क्यान्सरका डाक्टरलाई ४५ वर्ष जेल
वासिङ्टन, असार २७ – क्यान्सरका बिरामीलाई आवश्यकता नै नरहेका औषधि दिने एक चिकित्सकलाई अदालतले ४५ वर्षको जेल सजाय तोकेको छ।
रोगको गलत पहिचानबाट बिरामीलाई अनावश्यक औषधि दिएको अभियोगमा ५० वर्षीय डा. फरिद फाटा गत वर्ष सेप्टेम्बरमा दोषी देखिएका थिए। केही बिरामीलाई रक्त क्यान्सर ‘मल्टिपल माइलोमा’ भएको भन्दै उनले औषधि सेवन गराएका थिए। चिकित्सा सहायतामा ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण र घूस लेनदेनको मुद्दा पनि थियो। सरकारी वकिलहरूले उनलाई ‘मुलुकको इतिहासमै अति खराब ठग’ भनेका छन्।
बिरामीलाई मान्छे नभई नाफा केन्द्रका रूपमा उनले उपयोग गरेको पाइएको सरकारी वकिलहरूले बताएका थिए। डा. फाटाले चिकित्सा सहायता र निजी बिमा कम्पनीमार्फत १ करोड ७६ लाख डलर जम्मा गरेका थिए। ५ सय ५३ बिरामीलाई उनले अनावश्यक इन्जेक्सन दिएका थिए। हेमाटोलोजी तथा क्यान्सर रोग विशेषज्ञ उनले आफ्नो काम लज्जाजनक भएको भन्दै अदालतमा माफी मागेका थिए। ‘मैले बिरामीको विश्वासमाथि कुठाराघात गरें,’ उनले अदालतमा भनेका थिए।