चमेलिया जलविद्युत् प्रसारण लाइनको परीक्षण सम्पन्न ,बिहीबारदेखि लाइन चार्ज

काठमाडौँ, मङ्सिर ७ गते । चमेलिया जलाधार क्षेत्रमा उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न बिहीबार दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको प्रसारण लाइनलाई चार्ज गरिँदैछ । चमेलिया करिडोरमा हाल नौगाड जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ भने ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले केही दिनमै उत्पादनमा जाने तयारी गरिरहेको छ ।
चमेलिया जलविद्युत् आयोजनाको पावरहाउस दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्म १३२ केभी प्रसारण लाइनको परीक्षण सम्पन्न भइसकेपछि चार्ज गर्न थालिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो ।
बुधबार गोरखापत्रसँग कुराकानी गर्दै आयोजना प्रमुख दाहालले भन्नुभयो, चमेलियाले व्यावसायिक उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि हामीले तयारीका लागि प्रसारण लाइनमा करेन्ट प्रवाह गर्न थालेका छौँ । बिहीबार अत्तरिया सव–स्टेसनबाट बलाँच स्टेसनसम्म बिजुली प्रवाह गरी सो प्रसारण लाइन चार्ज गरिने कार्यक्रम छ ।
१३१ किलोमिटर लामो प्रसारण लाइन चार्ज हुने बेला टावर नछुन र टावरमा नचढ्न आयोजनाले स्थानीय बासिन्दालाई आग्रहसमेत गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रसारण लाइन चार्ज हुने बेला करेन्ट लाग्न सक्नेतर्फ सचेत हुन स्थानीय एफएम तथा स्थानीय पत्रपत्रिकामा सूचना जारी गरिएको र जिल्लास्थित सबै सरोकारवाला निकायमा पत्राचार गरिसकिएको प्रमुख दाहालले बताउनुभयो । यो प्रसारण लाइनमा ४१२ वटा टावर निर्माण गरिएका छन् ।
यसअघि प्रयोगमा आएको ३३ केभी प्रसारण लाइनमा प्रवाह हुँदै नौगाड जलविद्युत् आयोजनाको ८.५ मेगावाट बिजुली पनि यही प्रसारण लाइनमा प्रवाह गरिनेछ । प्राविधिक रूपमा नौगाडबाट उत्पादित बिजुली १३२ केभी प्रसारण लाइनमा जोड्न मिल्ने वा नमिल्ने भन्ने विषयमा आयोजनाले नौगाड जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी अपी पावरलाई पत्राचार गरिसकिएको बताइएको छ ।
यो प्रसारण लाइन निर्माण भएपछि सुदूरपश्चिमका पहाडी जिल्ला विशेषगरी चमेलिया जलाधार क्षेत्रमा निर्माणको क्रममा रहेका सबै जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।
आयोजना प्रमुख दाहालले भन्नुभयो, कैलालीको अत्तरियादेखि उत्तरी भेगमा निर्माण भएको यो नै पहिलो प्रसारण लाइन हो । यसले अन्य साना ठूला आयोजना विकासका लागि ठूलो मद्दत गर्नेछ ।