सोनाम ल्होछार २८५४ को लागि नेपालबाट ३ जना चर्चित कलाकार इजरायल प्रस्थान

तामाङअनलाइन,याम्बु – नेपाल तामाङ घेदुङ इजरायल द्वारा तामाङ जातिको महान राष्ट्रिय धार्मिक तथा साँस्कृतिक पर्व सोनाम ल्होछार २८५४ खि / नागि ल्हो (कुकुर बर्ग)को पावन अवसरमा आयोजित सोनाम ल्होछार साँस्कृतिक साँझ २०१८ कार्यक्रमको लागि नेपालबाट चर्चित तामाङ कलाकारहरु गायक बिश्व दोङ तामाङ,सुमन घले र गायक तथा संगीतकार टिका बम्जन तामाङ आज बिहान ११ बजे इजरायल प्रस्थान गरेका छन् | बम्जनको सहयोगको लागि वहाँको धर्मपत्नी शृष्टि तामाङ पनि इजरायल प्रस्थान गरेकी छिन् |
संस्था द्वारा यहि आउँदो १९ जनवरी २०१८ (शुक्रबार) तेलअविव स्थित किबुज गालुयोत ४६ स्थित स्तुपा पार्टी प्यालेसमा सोनाम ल्होछार साँस्कृतिक साँझ कार्यक्रम आयोजन गरेका छन् |
सन् २०११ देखि प्रवास भुमि इजरायलमा तामाङ समुदायले भव्यताको साथ सोनाम ल्होछार मनाउदै आएका छन् | कृषि लोथो पात्रो मन्जुश्री सम्बत् २८५४ अनुसार यसपाली सोनाम ल्होछार आउँदो फागुन ४ गते परेतापनि ल्होछार १ महिना अघि देखि नै शुभराम्भमा मनाउन सक्ने भएकोले सोनाम ल्होछारको पावन अवसर पारी शुभकामना आदानप्रदानको साथै मनोरन्जन र हर्षोल्लासका लागि सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम १९ जनवरी २०१८ मै आयोजन गरिएको संस्थाका भुतपुर्व अध्यक्ष तथा वर्तमान संरक्षक बी बी लामा तामाङले जानकारी दिनु भएको छ |
नेपालबाट आउनु हुने आमन्त्रित कलाकारहरुको साथ इजरायलमा रहनु भएका स्थानीय नेपाली कलाकारहरुको धमाकेदार प्रस्तुतिका साथ रात्रिभोज सहित हुने कार्यक्रममा गरिममय उपस्थितको लागि नेपाल तामाङ घेदुङ इजरायल द्वारा इजरायलवासी तामाङ ज्यो ज्यो आले थेन नाना भुरिङ लगायत सम्पूर्ण ल्होछारप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा गरेका छन् |
तेलअविव स्थित लेवेन्सकी पार्क देखि कार्यक्रम स्थल सम्मको लागि नि:शुल्क बसको सुविधा रहेको छ | सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको प्रवेश शुल्क टिकट २०० सेकेल मात्रा रहेको छ |