बैज्ञानिकहरुको भनाई अनुसार माघेसक्रान्तिमा के खाने के नखाने ? याद राख्नुहोस् …

काठमाडौं । साउनमा हिलोमा पस्नु कात्तिकमा भुँई छाड्नु भन्ने विधि वसाएका पीता पुर्खाहरुले हरेक मौसम अनुसारको खानेकुराको पनि विधि बसाएका छन् नै । कुन मौसममा के खाने र के नखाने भनेर बाँधेको नियम यो वैज्ञानिक युगमा पनि स्वास्थ्यका दृष्टिकोणले शरीरका लागि उत्तिकै सहयोगी रहेको पुष्टि भएको छ ।
हाम्रा चाडपर्वमा खाइने खानाहरु धेरै जसो स्वास्थ्यसंग जोडिएका हुन्छन् । माघे संक्रान्तिमा खाइने चाकु लड्डु पिडालु तरुल सख्खरखण्ड जस्ता कन्दमुलहरुमा पोटासियम क्यालोरी जस्तो तत्व पाइने भएकाले स्वास्थ्यको हिसाबले राम्रो रहेको र मौसम अनुकल समेत रहेको विशेषज्ञहरुको भनाई छ ।
आयुर्वेद र चिकित्साशास्त्र अनुसार माघेसंक्रान्तिमा खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन कार्बोहाइड्रेट र क्याल्सियमलगायतका तत्व प्राप्त हुने र तीनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख छ । तिलमा हाम्रो शरीरलाई अति आवश्यक तेल पाइन्छ । सक्खर शक्तिको स्रोत पनि हो। तिलको लड्डु मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। तिलमा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट जस्ता शक्तिजन्य पदार्थहरू पाइन्छ ।
त्यस्तै कन्दमूलमा कार्बोहाइड्रेट र खनिजको मुख्य स्रोत हो । यसमा चिल्लोको मात्रा कम हुने र डायटरी फाइबर बढी हुने हुँदा मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ। चाकुमा कार्बोहाइड्रेट, चिल्लो पदार्थ साथै खनिज तत्वहरू पाइन्छ माघे संक्रान्ति समय अनुकुलको हिसाबले पनि यस चाडमा खाइने खानेकुराहरुले शरीरमा उर्जा थप्ने पोषण बिशेषज्ञहरु बताउन्छन् ।
शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धि र अन्य रोग नाश हुने धार्मिक विश्वास रहिआएको छ । बिशेषज्ञहरु पनि हाम्रो चाड पर्बहरुले हाम्रो स्वास्थ्यको महत्वलाई बुझेको र स्वास्थ रक्षाको लागि सहयोग पु¥याएको निष्कर्षमा पुगेका छन् । चाडपर्वलाई मानव स्वास्थ्य र वातावरणका दृष्टिले पनि हेर्न सकिन्छ । कुन चाडपर्वका बेला के खाए स्वास्थ्य रक्षा हुन्छ भन्ने आधुनिक विज्ञानको प्रादुर्भाव हुनुभन्दा धेरै अगाडि पत्ता लागिसकेको थियो ।
गर्मीको मध्यमा पर्ने अक्षय तृतीयामा सर्वत सातु खाएर शीतलता प्राप्त गर्ने, खेतीपातीका क्रममा लागेको सर्दी भगाउन जनैपूर्णिमाका दिन क्वाँटी खाने माघे संक्रान्तिमा घ्यु चाकु खाएर शरीरलाई ताप प्रदान गर्ने परम्परा स्वास्थ्यका दृष्टिले पनि अनुकूल नै देखिन्छन् ।
-रिया भण्डार