चितवन ३ बाट प्रचण्ड विजयी, जितेपछि भने-सरकार गठन र पार्टी एकता सँगसँगै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रचण्ड प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
पाण्डेको भन्दा दाहालले ९ हजार ३४१ मत बढी पाए। प्रचण्डले ४८ हजार २७६ मत ल्याए भने वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९३५ मत पाए।
चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रचण्डले मतदातालाई धन्यवाद दिए । जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताए ।
सरकार गठनका क्रममा भागवण्डामा सदस्या हुनसक्छ कि भन्ने प्रश्नमा उनले भने, ‘भागवण्डा हाम्रो मुख्य एजेण्डा होइन । सम्बृद्धि र स्थायित्व हाम्रो एजेण्डा हो ।’
उनले सरकार गठन अघि नै पार्टी एकता गर्न पाए हुन्थ्यो भन्ने लागेको तर, समयले सम्भव नहुन सक्ने भन्दै सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढ्ने बताए ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई धन्यवाद दिए । पराजय भोग्नु पर्ने थाहा हुँदा हुँदै चुनाव गर्ने बाचा पूरा गरेको भन्दै उनले देउवालाई धन्यवाद दिए ।
पत्रकारहरुको एक प्रश्नमा उनले संविधान संशोधन समय क्रममा आवश्यकता आनुसार हुँदै जाने बताए । प्रदेश २ को मत परीणामले वाम गठबन्धनले अझ मेहनत गर्नु पर्ने र जनताका बीच जानु पर्ने देखाएको उनले बताए ।