्छ । भ्रमणलाई दुई देशको सम्वन्ध सुधार गर्ने सकारात्मक कदमको रुपमा लिएका छौँ ।’
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताएकी थिइन् । अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने प्रतिक्रिया दिएकी थिइन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भनेकी थिइन्, ‘नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।’
संयोग पनि कस्तो भयो भने काठमाडौं आउनसाथ सुष्माले पहिलो भेट एमाले नेताहरुसँग नै गरिन् ।
वैठक स्रोतका अनुसार ओली भारतसँग नयाँ तरिकाले सम्बन्ध सुधार गरेर जानेपक्षमा देखिएका थिए ।
यस अघि माघ ७ गते भारतीय प्रधानमन्त्री मोदी र एमाले अध्यक्ष ओलीवीच टेलिफोनमा संवाद भएको थियो ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको थियो । प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका थिए ।
मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । अर्थात् मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरिसकेका छन् । उता, अध्यक्ष ओलीले पनि भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।
कुनै उल्लेखनीय राजनीतिक घटनाक्रम विकसित नभई भारतीय प्रधानमन्त्री मोदीले जसरी एमाले अध्यक्ष ओलीलाई फोन गरेका थिए, यसले कुटनीतिकवृतमा केही प्रश्न उब्जाएको थियो ।
ओली माघ ४ गते बैंककबाट फर्केका थिए । उनी उपचारका लागि बैंकक गएका थिए । उपचार सकिएपछि पनि केही दिन ओली बैंककमा बसेका थिए ।
ओलीले बैंकक बसाई लम्बिएपछि राजनीतिकवृतमा केही टिप्पणी भएका थिए र त्यसमा पनि मुख्य थियो–ओलीले केही महत्वपूर्ण राजनीतिक भेट गरेको । आफ्नो बैंकक बसाई लामो पारेर ओलीले राजनीतिक भेट गरेको दाबीहरु बाहिर आएका थिए । तर, यसको स्वतन्त्र पुष्टी हुन भने सकेन ।
तर, ओली बैंककबाट फर्केको तेस्रो दिन मोदीको फोन गरेका थिए ।
त्यस अगाडि मोदीले पुस ६ मा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका थिए । मोदीले ओलीसँग ‘भावी प्रधानमन्त्री’का रूपमा कुराकानी गर्दै प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्न निमन्त्रणासमेत दिएका थिए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएका थिए । नेपालका लागि भारतीय राजदूत पुरी पुस ४ गते दिल्ली गएका थिए । त्यसको अर्को दिन त्यहाँ उनले नेपालमा आफूले गरेका उच्च राजनीतिक भेट, चुनावी नतिजा, भावी सरकारको स्वरुप, चिनियाँ चासो र लोकतान्त्रिक गठबन्धनको शक्तिबारे भारतीय भारतीय प्रधानमन्त्री मोदीलाई विफ्रिङ गरेका थिए । राजदूत पुरीको ब्रिफिङको अर्कोदिन मोदीले प्रधानमन्त्री देउवा, एमाले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका थिए । भारतजानु अगाडि पुरीले पुस ३ गते प्रचण्डसँग भेट र मंसिर २८ गते एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । त्यसबीचमा उनले प्रधानमन्त्री देउवासँग पनि कुराकानी गरेका थिए ।
भारतको गणतन्त्र दिवस अर्थात जनवरी २६ । काठमाडौंस्थित भारतीय दूतावासको कार्यक्रममा ओली सहभागी भएनन् । अरु, कार्यक्रम लिएर उनी पोखरा गए । तर, ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको शुभकामना पत्र चाहिँ सार्वजनिक भयो । पत्रमा ओलीले भारतसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेका थिए । रातोपाटी मार्फत साभार |