एप्पललाई पेटेन्ट जरिवाना
आश्विन २७, २०७२- अनुसन्धानका लागि प्रख्यात अमेरिकी युनिभर्सिटी अफ विस्कोनसिनसँग एप्पलले पेटेन्ट अधिकारको मुद्दा हारेको छ । यसवापत एप्पलले युनिभर्सिटीलाई अनुमतिबिना पेटेन्ट प्रयोग गरेकाले ८६ करोड २० लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
एप्पल विरुद्ध विस्कोनसिन, अल्मनी रिसर्च फाउउण्डेसनले मुद्दा दायर गरेको थियो । एप्पलले अनुमति बिना केही आइफोन र आइप्याडमा युनिभर्सिटीको माइक्रोचिप्स प्रविधि प्रयोग गरेको आरोप छ । आइफोन ५ एस, सिक्स र सिक्स प्लसमा गरिएको माइक्रोचिप्स प्रविधिका लागि युनिभर्सिटीबाट अनुमति नलिएको बताइएको छ ।
विस्कोनसिनले यसअघि सन् २००८ मा इन्टेलमाथि पनि यस्तै मुद्धा दायर गरेको थियो । यो मुद्धा भने अदालत बाहिर क्षतिपुर्ति लिएर सुल्झाइएको थियो ।
युनिभर्सिटीले प्रविधि प्रयोगका लागि पेटेन्ट अनुमति लिनुपर्ने र निरन्तर प्रयोगका लागि निश्चित रकम तिर्नुपर्ने भनेकोमा एप्पलले यसलाई अस्वीकार गरी अनुमति बेगर प्रविधि चलाएको बताएको छ ।
अदालतबाट भएको निर्णय अनुसार कहिलेसम्म जरिवाना तिर्नुपर्ने हो त्यसको निर्णय एप्पलले गर्ने छ । गत मंगलबार अदालतले एप्पल र युनिभर्सिटीको मुद्धाको सुनवाइ गरेको थियो । युनिर्भसिटीले सन् २०१४ को जनवरीमा कम्पनीविरुद्ध मुद्धा दायर गरेको हो ।
यसभन्दा अघि परेका अधिकांश पेटेन्ट अधिकारको मुद्धा एप्पलले नै जित्दै आएको थियो ।