फोरम र राजपाबीच एकता हुदै चौथो शक्ति बन्न छलफल

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच छिटै पार्टी एकता हुने गरी छलफल भइरहेको बताएका छन्।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता महतोले फोरमसँग तत्काल एकता प्रक्रिया सुरु गर्ने बताए।
‘राजपा र फोरमबीच चाँडै एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो’, महतोले भने, ‘संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पारे।
महतोले राष्ट्रियसभा सम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत व्यक्त गरे। रासस