नेपाल प्रहरी प्रतिनिधि सभामा जितेका रेशम चौधरीलाई पक्राउ गर्ने तयारी

काठमाडौं : आफ्नो चुनावी क्षेत्र कैलाली क्षेत्र नम्बर १ मा खुलेर उपस्थितसमेत नभएका रेशम चौधरीको जित धेरैका लागि अप्रत्यासित बन्यो। आफ्नो फरार सूचीमा रहेका चौधरीको जित नेपाल प्रहरीका लागि चित खुवाउने बन्यो। प्रतिनिधि सभाको उम्मेदवार दर्तादेखि जितसम्म उनी आफ्नो ‘रोहरवर’मै चले। चुनाव प्रचार प्रसारमा समेत सहभागी भएनन्। भिडियो च्याट र फोनबाट नै कार्यकर्ता परिचनाल गरे। अभौतिकरुपमा चुनावी मैदानमा उत्रेका उनी प्रतिनिधि सभा निर्वाचनमा २० हजार मतान्तर विजयी भए।
सोमवार सम्पन्न मत गणनामा चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट ३४ हजार ३ सय ४१ मत ल्याए। उनका प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत मात्र प्राप्त गरिन्।
मंगलवार विहान कैलालीमा उनको अनुपस्थितिमै विजय जुलससमेत निस्कियो। कसैले पनि चौधरीलाई देखेनन्। विजेता चौधरी जितको प्रमाणपत्र लिन आउलान् र समातौला भन्दै प्रहरीले सुरक्षा तैनाथी बढायो। प्रहरी प्रधान कार्यालय नक्सालले पनि चौधरीलाई कहीँ कतै देखे पक्राउ गर्ने निर्देशन दिइसकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले निर्वाचित चौधरी फरार अभियुक्त भएकाले पक्राउ गर्ने तयारी भएको स्वीकार गरे।