काभ्रेका २१ वटा मतदान केन्द्र अति संवेदनशिल,विप्लव जिल्ला स्तरका नेताहरु पक्राउ
काभ्रे | यहि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काभ्रेका २१ वटा मतदान केन्द्रलाई अति संवेदनशिल मतदान केन्द्रको रुपमा राखिएको छ । यस पटकको निर्वाचनमा जिल्लाको महाभारत र कोशिपारी क्षेत्रका २१ मतदान केन्द्रलाई अति संवेदनशिल मतदान केन्द्रको रुपामा पहिचान गरिएको छ । महाभारत र कोशिपारीका अति संवेदनशिल मतदान केन्द्रमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सिनियर अफिसरको नेतृत्वमा प्रहरी परिचालन गर्ने रणनीति बनाएको छ ।
अति संवेदनशिल क्षेत्रलाई प्रहरीले विशेष प्राथमिकता दिई सुरक्षा सर्तकता समे बढाएको छ । यसैगरि प्रहरीले काभ्रेका ६२ मतदान केन्द्रलाई संवेदनशिल मतदान केन्द्रको रुपमा राखेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन बिल्थोल्ने प्रयासमा संलग्न हुन सक्ने आशंकामा नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरका नेताहरुलाई पक्राउ समेत गरेको छ । प्रहरीले विप्लव माओवादीका तीन जिल्ला नेतालाई पक्राउ गरेको छ । प्रहरीले चौरी देउराली गाउँपालिका–८ का डिल्लीप्रसाद दुलाल, भिमसेन गौतम र बनेपा नगरपालिका–१४ का राजकुमार तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । निर्वाचन बिथोल्न सक्ने आशंकामा पक्राउ उनीहरुलाई केहि सार्वजनिक अपराध अन्र्तगतको मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।
मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि काभ्रेमा ६ सय ७३ जना नेपाल प्रहरी र एक हजार ५ सय १६ जना म्यादी प्रहरी खटाईने छ । एउटा मतदान केन्द्रमा ३ कम्तिमा ३ जना नेपाल प्रहरी र ६ जना म्यादी प्रहरी खटिने छन् ।