रसुवामा आयोजन गरेको नेपाल पदयात्रा सम्पन्न

रसुवा, पुस ११– रसुवामा सञ्चालन गरिएको ८ दिने नेपाल पदयात्रा मंगलबार सम्पन्न भएको छ । २०७२ बैशाख १२ गते आएको भूकम्पमा परेर ज्यान गुमाएका व्यक्ति तथा परिवारको सम्झनामा सञ्चालन गरिएको पदयात्रा मंगलबार स्याफ्रुबेशीमा पुगेर सम्पन्न भएको हो ।
भूकम्प प्रभावितको मनमा रहेको डर, त्रास र भय हटाएर मनोबल उच्च बनाउने, खलबलिएको सामाजिक संरचनाहरुको पुनः ताजगीकरण गर्नुको साथै छेद विच्छेद भएको भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई गति दिनका लागि सांकेतिक दवाव स्वरुप पदयात्रा सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रेम योन्जन तामाङले दिएको छ |
योङ्ग ड्रुक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलले सञ्चालन गरेको पदयात्रामा नेपालसहित भारत, भुटान, भियतनामलगायतका देशबाट भिक्षु, भिक्षुणी, लामा तथा सर्वसाधारण उपस्थित भएका थिए ।
पदयात्रा टोलीमा ७० जना भिक्षु भिक्षुणी, एक सय ५० जना स्वदेशी तथा विदेशीको सहभागिता रहेको थियो ।
जिल्लाको उत्तरगया गाउँपालिकास्थित मैलुङबाट सुरु भएको यात्रा तिरु, ठूलोहाकु, गत्लाङ, गोङ्गाङ, थुमने हुँदै स्याफ्रुमा पुगेर कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ ।
मंगलबार जिल्लाको स्याफ्रुबेशीमा सेतोगुम्बा काठमाडौंका धर्मगुरु शरण नायक ग्याल्वा दोखाम्वा (खामटुल रिन्पोछे) ले शान्ति पूजापाठ गर्नुको साथै अभिषेकसहित धार्मिक प्रवचन गरेका थिए ।