ओलीलाई तीनवटै पद दिननसक नसक्ने माओवादीको निष्कर्ष

काठमाडौं । माओवादी बैठकले सरकार गठनभन्दा पनि पार्टी एकतालाई बढी जोड दिएको छ ।
सोमबार बसेको बैठकमा चुनावी तालमेलका बेला भएको सहमतिअनुसार नै पार्टी एकताको सुनिश्चिततापछि सरकार गठनको प्रक्रियालाई अघि बढाउन जोड दिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
माओवादीले राष्ट्रियसभा गठनको विषय राजनीतिक भएको भन्दै राजनीतिक सहमतिबाटै टुङ्याउनुपर्नेमा पनि जोड दिएको छ । उसले कांग्रेससँग पनि छलफल गरेर टुंगोमा पुर्याउने निष्कर्ष निकालेको हो ।
माओवादी केन्द्रको बैठकले पार्टी एकतापछि अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एमालेलाई नै र एकै व्यक्तिलाई दिन नसकिने निष्कर्ष निकालेको पनि माओवादी केन्द्रका अर्का एक नेताले बताए ।
“असोज १७ गतेको निर्णयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ताले मान्नुपर्छ । एमालेका साथीहरुले तीनवटै पद केपी शर्मा ओलीजीलाई दिनुपर्छ भनिरहनुभएको छ । त्यो ठीक होइन भन्ने बारेमा छलफल भएको छ,” माओवादी केन्द्रका नेता मणि थापाले भने, “दुईजना नेतामध्ये एकजना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुन्छ।
असोज १७ गते नै एमाले र माओवादीबीच साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने अनौपचारिक सहमति भएको पनि थापाले बताए ।
“एउटा प्रधानमन्त्री हुँदा अर्को पार्टी अध्यक्ष हुने सहमतिलाई कसैले पनि बिर्सनुहुँदैन,’’ थापाले बाह्रखरीसँग कुरा गर्दै भने, “साढे दुई वर्ष एउटाले पार्टी र अर्कोले सरकार पालैपालो चलाउने भन्ने अनौपचारिक सहमति यसअघि नै भएको हो ।”
एमालेबाहेक पनि सरकार बन्न सक्ने संकेत गर्दै थापाले भने, “कांग्रेस, मधेसवादी दलहरुबाट हामीलाई प्रधानमन्त्रीको अफर आएको छ । कांग्रेसलगायत साना दलहरुबाट हामीलाई प्रधानमन्त्रीको अफर आएको छ । उनीहरुले एमालेलाई छोड्दिनुहोस्, हामी प्रचण्डलाई लेखेरै पाँचवर्षसम्म प्रधानमन्त्री बनाउने सहमति गर्छौं भनिराखेका छन् ।”
गठबन्धनबाट साझा उमेदवारी दिएका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एमालेका उपाध्यक्ष वामदेव गौतमलगायत पराजित भएका नेताहरुको हारको कारण खोज्ने कुरा पनि उठेको थापाले बताए ।