इजरायली लडाकू विमानद्वारा गाजाक्षेत्रमा हवाइ आक्रमण

प्यालेष्टिनी अधिनस्थ क्षेत्रबाट इजरायलको दक्षिणी भूभागलाई लक्षित गरी रकेट आक्रमण गरेपछि इजरायली लडाकू टैङ्कर तथा विमानद्वारा गाजाक्षेत्रमा आक्रमण शुरु भएको सैनिक स्रोतले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको राजधानीका रूपमा जेरूसेलमलाई मान्यता दिने यही डिसेम्बर ६ को विवादास्पद निर्णयलाई लिएर गाजा तथा वेस्ट वैङ्क क्षेत्रमा शुक्रबारलाई पनि प्यालेष्टिनीले ‘तीव्र आक्रोशको दिन’ बनाएका हुन् ।
समाचार तयार पार्दासम्म दोहोरो भिडन्तमा कसैको हताहती भएको खबर भने प्राप्त भएको छैन ।
इजरायली सेनाले दिएको जानकारी अनुसार प्यालेष्टिनी लडाकूले गरेका पछिल्ला तीन रकेट आक्रमणमध्ये दुई रकेटलाई आइरोन डोम हवाई प्रतिरक्षा प्रणालीको सहयोगमा सेनाले बीचैमा अवरोध गरी नस्ट गरिदिएको छ । पछिल्लो एउटा रकेट गाजा क्षेत्रको एक वस्तीमा खसेको तर यसबाट वस्तीको भौतिक संरचनामा क्षति पुगेपनि मानवीय क्षति भने नभएको इजरायली प्रहरीले जनाएको छ ।
इजरायलतर्फ रकेट आक्रमण गरेपछि इजरायली प्रतिरक्षा बल (आइडिएफ) को युद्धक विमानले उत्तरी गाजा क्षेत्रको प्यालेष्टिनी ‘आतङ्ककारी’ समूह हमास अधिनस्थ भूभागमा आक्रमण शुरु गरेको, इजरायली सेनाले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।
हमास अधिनस्थ क्षेत्रका स्वास्थ्य मन्त्रालयका प्रवक्ताले इजरायलले चलाएको हवाई आक्रमणबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । शुक्रबारलाई हमास तथा इश्लामिक जिहादी लडाकू समूह दुवैले समूहले ‘तीव्र आक्रोसको दिन’ भनी दावी गरेका छन् ।
तर चिनियाँ सिन्ह्वा न्यूज एजेन्सीले इजरायली आक्रमणमा ११ जना घाइते भएका उल्लेख गरेको छ ।