तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ ट्रेलर तथा म्युजिक भिडियो सार्वजनिक
भक्तपुर : तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गाल हिजो यहाँ सार्वजनिक गरिएको छ। चलचित्र निर्माण पक्षले भक्तपुरमा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र सार्वजनिक गरेको हो। आगामी फागुनको तेस्रो सातादेखि देशभरका हलमा प्रदर्शन गरिने उक्त चलचित्र तामाङ चलचित्र निर्माण भएकामध्ये पहिलो उच्च प्रविधि र ठूलो लगानीमा भएको निर्माता बिकु थोकरले बताए।
२५ लाख रुपैयाँको लागतमा चलचित्र निर्माण सम्पन्न भएको हो। समाजका गरिब, निमुखा, बिपन्न र उत्पीडनमा परेका वर्गमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज उठाएको सो चलचित्रमा वर्तमान राजनीतिक विकृतिमाथि ब्यङ्ग्य प्रहार गरिएको छ।
कार्यक्रममा तामाङ भाषाको पहिलो चलचित्र निर्देशक जयनन्द लामाले ‘म्लाङ प्वाँहार’ चलचित्र सार्वजनिक गर्दै आर्थिक अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले निकै आशा जगाएको बताए। रासस