तामाङ घेदुङका उपाध्यक्ष अजीतमान तामाङलाई कारबाही गरिने

काठमाडौँ — नेपाल तामाङ घेदुङले उपाध्यक्ष अजीतमान तामाङलाई कारबाही गर्ने भएको छ । सोनाम ल्होछारको विषयमा घेदुङको उद्देश्य, नीति, आचारसंहिताविपरीत कार्य गरेको भन्दै उपाध्यक्ष तामाङलाई कारबाही गर्ने निष्कर्षमा पुगेको घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए ।
उनका अनुसार अब प्रक्रियागत रुपमा कारबाही थालिने छ। उपाध्यक्ष तामाङ लुम्बिनी विकास कोषका निवर्तमान सदस्य सचिव तथा गोरखापत्र दैनिकमा तामाङ भाषा पृष्ठको संयोजक हुन्।
कुनै पदाधिकारी वा सदस्यले संस्थाको हितविपरीत कार्य गरेमा सचिवालयले कारबाहीको सिफारिस गर्ने, अनुशासन विभागले स्पष्टिकरण सोध्ने र केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी दुई तिहाई सदस्यको समर्थनबाट हटाउने व्यवस्था रहेको अध्यक्ष गोलेले बताए।
घेदुङको संशोधित विधानको परिच्छेद-४ मा ‘घेदुङको उद्देश्य, नीति तथा आचारसंहिताविपरीत काम गरेमा वा घेदुङको विरुद्ध हुने कार्य गरी घेदुङको नियमावली २०५० बमोजिम अनुशासनको कारबाही गरेमा’सदस्यता अयोग्य वा समाप्त हुने व्यवस्था छ।
यस वर्षको ‘खि’ ल्होछार फागुन ४ गते मनाउने घेदुङको निर्णयमा असहमति जनाउँदै उपाध्यक्ष तामाङले माघ शुक्ल पक्ष प्रतिपदाकै पर्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट गलत प्रचार गरेको घेदुङको आरोप छ।
उपाध्यक्ष तामाङले भने आफूहरुलाई कारबाही गरेमा जिल्ला प्रशासन कार्यालय र अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन्। ‘मलाई कारबाही गरेर केही फरक पर्दैन, झन् खुसी हुन्छु,’ उनले भने, ‘पात्रो समेत लगेर जिल्ला प्रशासनमा उजुरी र अदालतमा मुद्दा हाल्छु।’ नेपाल पञ्चाङ्ग समिति निर्णयलाई मानेर सोनाम ल्होछार माघ शुक्ल पक्ष प्रतिपदा नै हो भन्ने तर अहिले फागुनमा मनाउने भनेर आफूखुसी क्यालेन्डर बनाउन खोजेको छ, यो नेपाली संस्कृतिलाई चिनियाँसँग गाभ्न खोज्नु दुर्भाग्य हो,’ तामाङले भने ‘नेपालको तिथि, मिति नमिल्ने गरी पात्रो बनाउने अधिकार घेदुङका अध्यक्षलाई कसले दियो?’ उनले ल्होछारको मिति परिवर्तन गर्ने सम्बन्धमा आफूलाई बाइपास गरेर बैठक राखिएको भन्दै आपत्ति समेत जनाए।
नेपाल तामाङ घेदुङले केही दिनअघि पत्रकार सम्मेलन गरी तामाङ समुदायले मान्ने नयाँ वर्ष अर्थात् ल्होछार आउँदो फागुन ४ गते पर्ने जानकारी गराएको थियो। त्यस निम्ति उसले घेदुङको नेतृत्वमा बनेको ल्होछार मुल समारोह समिति गठन गरेको जनाएको छ। ‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान ’ भन्ने नारासहित ल्हाछोर फागुनको ३, ४ र ५ गते तीन दिन काठमाडौं भव्य मनाउने तयारी गरेको जनाएको छ। ‘मन्जुश्री तत्व ज्योतिष पात्रोअनुसार पहिलो महिना ख्रेला छेपागि अर्थात् १ गते मान्ने हुँदा त्यो तिथि यस पटक विक्रम सम्वतको फागुन ४ गते परेकोले भ्रममा नपर्न तामाङ घेदुङले विज्ञप्ति मार्फत आग्रह गरि सकेको छ। यो वर्ष कुकुर (खि) ल्हो २८५४ मनाउने तयारीमा रहेको समाचार कान्तिपुरमा छ।