अमेरिकामा एक्लोपनले निम्त्याएको भयावह अबस्था

-तारा भट्टराई
एकाबिहानै एकजना ७१ बर्षिय वृद्ध आफ्नी ईटालीमा रहेकी बहिनीलाई भन्दै थिए, ‘मलाई क्रिसमसमा अरु गिफ़्टको सट्टा पोईजन किनेर पठाईदेउ। म अरु थप जिन्दगी बॉच्न चाहन्न। मैले जिन्दगी बॉचिसके। सन्सार देखिसके।’ छेवैको डाईनिग टेबुलमा ब्रेकफास्ट खाईरहेकी म जुरुक्क उठेर उनको छेउमा गएँ र सोधेँ ‘आख़िर एक दिन मर्नु छँदैछ, किन मृत्यु नआउन्जेल नपर्खने ? तिमीलाई केले पोईजन खाने अवस्थामा पुर्यायो ? फेरि तिमीलाई हिजो अस्तीसम्म त ठीकै अवस्थामा देखेकी थिएँ।’ त्यसपछि उनले आफ्नो कुराको पोको फुकाए।
आजभन्दा चालीस बर्षअगाडि इटालीको रोम शहरबाट आमा बाबा र दुई बहिनीको साथमा अमेरिका आएका उनले यहॉ पढ़ाई र काम दुबैलाई अगाडि बढाउन नसक्दा जिवनमा सोचेजस्तो प्रगति गर्न सकेनछन्। उनका बुवाआमाको र एउटी बहिनीको पनि अमेरिका आएको केहि बर्षमै मृत्यु भएछ। सेक्यूरिटी गार्डको काम गर्दागर्दै उनी पीरले गर्दा गॉजा र चरेशको कुलतमा पनि केही बर्ष फसेछन्। फेरि सुध्रिएर बहिनी र ज्वाईको घरमा बसेर जिन्दगी अगाडि बढाईरहेका बेला बहिनीले इटलीमै फर्कने निर्णय गरेपछि उनी झन् एक्लिएछन् । त्यसपछि एसिस्टेड लिभिङ फ़ेसिलिटीमा महिनाको १२०० डलर तिरेर पॉच बर्षअघि बस्न आईपुगेछन्। त्यसपछि फ़ेसिलिटीमा बिभिन्न प्रकारका मानिसहरु देखेर झनै विरक्तिएछन्। जे जस्तो भए पनि दिनहरु बिताउँदै हुन्छन् । विचैमा क्रिस्मस र नयॉ वर्ष आईदिएपछि फ़ेसिलिटीमा क्रिसमस ट्रि सातै रंगको लाईटले सजिएर धपधप बल्छ अनि झ्यालबाट बाहिर चिहाउँछन् । शहर पूरै बेहुलीझैं सिँगारिएको देख्छन् अनि उनको मन भतभत पोल्न थाल्छ ।
त्यसपछि उनी परिवार र इष्टमित्रहरुसँगका पुराना दिनहरु सम्झेर भक्कानो छोडेर रुन थाल्छन। र, यो दुनियामा मेरो आफ्नो भन्ने कोहि पनि छैन, अब किन बॉच्नु भन्ने लाग्ने गरेको उनी बताउँछन्। उनी जस्तै अर्की ४४ बर्षीय महिला थ्यांक्स गिभिंग डेको डिनर पार्टीको प्लेट आफ्नो टेबुलमा आईपुगेपछि डाँको छोडेर रुँदै जुरुक्क उठेर हिंडिन्। उनी रुनाको कारण सबैले वुझे। २२० जना मानिसले एकै पटक डिनर खाईरहेको डाईनिंग टेबुलमा माहोल बिग्रियो। कोही सुकसुकाउँदै खान थाले । कोही नखाई उठेर एकान्ततिर गएर आफूलाई सामान्य अवस्थामा फर्काउने कोशिष गर्दै थिए।
भर्खरै नेपालबाट आएर यहॉको वातावरण राम्रोसँग बुझ्न नसकेकी म किन यो माहोल ठीक छैन भनेर छक्क पर्दै थिएँ। किनभने बर्षौदेखि एउटै कोठामा रात दिन सँगै वस्नेको मृत्यु हुँदा पनि आँसु त के सहानुभूतिसम्म पनि नदिएको मैले केही दिनअगाडि मात्र देखेकी थिएँ। र, टर्कीको प्लेटमा के त्यस्तो जादु रहेछ त मानिसलाइ रुवाउने भनेर मलाई कुतुहल जाग्यो । त्यसपछि तिनै महिलाको पछि लागेर मैले उनी रुनाको कारण सोधें।
उनले बाल्यकाल देखिको आफ्ना घर परिवारसँगका रमाईला क्षणदेखि श्रीमानसँगका रमाईला सबै क्षण र श्रीमानको मृत्युपछि उनी धेरै मोटी भएर बिरामी भई स्याहार गर्ने मान्छे नभएर कसरी होमलेस भइन ? अनि, कसरी फेसलिटिजमा बस्न आईपुगिन् भन्नेसम्मको कहानी लामो थियो । त्यो सुनेपछि मैले पनि सुक्सुकाएर उनलाई एकछिन साथ दिएँ । ‘मेरा पनि सबै परिवार, आफन्त सात समुद्रपारी नेपालमा छन्। म पनि त यहॉ एक्लै छु। तिमीहरुकै खाना खान, हॉसोमा हॉसो मिलाउन, रमाउन, अभ्यस्त हुँदै छु । तिमी रुँदा म पनि पो रोएँछु’ भनेर सम्झाएँ।
उनी जवान उमेरमै एक्लोपनाले भित्रभित्रै पिल्सिएर उकुसमुकुस भएको कुरा उनको अनुहारले प्रष्ट बताउँथ्यो। अमेरिकामा एक्लोपनले छट्पटाउने यी दुइजना त प्रतिनिधि पात्र मात्र हुन्। अमेरिकामा हलोवीन चाडदेखि अन्य पर्वहरु थ्यांक्स गिभिङ, क्रिस्मस, नयाँबर्ष र भेकेसनको शुरुवात हुन्छ। पारिवारिक भेटघाट गर्ने, मनोरन्जन गर्ने, किनमेल, उपहार आदानप्रदान, घुमिफरलगायत विदा वा उत्सवको तयारीमा मानिसहरु लाग्ने गर्छन्। थ्यांक्स गिभिङलगत्तै क्रिसमसको चहलपहलमा एकथरि अमेरिकीहरु लागे पनि अर्को थरि मानिस जस्का आफन्त र घर परिवार छैनन्, उनीहरुलाई विदा वा उत्सवको समयमा झनै एक्लोपनाले सताउँदो रहेछ।
मैले नेपालबाट अमेरिका आएर समुदायमा काम गर्न थालेदेखि नै मानिसहरु प्रत्येक दिन रोगले भन्दा पनि एक्लोपनले मानिसहरु कसरी छटपटाउछन्न भन्ने कुरा हेर्ने र महसूस गर्ने मौका पाएँ। बिशेष गरेर अस्पताल, नर्सिङ होम , एसिस्टेड लिभिङ, पुनर्स्थापना केन्द्र, हस्पिस, सिनियर लिभिङहरुमा क्रिष्मस र नयॉ बर्षमा भावनात्मकतासँग जोडिएका कुराहरुले मानिसहरु बढ़ी ग्रसित हुँदारहेछन्। टाढाका नाता पर्ने आफ्न्तले समेत सम्झलान् कि भनेर मानिसहरु रिसेप्शनको अगाडि बिहानैदेखि चनाखो भएर बस्ने, पोष्टम्यानले कतै गिफ़्ट कार्ड पो ल्यायो कि भन्ने आशा गर्ने गर्छन। कतिपय तकियालाई च्यापेर आफ्नोपना महसूस गर्छन्, कोही क्रिष्मस ट्रि लाईट हेरेर टोलाईरहेका हुन्छन।
नेपालमा जस्तो एक भेटघाटमा मानिसहरु म एक्लो छु भनेर कसैलाई सुनाउँदारहेनछन्। म एक्लो छु भनेर भन्नु भनेको जिवनमा म कतै असफल ब्यक्ति पो हुँ कि भन्ने अरुले ठान्लान् भनेर कसैलाई सुनाउँदैनन्। बर्षौसम्म एउटै कोठामाँ बसे पनि नामबाहेक एकले अर्काको बारेमा चासो राख्दा रहेनछन्। कुरा गरिहाले पनि मौसम, मार्केटमा लागेको सेल वा अरु कन्ट्रोभर्सियल नहुने बिषय छान्दा रहेछन् ।कुनै सहायता चाहियो भने छिमेकी भन्दा पहिला पुलिस वा सम्बन्धित निकायलाई मात्र जानकारी गराउँदा रहेछन्। यस्तो बिकसित देशमा मान्छे एक्लिने मुख्य कारण केलाउँदा रेसिजम र यस्ले जन्माएको भेदभाव, लामो समय बेरोजगार हुनु, लागुपदार्थको कुलत, पारिवारिक र साँस्क्रतिक संरचना बलियो नभएको, विवाह टिक्दै नटिक्ने वा आवश्यक पर्दा मात्र सेक्सुअल डेटिंग गर्ने, प्रेममा विश्वाश नराख्ने र पछिल्लो समयमा सामाजिक सन्जालको प्रयोग जस्ता अनेक कारणहरु रहेको मैले पाएँ। यहाँ उनीहरुका लागी काम गर्ने अनेक थरी सामाजिक सँस्था र धार्मिक प्रकृतिका मानिसहरुका लागी चर्चहरु पनि छन्।
तर यिनीहरु पेपरमा निस्चित फर्म्याट बनाएर मेकानिकल जस्तो काम गर्दारहेछन् र उनीहरु आफैं पनि एक्लोपनाले वा कुनै न कुनै पारिवारिक समस्याले ग्रसित भएका हुँदारहेछन । त्यसैले खासै प्रभाबकारी काम हुन सकिरहेको छैन।
युनिभर्सिटी अफ जर्जिया कलेज अफ पब्लिक हेल्थको रिपोर्टअनुसार पनि अमेरिकामा एक्लोपन मानिसको चाँडो मृत्युको प्रमुख कारण बन्दै गएको छ । चार बर्षमा बढेर ५३ बाट ५७ प्रतिशत पुगेको छ। अमेरिकाले हरेक राज्यहरुमा चाँडोभन्दा चाँडो यसमा नीति तथा कार्यक्रम बनाएर अगाडि नबढे एक्लोपनाले भयावह अवस्था नल्याउला भन्न सकिन्न।,