प्रचण्डले गरे बामपन्थी गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने ठोकुवा

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं २७ पर्साढापमा आयोजित चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो निर्वाचनमा बामपन्थी गठबन्धनलाई दुई तिहाइ बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएको छ ।
आज चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले मंसिर १० मा भएको निर्वाचनमा बामपन्थीको पक्षमा दुई तिहाइ मत खसेको आफू र एमाले अध्यक्ष केपी ओलीको निष्कर्ष रहेको र मंसिर २१ मा हुने निर्वाचनमा पनि गठबन्धनका पक्षमा दुई तिहाइ मत खस्ने दावी गरेका छन्।
चितवन निर्वाचन क्षेत्र नं ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार समेत रहेका प्रचण्डले सम्बोधनका क्रममा केपी ओलीजीसँग आज बिहान मात्रै प्रचण्डका आधा घण्टा टेलिफोन कुराकानी भएको र निर्वाचन भएका ३२ जिल्लामा गठबन्धनका पक्षमा दुईतिहाइ मत खसेको भन्ने उनीहरुको निश्कर्ष भएको बताए ।
प्रचण्डले भने ‘हामीले गल्ती गर्यौ भने देश दुर्घटनामा जान सक्छ, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन हजारौको बलिदान भएको छ । पहिलो संविधानसभाले संविधान दिन नसकेको उदाहरण हाम्रा सामु छ । तर, दोस्रो संविधानसभामार्फत संविधान त बन्यो तर, त्यो संविधान कार्यन्वयन होला नहोला भन्ने चिन्ता थियो । त्यसपछि स्थानीय निर्वाचन भएर स्थानीय सरकार गठन भैसकेको छ । अव प्रदेश र केन्द्र सरकारको निर्वाचन हुदैछ । यो निर्वाचनमार्फत एमाले र माओवादीले ठुलो निर्णय लिएर गठबन्धन बनाएका हौ ।’
फेरी पनि संघीय लोकतान्त्रिक गणतन्त्र दलाल र समन्तहरुकै हुनेहो कि भन्ने खतरा रहेका बेला एमालेका केपी ओली र माओवादीका प्रचण्ड अध्यक्ष बन्नु संयोग र सौभाग्य नै मान्नुपर्ने भन्दै दुवै नेता पार्टी एकीकरण गरेर सम्बृद्धि र स्थायीत्वका लागि निर्णय लिइएको प्रचण्डले जनाए। कांग्रेसहरु पनि एक हुन प्रचण्डले सुझाव दिदै जनतालाई राहत र विकास दिनतर्फ लाग्न आग्रह गरेका छन् ।