वैद्य माओवादीका केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश

चितवन– मोहअन वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटि माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पर्क कार्यालय शिवनगरमा आयोजित अनौपचारिक कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, चितवन जिल्ला शाखा अध्यक्ष सुर्य बरालसहित डेढ दर्जन माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
सोमबार बिहान भएको कार्यक्रममा नेपाली कांग्रेसलगायतका पार्टीबाट थप तीनसय माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा व्यवसायिक कृषक समाज नेपालका केन्द्रीय प्रवकता हरि प्रसाद अधिकारीको नेतृत्वमा डेढ सय जना, संघीय समाजवादी युवा संघका ५६ जना र राप्रपाका बिभिन्न कमिटिबाट तीन सय बढीले रहेका थिए ।
प्रवेश कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष सूर्य बरालले इतिहासको आवश्यकतालाई बोध गरेर समृद्द र समाजवादी नेपालको नेतृत्व प्रचण्ड नेतृत्वले मात्र गर्न सक्ने ठहर गरी पार्टी प्रवेश गरेको प्रतिकृया दिए । यसैगरी नेपाली कांग्रेसबाट प्रवेश गरेका हरि अधिकारीले आफूलाई विगतदेखि नै कम्युनिष्ट विचार मन पर्ने गरेपनि बिभिन्न कारणले कांग्रेसमा रहेर काम गर्नु परेको बताए ।
नव प्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबीर र खादाले स्वागत गरेका थिइए । नव प्रवेशीहरुलाई सम्बोधन गर्दै अध्यक्षले ‘सही समयमा सही निर्णय गरेको’ भन्दै बधाई समेत दिएएका थिए । @रासस