साउदी अरबको आकाशमा यमनी सिया विद्रोहीको क्षेप्यास्त्र प्रहार

पुस ४, २०७४-यमनी सिया विद्रोहीसँग लड्दै आएको साउदी अरबको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार आकासमै नष्ट गरिदिएको जनाएको छ ।
यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो ।
साउदी अरबको राज्य सञ्चालित टेलिभिजनले गठवन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुपूर्व नै साउदी नागरिकले आकासमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
साउदी अरबको बजेटलाई यामामाह दरबारबाट राजा सलमानले सार्वजनिक गर्ने प्रचलन अनुसार सार्वजनिक गर्ने तयारी भइरहेका समय साउदीस्थित फ्रान्सेली समाचार संस्था (एएफपी) संवाददाताले ग्रीनविच समय अनुसार विहान १० बजेर ५० मिनेटमा विशाल आवाजसहित आकासमा विष्फोट भएको सुनेको बताए ।
यसैबीच यमनी सिया विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट मङ्गलबार आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको पुष्टि गरेका छन् । अब्दुल्लाह सलामले ट्वीट गर्दै ‘भोल्कानो एच–२’ नामक क्षेप्यास्त्रको प्रयोग गरिएको बताए । रासस/एएफपी/एपी