संसदमा बाबुराम भट्टराईको हैसियत स्वतन्त्र सांसद सरह

काठमाडौँ : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भए पनि संसदमा उनको हैसियत स्वतन्त्र सांसद सरह हुने भएको छ।
निर्वाचन आयोगका अनुसार कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो। बिहीबार दिउँसो साढे चार बजेसम्म ८३ लाख (बदर मत बाहेक) गणना भइसक्दा नयाँ शक्तिको आँखा चुनाव चिह्नमा देशभरबाट ७३ हजार मतमात्रै आएको छ। यो गणना भइसकेको कूल मतको १ प्रतिशतभन्दा पनि कम हो।
गणना बाँकी मत धेरै नरहेकोले नयाँ शक्तिले तीन प्रतिशत मत ल्याउन सम्भव छैन। तीन प्रतिशत मत नआएसम्म समानुपातिकबाट प्रतिनिधि सभामा कुनै सिट पाइँदैन।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार समानुपातिकमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेको दल मात्र राष्ट्रिय मान्यताप्राप्त दल हुन्छ।
तीन प्रतिशत मत ल्याएको भए नयाँ शक्तिका तर्फबाट समानुपातिक बन्दसूचीमा भएका चार जना सांसद हुन्थे। बन्दसूचीमा एक नम्बरमा रहेकोले नायिका करिश्मा मानन्धर निर्वाचित हुनेथिइन्।
भट्टराईले प्रत्यक्ष चुनाव जितेको गोरखाबाटै अहिलेसम्म साढे १८ हजार मतमात्रै प्रतिनिधि सभाका लागि समानुपातिकमा प्राप्त भएको छ। जबकि लोकतान्त्रिक गठबन्धनसँगको तालमेलबाट उम्मेदवार बनेका भट्टराईले ३१ हजार ८ सय मत ल्याई नारायणकाजीलाई पराजित गरेका थिए।
समग्र मतमा नयाँ शक्ति राप्रपा र विवेकशील साझा भन्दा पछाडि छ तर मतको अन्तर ठूलो छ।
प्रदेश सभामा नयाँ शक्तिले प्रदेश ४ मा एक सिट समानुपातिकमा पाउने सम्भावना भने कायम छ। प्रदेश ४ मा नयाँ शक्तिले एउटा सिट प्रत्यक्षमा पनि जितेको छ।