अमेरिकाले दियो जेरुसलेमलाई इजरायलको राजधानीको मान्यता

अमेरिकाको दशकौं पुरानो नीतिलाई उल्ट्याउँदै राष्ट्रपति डोनल्ड ट्रम्पले विवादित जेरुसलेम शहरलाई इजरेलको राजधानीको रुपमा मान्यता दिएका छन्।
तर उनले मध्यपूर्वमा दीगो शान्तिकालागि अमेरिका प्रतिबद्ध रहेको पनि दोहोराए।
उनले, उनकै शब्दमा, यदि दुबै पक्षले मान्ने हो भने लामो समयदेखि चल्दै आएको इजरेल प्यालिस्टिनी द्वन्द्व अन्त्य गर्न दुई राष्ट्रको समाधानलाई समर्थन गर्न आफु तयार रहेको पनि बताए।
बुधबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अमेरिकी दूतावास इजरेलको तेल अभिभ शहरबाट जेरुसलेममा सारिने घोषणा गरे।
राष्ट्रपति ट्रम्पको पछिल्लो भोषणाले उक्त विवादित शहरबारेको अन्तर्राष्ट्रिय सहमति समेत उल्लंघन गरेको छ।
अरब देशहरुले उक्त कदमले मुसलमान विश्वमा हिंसालाई बढावा दिनसक्ने चेतावनी दिएका छन्।
प्यालेस्टाइनले पनि जेरुसलेम आफ्नो राजधानी भएको दावी गर्दै आएको छ।
राष्ट्रपति ट्रम्पको घोषणाले तत्काल कडा अन्तर्राष्ट्रिय प्रतिकृया जन्माएको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले यो एउटा ठूलो चिन्ताको क्षण भएको बताए।
फ्रान्सका राष्ट्रपति एम्यानुएल मक्रोंले फ्रान्सले अमेरिकी कदमको समर्थन नगर्ने बताए।
प्यालिस्टिनी इस्लामवादी समूह हमासले राष्ट्रपति ट्रम्पको निर्णयले त्यस क्षेत्रमा अमेरिकी हितहरुमा नरकको ढोका खोलीदिने चेतावनी दिएको छ।
तर राष्ट्रपति ट्रम्पको घोषणाको केही मिनट भित्रै एउटा टेलिभिजन वक्तव्यमा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यस्तो घोषणा ऐतिहासिक र न्यायपूर्ण रहेको बताए।
यो घोषणालाई राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा इजरेल समर्थक मतदाताहरुसँग गरेको वाचा पूरा गर्न लागेको रुपमा पनि हेरिएको छ।
अमेरिकी संसदले गएको २२ वर्षदेखि त्यस्तो कदम चाल्न भनिरहेको थियो, तर यसअघिका अमेरिकी राष्ट्रपतिहरुले त्यस्तो नगर्ने अडान लिएका थिए।
उनीहरु जेरुसलेमको भविष्य लेनदेनका आधारमा तय गरिने समझदारीबाट टुङ्गो लगाइनुपर्नेमा एकमत रहँदै आएका थिए।
जेरुसलेमलाई लिएर इजरेल र प्यालेस्टाइनबीच विवाद मात्रै छैन, दुबै देशले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन्।
मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन्।